इलाममा कुन उम्मेदवारले कहाँबाट गरे मतदान?
प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा इलाम २ मा मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएका चार उम्मेदवारले मतदान गरेका छन्।
नेकपा (एमाले)का सुहाङ नेम्वाङ र नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले इलाम नगरपालिका-७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रबाट मतदान गरेका छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले माङसेबुङ गाउँपालिका-२ स्थित जनता कल्याण आधारभूत विद्यालय र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुम गाउँपालिका-३ स्थित सिंहदेवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्।
मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार १४९ मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साजनक रूपमा मतदान भइरहेको छ। उनका अनुसार शनिबार बिहान साढे १० बजेसम्म २० प्रतिशत मतदान भएको छ।
यस निर्वाचनमा ७४५ कर्मचारी, एक हजार ५२३ नेपाल प्रहरी, ७१० सशस्त्र प्रहरी, ४५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना कर्मचारी परिचालित छन्।
शनिबार बिहान ७ बजेदेखि नै मतदान भइरहेको प्रमुख निर्वाचन अधिकृत घिमिरेले बताए। अहिलेसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनको भनाइ छ।
इलाममा विभिन्न पार्टी र स्वतन्त्र गरी १९ जना उम्मेदवार छन्। उनीहरूमध्ये चार जनाबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बरबहादुर खड्का, रास्वपाका मिलन लिम्बू, कोशी प्रदेश पुनः नामकरणका लागि चलेको आन्दोलनको नेतृत्व गरेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम (लिम्बू), राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, एकीकृत समाजवादीका जीतबहादुर राई, नेपाल मजदूर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल न्याशनल अर्गनाइजेशनका मणिबहादुर लिम्बू, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार, न्याशनल रिपब्लिक नेपालका धनराज राना मगर र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह उम्मेदवार छन्।
यस्तै, अर्जुनबहादुर शाही, डाकप्रसाद गौतम, दीपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यस क्षेत्रमा पर्ने इलाम नगरपालिकाका ११ वटा वडामा ३४ हजार ४५ मतदाता छन्।