प्रतिरोधको कलात्मक कोलाज
नाइजेरियाली-अमेरिकी लेखक तेजु कोलको उपन्यास ट्रेमर उपनिवेशका आला घाउको वर्णन हो, जसमा नेपालको वर्तमान पीडा पनि महसूस हुन्छ।
तेजु कोल शब्दको जादुबाट पाठकलाई लट्ठ्याउने लेखक त हुन् नै, घटनालाई क्यामेरामा कैद गर्न चाहने उत्सुक फोटोग्राफर पनि हुन्। उनी स्विकार्छन्- तस्वीर मार्फत म विगतलाई जीवित राख्न चाहन्छु।
ब्लाइन्ड स्पट कोलको चित्रात्मक वर्णनको गैरआख्यान हो। फोटो निबन्ध भन्दा पनि हुन्छ यसलाई। अर्को गैरआख्यान छ उनको नन एन्ड स्ट्रन्ज थिंग्स। यसमा समेटिएका लेखहरूको सूची पढ्दा मात्र पनि उनले विचरण गरेको भूगोल र उनले अभ्यास गरेका कलाका विविध विधा कति फराकिलो छ भन्ने थाहा हुन्छ।
कहिले उनी जेम्स बाल्डविनको पदचाप पछ्याउँदै स्वीजरल्यान्डको गाउँमा पुग्छन्, त कहिले रियो दि जेनेरियोका सडक नापिरहेका हुन्छन्। अनि कहिले बेलायत र जर्मनीका गाउँ गाउँ बरालिन्छन्, क्यामेरा तेर्स्याउँदै। अमेरिका र नाइजेरियाबीच ओहोरदोहोर गर्दै फोटोग्राफी मार्फत त्यहाँको जनजीवन उतार्नु त छँदै छ। त्यसैले उनको लेखनमा दृश्यात्मक वर्णन प्रभावकारी देखिन्छ।
कोल अमेरिकामा जन्मे, नाइजेरियाली बाबुआमाबाट। पछि केही समय नाइजेरिया बसे। अहिले अमेरिकामै पढाउँछन्। संगीत, सिनेमा, चित्रकलासँग पनि गहिरो संगत छ उनको। यसको प्रतिबिम्बन निरन्तर छ उनको नयाँ उपन्यास ट्रेमरमा। प्रमुख पात्र टुन्डेको माध्यमबाट भर्जिनिया उल्फ, फ्योदोर दोस्तोयव्स्की, ओर्दे लोर्दे, काजुओ इसिगुरोसँगै प्रतिरोधी सर्जक एम नौर्वेसे फिलिपसँग समेत साक्षात्कार हुन्छ पाठकको।
फिलिपको शक्तिशाली कविता ‘जोङ’ को सन्दर्भले कलात्मक प्रतिरोधको नयाँ आयाम थपिन्छ, उपन्यासको केन्द्रीय विषय समेटिन्छ। अब्बास किरोस्तामी, इङमर वर्गम्यान लगायतका अब्बल सिनेमेकरको प्रसंगले कथाको प्रवाहलाई बोझिलो नबनाई अघि बढाउँछ। पिटर ब्रुघेल, भ्यान गग जस्ता ख्यातनामा पश्चिमी चित्रकारसँगै इयादोम बोइक्ये, सलिफ केएटा, बाको ड्राग्नन आदिका अफ्रिकी चित्रकलासँग पनि परिचय गराउँछ टुन्डेले। अफ्रिकी र पश्चिमी इतिहास र मिथकका कैयौं पक्ष समेत उद्घाटित छन् उपन्यासभर।
टुन्डेका लागि अन्य कला जस्तै संगीत पनि केवल आनन्दको माध्यम होइन। बरु उपनिवेशकको रंगभेदी हिंसा विरुद्ध पहिचान र प्रतिरोधको साधन पनि हो। अमेरिकी ज्याज संगीतका अग्रज जोन कोल्ट्राने, नाइजेरियाली राजनीतिकर्मी तथा संगीतज्ञ हर्वट म्याकौले, जापानी गायिका किमिको कासाई, क्यारेबियन भूगोलमा रहेको गुयानाका गायक महावा कौयाते तथा मालीका गितारवादक जेलिमाडी तौकारा आदिको प्रसंगले पाठकलाई चर्चामा नरहेको सांगीतिक फाँट डुलाउँछ। संगीतको व्यापक उपयोगिता बुझाउँछ।
