सत्यवतीको उपनामबाट कोशी प्रदेशको नाम!
धर्मनिरपेक्षता हाम्रो संविधानको आधारशिला हो। हामीकहाँ पनि भएका कमीकमजोरी सच्याउँदै प्रदेशको नामकरणमा साझा बिन्दु खोज्नु बुद्धिमानी हुनेछ।
जुनसुकै धर्म (पन्थ)का मानिसमा धार्मिक मान्यता अन्धाधुन्ध पछ्याउने वा समर्थन गर्नेहरू बग्रेल्ती हुन्छन्। अझ कतिपय अवस्थामा त त्यस्ता मान्यता स्थापित गर्न राज्य नै लाग्छ। नेपालमा पनि संविधानतः मुलुक धर्मनिरपेक्ष भए पनि एकल धार्मिक दर्शनमा आधारित राज्य व्यवस्थाको अवयव रहिरहँदा हिन्दू धर्म र हिन्दू मान्यतालाई बढावा दिएर अन्य धार्मिक-सांस्कृतिक पहिचानलाई उपेक्षा गरिंदै आएको छ। उदाहरणमा, कोशी प्रदेश नामकरण प्रस्टै छ। त्यहाँको प्रदेश सभाले पहिचानवादी दल, जातीय-सामाजिक संघसंस्था र बुद्धिजीवीका विरोधका बीच कोशी नाम पारित गर्यो।
प्रदेशको यो नामकरण संविधानको धारा ५१ (ग)को (५)को मर्म विपरीत रहेको पहिचान पक्षधरहरूको जिकिर छ। यो उपधारामा ‘समाजमा विद्यमान धर्म, प्रथा, परम्परा, रीति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त गर्ने’ उल्लेख छ। आदिवासी समुदायको इतिहास बेवास्ता गरी त्यस भूगोलमा प्राचीन कालदेखि नै हिन्दूहरू थिए भन्ने वर्चस्ववादी भाष्य स्थापित गर्न प्रदेशको नाम ‘कोशी’ पारित भएको देखिन्छ।
हिन्दूहरूले केही दशकमै पूर्वी नेपालमा ‘कोशी’ शब्द स्थापित गरेका भने होइनन्। केही शताब्दीको मिहिनेतको प्रतिफल हो, कोशी अञ्चल र कोशी प्रदेश नामकरण। त्यस क्षेत्रमा दुई शताब्दीअघि नै कोशी शब्द प्रचलनमा आइसकेको थियो।
ब्रायन हज्सन (सन् १८००-१८९४) काठमाडौंबाट दार्जीलिङ पुग्दा दूधकोशीदेखि अरुण नदीसम्मको भूमि किरात र अरुणदेखि तम्मरसम्मको भूभागलाई तम्मर भन्छन् भनेर थाहा पाएका थिए। उनले त्यो लम्बे पैदल यात्रा १८४५ मा गरेका थिए। उसवेला त्यहाँका नदीलाई सुनकोशी, तामाकोशी, तम्मरकोशी, सप्तकोशी वा सप्तकौशिकी भनिन्थ्यो भन्ने जानकारी हज्सनको लेख रूट फ्रम काठमान्डु टु दार्जीलिङ (सन् १८४८) मा छ। उनले अरुण नदी पश्चिम किराती भूगोल र अरुण पूर्वको भूभागलाई लिम्बुवान भनिन्थ्यो भन्ने लेखेका छन्।
अहिले प्रदेश सरकारमा सहभागी दलका नेताहरूले उहिले नदीलाई ‘खुशी’ भनिने र त्यसैबाट ‘कोशी’ शब्द बनेको भन्दै आएका छन्। यस्तै, कृष्णप्रकाश श्रेष्ठको स्थाननामकोश पुस्तकमा ‘किरातबोलीमा नदीलाई कोसी भनिन्छ’ लेखिएको छ। तर, कोशी पर्वते शब्द हो। किरात अन्तर्गतका जातिहरूका भाषामा नदीलाई कोशी भनिंदैन। काठमाडौं उपत्यकामा पाइएका लिच्छविकालीन शिलालेखहरूमा नदी जनाउने केही शब्द छन्। ती संस्कृतका साथै केही किरात शब्द सम्बन्धी छन्। तिनमा न ‘कोसी’ छ न त ‘कोशी’।
कोशी शब्दको उद्भव पौराणिक हिन्दू कथाहरूसँग जोडिन्छ। वाल्मीकि रामायण, नेपाल माहात्म्यम् र हिमवत्खण्ड पढ्दा कोशी शब्द कसरी नेपालमा प्रचलनमा आयो र कहिले पूर्वी नेपालमा पुर्याइयो भन्ने मेसो पाइन्छ।
