बाघ घाइते अवस्थामा देखिएपछि वन प्रवेशमा रोक
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८, बैजनाथ सामुदायिक वन क्षेत्रमा एक बाघ घाइते अवस्थामा देखिएपछि वन प्रवेशमा रोक लगाइएकाे छ।
सामुदायिक वनको सलिमा ताल क्षेत्र नजिक बाघ घाइते अवस्थामा देखा परेको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए। जसले गर्दा वन क्षेत्र प्रवेशमा रोक लगाइएको महराले बताए।
“घाइते बाघले जुनसुकै वेला पनि आक्रमण गर्न सक्ने भएकाले उपभोक्तालाई वन क्षेत्रमा जान रोक लगाएका हौं,” उनले भने, “बाघ केकति कारणले घाइते भएको हो भन्नेबारे जानकारी हुन सकेको छैन।”
चुरे क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको वन बाघ लगायत जनावरको वासस्थानका रूपमा रहेको छ। शुक्रबार मात्रै सामुदायिक वन क्षेत्रसँग जोडिएको भगवती सामुदायिक वनमा घाँस काट्न गएका २८ वर्षीय रवीन्द्र धामीलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो।
घाइते धामीको टाउको र हातमा गम्भीर चोट लागेको छ। उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ।