रोहितको शतकमा वेस्ट इन्डिज विरुद्ध नेपालको शानदार जित
कप्तान रोहित पौडेलले शतक प्रहार गरेपछि नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको छ।
वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य नेपालले ६ विकेटको गुमाएर १९.४ ओभरमा पूरा गरेको हो। नेपाललाई अन्तिम ओभरमा नौ रन आवश्यक थियो।
अन्तिम ओभरको पहिलो बलमा गुल्सन झाले एक रन लिए भने दोस्रो बलमा प्रतिश जीसीले एक रनले लिए। त्यसपछि झाले तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गरेर नेपाललाई जित दिलाएका हुन्।
नेपालका लागि कप्तान पौडेलले शतक प्रहार गरे। उनले ५४ बलमा ११२ रन बनाए। जसमा १० चौका र ६ छक्का सामेल छन्।
त्यस्तै, नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेल र कुशल मल्लले १६-१६ तथा गुल्सन झाले नौ, विवेक यादवले सात, अनिल साह र प्रतिश जीसीले पाँच-पाँच रन बनाए।
वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्डे र ओबेड म्याकवेले दुई-दुई तथा कीमो पउलले एक विकेट लिए। अन्य बलर महँगा सावित भए।
यसअघि ब्याटिङ गरेको वेस्ट इन्डिजले पाँच विकेटको क्षतिमा २०४ रन बनाएको हो। वेस्ट इन्डिजका लागि रोस्टन चेसले अर्धशतक बनाए। उनले ४५ बलमा नौ चौका र दुई छक्का प्रहार गर्दै ७४ रन बनाए।
त्यस्तै, एलिक एथनेजले ४७, केइसी कार्टीले ३७, कदीम एलेनले १४ र एन्ड्रे फ्लेचरले १३ रन बनाए।
नेपालका लागि कमल ऐरी, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहराले एक-एक विकेट लिए। नेपालले टस जितेर वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको थियो।
नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजको ‘ए’ टोलीले टी-२० शृंखला अन्तर्गत पाँच खेल खेल्नेछ। अर्को खेल आइतबार दिउँसो १ बजे कीर्तिपुर मैदानमै हुनेछ।