तराईमा पाँच दिनसम्म तातो हावाको जोखिम
तराईका कैयौं जिल्लामा कम्तीमा पाँच दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम देखिएको छ।
जल तथा मौसम विज्ञान विभागले शनिबार विशेष बुलेटिन निकालेर वैशाख १६ देखि २१ गतेसम्म पश्चिममा कञ्चनपुरदेखि पूर्वमा सप्तरीसम्म देशको दक्षिणी भागका जिल्लामा तातो हावा र तातो लहर (हिट वेभ) चल्न सक्ने चेतावनी दिएको छ। यद्यपि देशको दक्षिणी भूभागमा पर्ने चितवन र नवलपरासी पश्चिममा तातो लहरको जोखिम कम छ।
भित्री मधेश तथा पूर्वी नेपालको दक्षिणी भागका जिल्लामा पनि अत्यधिक गर्मी हुने भन्दै सचेतना अपनाउन विभागले अनुरोध गरेको छ। विभागले लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा केही दिनदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन गरिसकिएको जनाएको छ।
यस वर्ष पानी नपरेका कारण अत्यधिक गर्मी शुरू भइसकेको छ। विभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नदेखिने, हलुका र सुतीका लुगा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित र पटक पटक पानी तथा झोल पदार्थ पिउने सुझाव दिएको छ।
अत्यधिक गर्मीका कारण देशैभरि डढेलो पनि फैलिएको छ। नेपाल सरकारको विपद् पोर्टलका अनुसार गत एक सातामा देशका एक हजारभन्दा बढी स्थानमा डढेलो लागेको छ।