वाल्मीकि रामायण
प्राचीन भारतको इतिहास सम्बन्धी अध्येताहरू पौराणिक कथा रामायणको मूल संस्करण इसापूर्वको तेस्रो शताब्दीतिर लेखिएको मान्दछन्। त्यसअघि हाल प्रचलनमा रहेका लिपिहरू दक्षिणएशियामा आविष्कार भएकै थिएनन्। भारतीय इतिहासकार रोमिला थापरले २२-२३ सय वर्षअघि कोशल राज्य विन्ध्या क्षेत्रतिर विस्तार हुने क्रममा व्यापक अवरोध भएको अर्ली इन्डिया पुस्तकमा लेखेकी छन्।
त्यस बखत गंगाको मैदानमा बौद्ध दर्शनको प्रभाव तीव्र गतिले फैलिरहेको थियो। त्यसलाई रोकेर हिन्दू प्रभाव विस्तार गर्न राम र रावणको दुई बेग्लाबेग्लै कथा जोडेर रामायण लेखाइयो। त्यसमा रामलाई भगवान् र रावणलाई राक्षसका रूपमा प्रस्तुत गरियो। जबकि दक्षिण भारतका कतिपय प्रदेशमा रावणलाई पुज्ने प्रचलन अद्यापि छ।
पौराणिक कथा अनुसार वाल्मीकिले ध्यानको बलबाट अन्तरदृष्टि प्राप्त गरी भगवान् रामको जीवनदर्शनमा आधारित रामायण रचना गरे। त्यस आधारमा रामायण वाल्मीकिको परिकल्पना हो भन्नु उपयुक्त हुन्छ।
शुरूको रामायणमा बालकाण्ड, अयोध्याकाण्ड, किष्किन्धाकाण्ड, अरण्यकाण्ड, सुन्दरकाण्ड र युद्धकाण्ड गरी ६ खण्ड थिए। पछि उत्तरकाण्ड थपियो। १२औं शताब्दीमा तमिल कवि कम्बनले रामायणको त्यही पौराणिक कथा तमिल भाषामा लेखे। उनले उत्तर-पश्चिम भारतमा लेखिएको कथालाई दक्षिण भारतका लागि सुहाउँदो बनाउन विविध कुरा थपे।
१५औं शताब्दीमा कृतिवास ओझाले बंगालको सन्दर्भ जोडेर बंगाली भाषामा वाल्मीकि रामायण लेखे। तुलसीदासले १६औं शताब्दीमा अवधी भाषामा रामायण लेखे। यी सबै रामायणको मूल कथा उही हो, घटना विवरण भने फरक छन्।
रामायणको एक पात्र महर्षि विश्वामित्र हुन्। उनी महर्षि हुनुअघि कुशवंशका क्षत्रिय राजा थिए। कुशवंशका पुरुषलाई कौशिक र स्त्रीलाई कौशिकी उपनाम दिइन्थ्यो (श्लोक ७, सर्गः ३४, बालकाण्ड)। त्यसै अनुसार विश्वामित्रकी जेठी दिदी सत्यवतीलाई कौशिकी भनिन्थ्यो (बालकाण्ड, पृष्ठः १३३)। सत्यवती अर्थात् कौशिकी एकताका स्वर्गलोक पुगेको बालकाण्डको श्लोक ८, सर्गः ३४ मा उल्लेख छ।
मनुष्य केही गरी स्वर्गलोक पुगिहाले धर्तीमा फर्कन मिल्दैनथ्यो। सत्यवती पनि सशरीर फर्कन सकिनन्। उनी स्वर्गबाट परम उदार महानदी कौशिकीका रूपमा धर्तीमा अवतरण भएको उल्लेख छ। जगत्को हितमा कौशिकी नदी हिमालयको आश्रय लिएर बगेको बालकाण्डको श्लोक ९ मा लेखिएको छ।
कौशिकी स्वर्गबाट महानदीका रूपमा धर्तीमा ओर्लेको पौराणिक कथन पाइए पनि नदीहरूको उत्पत्ति सम्बन्धि वैज्ञानिक आधार फरक हुने नै भयो। विक्रम श्रेष्ठ लिखित पुस्तक हिमालयको उत्पत्तिमा हाम्रा नदीहरू कसरी, कहिले उत्पत्ति भए भन्ने जानकारी छ। हिमालयहरू बन्ने क्रममा नदीहरू बनेका हुन्। हिमालय सात चरणमा बनेका रहेछन्। चौथो चरण या कालखण्डमा हिमालय अग्लिन थालेर आजको स्वरूप लियो (पृष्ठः १७८-१७९)।
यसै अवधिमा हिमाली भेगका नदीहरू बने। त्यो भनेको २.५ करोडदेखि १.५ करोड वर्षअघिको कुरा हो। त्यस वेला मानवको पूर्वजको पनि उद्विकास भएको थिएन। अहिलेको मानव त करीब तीन लाख वर्षअघि अफ्रिकामा उद्विकास भएको मानिन्छ। करीब दुई लाख वर्षअघि मानिसको झुन्ड अफ्रिकाबाट बाहिरिन थालेको अध्ययनहरूको निष्कर्ष छ।
रामायणमा वर्णित कौशिकी भारतको उत्तराखण्ड प्रदेशको अल्मोडा जिल्लामा बगेको छ। उक्त नदी नेपालको महाकालीबाट औसत हवाई दूरी ७५ किलोमिटर पश्चिममा छ।
कौशिकी संस्कृत शब्द हो भनेर माथि चर्चा गरियो। संस्कृतका कतिपय शब्द रूप परिवर्तन या अपभ्रंश भएर अन्य भाषामा आएका छन्। त्यसैक्रममा उत्तराखण्डको कौशिकीलाई अहिले कोशी नदी भनिन्छ। कौशिकीबाट कौशिका हुँदै कोशी चल्तीमा आएको विवरण पाइन्छ। हिजोआज प्रकाशित सामग्रीमा कोशी नभई कोसी लेखिएका छन्। नीलमणि ढुङ्गानाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश (साझा प्रकाशन, २०७८)मा कौशिकी शब्दबाट कोसी शब्द व्युत्पन्न भएको उल्लेख (पृष्ठः ४०३) छ।
उत्तराखण्डकै बागेश्वर जिल्ला उद्गमस्थल रहेको कोशी नदी अल्मोडाबाट दक्षिण-पश्चिम बग्दै चमोली जिल्लाको दुधाटोली पहाडबाट आएको रामगंगासँग उत्तर प्रदेशको मोरादाबादमा मिसिएको छ। गूगल अर्थको नक्शामा अल्मोडा शहर पश्चिमतिर उत्तर-दक्षिण बगेको नदीको नाम ‘कोसी’ लेखिएको छ। केही दशकयता प्रकाशित अनुसन्धानात्मक लेखहरूमा उत्तराखण्डको कोशी नदीको चर्चा गरिएका छन्।
पहिलो पटक सन् १९०५ मा इडिनबर्घ, लन्डनबाट प्रकाशित इ.एस. ओकको किताब होली हिमालयमा पनि उत्तर-पश्चिम भारतमा बग्ने कोशी नदीको प्रशस्तै चर्चा छ। यी तथ्यहरूबाट स्पष्ट हुन्छ- खास कोशी नदी उत्तर-पश्चिम भारतमा छ।
नेपालमाहात्म्यम्
हिन्दू मुनिहरूले नेपालमा लेखेको पहिलो धार्मिक ग्रन्थ नेपालमाहात्म्यम् हो। पहिले यो स्कन्दपुराणमा समावेश थियो एक अध्यायका रूपमा। नेपालमाहात्म्यम्को एक प्रति पाण्डुलिपि फ्रान्सको एक पुस्तकालयमा संगृहीत छ।
केदारनाथ शर्माले गरेको संस्कृत नेपालमाहात्म्यम्को हिन्दी अनुवाद सन् १९०१ मा बनारसबाट प्रकाशन भएको थियो। हिन्दीबाट पहिलो नेपाली अनुवाद मुक्तिनाथ खनालले गरे, जुन २०२८ सालमा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले प्रकाशन गर्यो। नेपालमाहात्म्यम्को नेपाली अनुवाद भने चिरञ्जीवी शर्मा पोखरेलले पनि गरेका छन्, २०७६ सालमा (प्रकाशक- जनसेवा मावि, कीर्तिपुर)। त्यस्तै, प्रा. जयराज आचार्यले सन् १९९२ मा नेपालमाहात्म्यम्को अंग्रेजी अनुवाद प्रकाशित गरेका छन्।
भाषा जुनसुकै भए पनि नेपाली भूभागसँग पहिलो पटक ‘कौशिकी’ शब्द जोडिएको नेपालमाहात्म्यम्मै हो।
हामीकहाँ एकै नामको मन्दिर धेरै ठाउँमा बनाइएका छन्। ती मन्दिरका कथा अन्यत्रका त्यस्तै मन्दिरका कथासँग मिल्दाजुल्दा छन्। नेपाली भूगोलमा हिन्दू मुनिहरूले उत्तर-पश्चिम भारतबाट ल्याएको कौशिकी नदीको कथा भने अलि भिन्न रूपमा प्रस्तुत गरिएको छ। नेपालमाहात्म्यम्को पाँचौं अध्यायको श्लोक १० र ११ मा कौशिकीबारे लेखिएको छः