त्यति मात्र होइन, परम्परागत ज्ञानका पिता अमेरिकी आदिवासी पाइअस माउ पियालगबारे जानकारी गराउँछ। कुनै उपकरण र प्रतिरक्षाको साधन विना नै उनले पौडेरै नयाँ भूगोल छिचोलेका थिए, कीर्तिमानी बनेका थिए। उपन्यासको यो अंश उनकै सम्मानमा अर्पण गरे झैं लाग्छ- गहन परम्परागत ज्ञानले नितान्त एक्लो रहँदा पनि मान्छेलाई बाँच्न सघाउँछ।
टुन्डेको जीवनशैली खासमा लेखक कोलसँग मिल्छ। टुन्डे कलेजमा पढाउँछ, लेक्चर दिन विभिन्न देश गइरहन्छ। अस्ट्रेलिया, अमेरिकामा किनारामा पारिएका आदिवासीको मर्म केलाउँछ। यसका अलावा टुन्डे यात्रारत छ वेनिन, माली लगायत अफ्रिकी देशमा पनि। फ्रान्सेली उपनिवेश रहेका यी देशहरूको गरीबीको कारण खोतल्छ, उपनिवेशकै खुनी हात देख्छ। नाइजेरियालीहरू बेलायती उपनिवेशबाट मुक्त भएर पनि अहिले उपनिवेशकै छायामा रहेको ठान्छ ऊ।
त्यसको तुलनामा मालीवासीमा औपनिवेशिक घाउ अलि ताजा पाउँछ। फ्रान्सेली निर्भरता त छ त्यहाँ, तर त्यहाँ जनता मालीको गरीबीकै जगमा फ्रान्सको वैभव चुलिएको ठान्छन्। उनीहरू उपनिवेशकलाई घृणा गर्छन् धेरै। पश्चिम अफ्रिकी देश वेनिनमाथि उपनिवेश राष्ट्र बेलायतले गरेको बर्बर आक्रमण त अझ भयानक छ। जसलाई उपन्यासमा यसरी प्रस्तुत गरिएको छ- वेनिनमाथि उनीहरूको नारकीय रूप देखियो, कैयौं तत्कालै मारिए। यस नरसंहारमा मारिएकाहरूको कुनै आधिकारिक तथ्यांक नै भेटिंदैन। घना जंगलभित्र हजारौं क्षतविक्षत शरीरका अंगहरू छरिएको प्रत्यक्षदर्शीको ठहर छ।
कथावाचक ‘ऊ’ बाट ‘म’ मा बदलिंदा पाठकमा एकछिन उत्सुकता थपिन्छ। कसरी भयो यो हठात् परिवर्तन? तर टुन्डेमा केन्द्रित कथावाचन म पात्रतिर सोझिंदा हामी नाइजेरियाको विकराल वर्तमानसँग ठोक्किन पुग्छौं। नाइजेरियाली जीवनका विविध पाटाहरू विभिन्न पात्र मार्फत व्यक्त हुन्छन्।
यस्तै, एक कथावाचक ‘म’ भन्छ- मलाई लाग्दैन, हामी जीवित छौं भन्ने सरकारलाई जानकारी छ। हाम्रै खुनपसिनाले ढाडिएका शासकहरू बेखबर छन् हाम्रा दुःखदर्दबारे।
सांस्कृतिक मौलिकता पस्किँदै एक ‘म’ पात्रको उद्गार सुनिन्छ- मेरो अन्त्येष्टि महान् उत्सव हुनेछ।
अर्की ‘म’ पात्र सुस्केरा फाल्दै वेदना सुनाउँछिन्- समाजले अपेक्षा गरेको महिला जस्तै गरी हिंड्न सिक्नुपर्छ भन्ने बुझ्दै छु म। प्रकृतिसँग कसरी एकाकार हुने हामीलाई थाहा छ। हाम्रा मिथकमा जनावरका जीवनबारे थुप्रै लोकोक्ति पाइन्छ।
यसबाट अफ्रिकी र हाम्रो आदिवासी जीवन-संस्कृतिको तादात्म्य बोध हुन्छ। धर्ममाथिको कटाक्ष पाइन्छ अर्को ‘म’ को आत्मस्वीकृतिमा- नाइजेरियालीहरू सैद्धान्तिक रूपमा क्रिश्चियन छन् तर व्यवहारतः शैतान।
नाइजेरियामा भविष्य नदेख्ने अर्को ‘म’ पात्र अठोट गर्छ- मलाई थाहा छ गतिलो सडक, नियमित खानेपानी र बिजुलीको आपूर्ति नभएको यो नरकमा बस्नका लागि म जन्मेको होइन।
उही पात्र घोषणा गर्छ- अबको ३० वर्षमा नाइजेरिया खाली हुन्छ।
यी सबै अनुगुञ्जनमा भेटिन्छ हाम्रै भूगोल पनि। लेखक कोलको वर्णनमा हाम्रै पीडा छचल्किन्छ। हाम्रै सांस्कृतिक, सामाजिक अनि राजनीतिक यथार्थले कोक्याउँछ।
इटालीका घुमन्ते लेखक इटालो काल्भिनो भन्थे- शहर चेस खेल हुँदो हो त खेल्ने नियम सिकेको दिन आफ्नै साम्राज्य स्थापित गर्ने थिएँ म, भलै शहरको गर्तमा लुकेका रहस्यहरू कहिल्यै थाहा पाउन नसकूँ।
टुन्डे मार्फत शहरका प्रसंग कोट्याउँदै लेखक कोल उनै काल्भिनोलाई सम्झन्छन् घरीघरी। अनि शहरबारे निरन्तर घोत्लिन्छन्। उपन्यासको उल्लेख्य अंश ओगटेको छ शहर मन्थनले। यो वर्णनमा उनी स्थान र समयको सीमामा नरहेर फराकिलो फलकमा उभिएको प्रतीत हुन्छ।
शहर भन्नु भीड मात्रै त हो। शहरमा आफ्नो अस्तित्व खोज्नु भनेकै लाखौंलाखको भीडमा मिसिएर अदृश्य बन्नु हो।
सीप र क्षमताले नखारिएकाहरूका हकमा शहर जंगल जस्तै दिशाहीन र ऐनैऐनाको महल झैं शत्रुवत् लाग्छ।
कोलको दार्शनिक भाव छताछुल्ल छ यहाँ। लाग्छ, शहरबारे ध्यानस्थ चिन्तनमा लीन छन् उनी। शहरी यथार्थ ओकल्दै कथानक यसरी बग्छ- शहरको भीडबाट कहिलेकाहीं नागरिक सलह झैं सार्वजनिक स्थलमा जम्मा हुन्छन्। उनीहरू विश्वस्त छन्, जब उनीहरू एकसाथ सशरीर उपस्थित हुन्छन्, हरेक परिवर्तन सम्भव हुन्छ।
रेस्टिट्यूशन अर्थात् हराएका सामग्री फर्काउने प्रक्रियाबारे सार्वजनिक बहस भइरहेको समय हो आज। एशिया, अफ्रिका लगायत भूगोलबाट विभिन्न समयमा यूरोप-अमेरिका पुर्याइएका कलात्मक सामग्रीले त्यहाँका कला संग्रहालय भरिभराउ छन्। अमेरिकाका म्यूजियम र आर्ट ग्यालरी घुम्दा त्यहाँ टांगिएका कलात्मक सामग्रीको स्रोत अफ्रिकी देश रहेको थाहा पाउँछ टुन्डे।
यही परिक्रमामा नाइजेरियाली चित्रकार ओटोबोङ न्काङाको चित्रकलाले भरिएको ग्यालरीमा पुग्छ। न्काङाको चित्रकारिताले आर्ट ग्यालरी पछाडिका नग्न सत्य उजागर हुन्छ। न्काङाको मान्यता छ- चित्रकलाले केवल सजावटको सुन्दर संसार मात्र प्रस्तुत गर्दैन। व्यापार, शैली, प्रदर्शन, बहस पैरवी यावत् गतिविधि एकाअर्कासँग जोडिएका हुन्छन्।
संग्रहालयलाई पर्यटनको केन्द्र बनाएर मनग्य आम्दानी समेत गरिरहेको छ पश्चिमा जगत्। यसबारे पश्चिमाहरूको तर्क छ- फिर्ता गरेर पो के गर्नु, ती सामान सुरक्षित राख्ने ठाउँ छैन ती देशहरूमा। द गार्डियन, द न्यूयोर्क टाइम्स जस्ता अखबार समेत प्रश्न तेर्स्याउँछन्- उपनिवेशकालका सम्पदाहरू फिर्ता गर्नु उचित हो?
