इलाम र बझाङमा मतदान सकियो, मतपेटिका संकलन गरिंदै
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि इलाम र बझाङमा मतदान सकिएको छ भने मतपेटिका ढुवानी गर्न थालिएको छ।
प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा र प्रदेश सभा सदस्यका लागि बझाङ १ ‘क’ मा शान्तिपूर्ण रूपमा मतदान सकिएको निर्वाचन आयोगले जनाएको छ। प्रारम्भिक विवरण अनुसार इलाममा ५७.८९ प्रतिशत मत खसेको पाइएको निर्वाचन आयोगले जनाएको छ।
यसअघि २०७९ मंसीर ४ मा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा इलाममा ५९.७९ प्रतिशत मतदान भएको थियो। इलाम २ मा एक लाख १५ हजार ८८९ मतदाता छन्।
अहिले मतपेटिका गणनास्थलमा ल्याउन शुरू भइसकेको छ। मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी हुने र राति १० बजेभित्र मतपेटिका ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि राजनीतिक दल तथा उम्मेदवारको सर्वपक्षीय सहमतिपछि मतगणना प्रारम्भ गरिने भएको छ। “राति १० बजेभित्र मतपेटिका संकलन गरिसक्ने योजना बनाएका छौं, मतपेटिका संकलन गरिसकेपछि सर्वपक्षीय बैठक बस्छौं,” यादवले भने, “बैठकमा सहमति भएमा तत्काल मतगणना पनि शुरू गर्नेछौं।”
मतगणना इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृहमा हुने भएको छ। उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्र सहित १९ जना चुनावी प्रतिस्पर्धामा छन्।
त्यस्तै, बझाङ १ ‘क’ मा पनि शान्तिपूर्ण रूपमा मतदान सकिएको छ। मतदान केन्द्रबाट मतपेटिका ढुवानी गर्न थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बझाङमा ५० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। बझाङमा ३० हजार ३२८ मत खसेको छ। यस क्षेत्रमा ६१ हजार ७४८ मतदाता छन्। गत निर्वाचनमा ५२.९८ प्रतिशत मतदान भएको थियो।
बझाङमा भने मतपेटिका संकलन गर्न समय लाग्ने भएकाले आइतबार मात्रै मतगणनाको तयारी गरिएको छ। बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा छन्।