इलाम र बझाङमा मतदान शुरू
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि इलाम र बझाङमा मतदान शुरू भएको छ।
दुवै निर्वाचन क्षेत्रमा शनिबार बिहान ७ बजेदेखि मतदान शुरू भएको निर्वाचन आयोगले जनाएको छ। बेलुकी ५ बजेसम्म मतदान हुनेछ।
प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा र प्रदेश सभा सदस्यका लागि बझाङ १ ‘क’ मा मतदान शुरू भएको हो। दुवै निर्वाचन क्षेत्रमा बिहानैदेखि मतदाता मतदान केन्द्र पुगेका छन्।
उपनिर्वाचनमा बिहानैदेखि मतदाताको उत्साहपूर्ण सहभागिता रहेको आयोगले जनाएको छ। मतदानमा निर्धक्क भएर भाग लिन आयोगले आह्वान पनि गरेको छ।
इलाम २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा हृदयाघातबाट निधन भएको थियो। त्यस्तै, बझाङ १ ‘क’ बाट प्रदेश सभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ मा गाडी दुर्घटनामा निधन भएको थियो। रिक्त दुवै स्थानमा आज मतदान शुरू भएको हो।
आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारीचालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। यसका लागि आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा मतदाताको नाम हुनुपर्नेछ।
इलाममा १९ जना चुनावी मैदानमा उत्रिएका छन्। एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बरबहादुर खड्का, रास्वपाका मिलन लिम्बू, कोशी प्रदेश पुनः नामकरणका लागि चलेको आन्दोलनको नेतृत्व गरेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम (लिम्बू), राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, एकीकृत समाजवादीका जीतबहादुर राई, नेपाल मजदूर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल न्याशनल अर्गनाइजेशनका मणिबहादुर लिम्बू, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार, न्याशनल रिपब्लिक नेपालका धनराज राना गमर र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह उम्मेदवार छन्।
यस्तै, अर्जुनबहादुर शाही, डाकप्रसाद गौतम, दीपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यस क्षेत्रमा पर्ने इलाम नगरपालिकाका ११ वटा वडामा ३४ हजार ४५ मतदाता छन्।
बझाङमा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेपाली जनता दलका अशोक सुनार, न्याशनल रिपब्लिक नेपालका कमल घर्ती मगर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का किशोरकुमार खड्का, नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का खगेन्द्रबहादुर शाही र राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापाले उम्मेदवारी दिएका छन्।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढा, नेकपा (एमाले)का दमनबहादुर भण्डारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंह, जनता समाजवादी पार्टी (जसपा)का रामबहादुर जाग्री र जनमत पार्टीका सुशीलादेवी विष्ट उम्मेदवार छन्।
बझाङ १ ‘क’ मा सात वटा स्थानीय तहका ५० वडा छन्। जहाँ ६१ हजार मतदाता छन्।