समाधान तत्काल नदेखिए पनि महत्त्वपूर्ण सवाल भने उठाएका छन् कोलले। टुन्डे मार्फत कोल भन्छन्- ढिलै भए पनि मलाई महसूस हुँदै छ, कला संग्रहालयहरू गहिरो चोट र नैतिक आघातका थलो रहेछन्।
हाम्रो सन्दर्भमा पनि लैनसिंह वाङ्देलको किताब स्टोलन इमेजेज अफ नेपाल यसको साक्षी बनेको छ। चोरिएका कैयौं सम्पदा अझै हामीले फिर्ता गर्न सकेका छैनौं। यसैले पनि उपन्यास मार्फत कोलले उठाएको यो सवालले हामीलाई पनि खील बनी घोचिरहन्छ।
उपन्यासको केही खण्डमा पुनरावृत्तिको आकर्षक प्रयोग छ, सुन्दर कविता जस्तै अत्यन्त लयात्मक ढंगमा। नाइजेरिया प्रवेश गरेको उपन्यासको मध्य खण्डमा भने कथावाचन समाजशास्त्रीय ‘केश स्टडी’ जस्तो लाग्छ, अलि पट्यारलाग्दो पनि। संवादको बाक्लै खडेरी छ केही खण्डमा। पात्र टुन्डै छायामा पर्छ, लेखक कोल छाउँछन् कथानकमा।
यो उपन्यास त्यति सूत्रबद्ध छैन। कैयौं औपन्यासिक प्रयोगको अहिलेको समयमा यो प्रयोगलाई सहजै स्विकार्न सकिन्छ। तर ट्रेमरमा अलिकति हास्यरस थपिएको हुन्थ्यो भने पठन अझ सरस हुन्थ्यो। शुरूआती खण्डमै सतहमा आउँछ टुन्डे र जापानी मूलकी उसकी प्रेमिका साडाकोबीचको तनावग्रस्त सम्बन्ध। तर साडाकोबाट टाढिने बित्तिकै उसको सम्बन्ध सहज बन्छ। यो सन्दर्भ चित्तबुझ्दो लाग्दैन।
शान्त र धीर गतिमा फोटोग्राफी र अन्य काव्यिक साधना गर्ने लेखक कोल अनुरूप छैन, यो हठात् सुल्झेको परिघटना। उपन्यासभर ‘ट्रेमर’ शब्द कतै उल्लेख छैन, तर उपनिवेशका अभिघातका खातले शीर्षकको सान्दर्भिकता राम्ररी प्रकट हुन्छ। सन् २०१९ को मध्यबाट उठान भएको यो उपन्यासको कथानकले एक दशकयता भूकम्प, नाकाबन्दी, कोभिड-१९ को संयुक्त मारबाट सिर्जित आर्थिक मन्दीका कारण चरम निराशा भोगिरहेका हामी नेपालीलाई पनि केही काव्यिक थेरापी प्रदान गर्नेछ, अवश्य।