इलाममा ११ बजेदेखि मतगणना गर्ने तयारी
प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनको मतगणनाको तयारी गरिएको छ।
केही बेरअघि सम्पन्न सर्वदलीय बैठकले आइतबार बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको छ। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार बिहान ७ बजेदेखि नै मतगणना गर्ने तयारी गरिएको भए पनि सर्वदलीय बैठक बस्न ढिलाइ भएकाले ११ बजेबाट गणना गर्ने निर्णय भएको हो।
इलाम नगरपालिका-७ स्थित गौतमबुद्ध सभागृहमा मतगणना हुनेछ। गणनास्थलमा ११ वटा सीसी क्यामेरा जडान गरिएका छन्।
मतगणनास्थलमा भीड हुन नदिन चोकबजारमा रहेको ‘डिस्प्लेबोर्ड’ मा परिणाम सार्वजनिक गरिने भएको छ। मतपरिणाम एक-एक घण्टाको अन्तरालमा सार्वजनिक गरिने यादवले बताए।
उपनिर्वाचनमा ५९.७९ प्रतिशत अर्थात् ६९ हजार २८७ मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३५ हजार १३५ पुरुष, ३४ हजार १५० महिला र दुई जना अन्यले मतदान गरेका छन्। शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो।
२०७९ मंसीर ४ मा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा इलाम २ बाट निर्वाचित नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको हो। उपनिर्वाचनमा १८ जना उम्मेदवार छन्।