तःत पर्वतमूलङ्घ्य कौशिक्या : संगमे शुभे।
रोषमत्या: सङ्गे च विश्वमित्रो मुनीश्वर :।। १०।।
स्वानाम्ना स्थापयामास भूत्तिमुत्तिफलप्रदम्।
कौशिकी सरितां श्रेष्ठा महापातकनाशिनी।। ११।।
बनारसको चौखम्बा कृष्णदास अकादमीले सन् २०१४ मा प्रकाशन गरेको नेपालमाहात्म्यम्को पृष्ठ ३२ मा माथिका श्लोकको भावानुवाद यस्तो छ- काठमाडौंको पूर्वतर्फको पहाडमा सांसारिक भोग र मोक्ष दुवै प्राप्त हुने रोषी र कौशिकी नदीको संगमस्थलमा विश्वमित्रले आफ्नो लिंग स्थापना गरे। नदीहरूमा सर्वश्रेष्ठ कौशिकी नदी हो। उक्त नदीमा स्नान गर्दा पाप नाश हुन्छ।
रोषी नदी मिसिने सुनकोशीमा हो। यी दुईको संगम रामेछाप जिल्ला अन्तर्गत खाँडादेवी गाउँपालिका-१ को राकाथुममा छ (हे.तस्वीर)। नेपालमाहात्म्यम् लेख्ने ऋषिमुनिहरूले सुनकोशीलाई नै कौशिकी भनेको यसै प्रस्टिन्छ। सुनकोशी पुगेर उनीहरूले कौशिकी नदीको परिकल्पना गरेछन्। यसरी उनीहरूले प्राचीन कालमै हिन्दू ऋषिमुनिहरू त्यहाँ थिए भन्ने भाष्य निर्माण गरे। अचेल सिन्धुलीको खुर्कोट नजिकैको एक ओढारलाई विश्वामित्र गुफा भनिन्छ।
हिमवत्खण्ड
रामायण, महाभारत र पुराणहरू वेदपछि लेखिएको मानिन्छ। केही पुराण महाभारतभन्दा पहिले लेखिएको मानिन्छ। शिव, विष्णु र ब्रह्मासँग सम्बन्धि कथाहरू हालेर लेखिएका १८ वटा मूल पुराण छन्। तीबाहेक उप-पुराणहरू धेरै छन्। नेपालमा योगी नरहरिनाथको अगुवाइमा नेपालमाहात्म्यम्को बढाइचढाइ गर्दै अन्यत्रका कथाहरू पनि जोडेर हिमवत्खण्ड उपपुराण लेखियो।
एक दशक लगाएर संस्कृतमा लेखिएको हिमवत्खण्ड २०१३ सालमा प्रकाशित भएको थियो। यसको नेपाली संस्करण २०७५ सालमा आयो। नेपाली हिमवत्खण्डका अनुवादक/सम्पादक संस्कृत विद्याशिरोमणि वेणीमाधव ढकाल हुन भने प्रकाशक विद्यार्थी पुस्तक भण्डार।
योगी नरहरिनाथले २०१३ सालभन्दा निकै अघिबाट नेपालका धेरैजसो भूभाग पुगेर नदी, पहाड, गुफा आदिका हिन्दू नाम राख्न थालेका थिए। यसरी हिन्दूकरण गरिएका नामहरूको विवरण राजाराम सुवेदीद्वारा लिखित नेपालको तथ्य इतिहास (२०७८)मा छन्। नरहरिनाथले २०१२ सालमा ताप्लेजुङको मेदिबुङमा धर्म सम्बन्धी प्रवचन दिएको सुब्बा हर्कजंग मादेन स्मृतिग्रन्थ (२०६२, पृष्ठ ४६)मा उल्लेख छ।
योगी नरहरिनाथ त्यसै वेला ताप्लेजुङको मुक्कुमलुङ पनि पुगेका थिए। खप्तड बाबा राणाकालमै मुक्कुमलुङ पुगेका थिए। पछिल्लो कालखण्डमा ‘मुक्कुमलुङ’ नाम छायामा छ। त्यसको साटो देवी भगवती पाथीभरा माता स्थापित छिन्। हिन्दू धार्मिक पर्यटकीय स्थलमा रूपान्तर भएको छ मुक्कुमलुङ।
हिमवत्खण्डका अनेकन् प्रसंगमा पूर्वी नेपालको भूमि जोडेर देवी भगवतीको चर्चा गरिएको छ। अहिले पाथीभराको महिमामा भनिने कथाहरू हिमवत्खण्डसँग मिल्दाजुल्दा छन्। करीब ७० वर्षअघिको परिवेश र अहिलेको अवस्थिति फरक भएकाले हूबहू मिल्ने कथा भने छैनन्।
नरहरिनाथको हाम्रो देश-दर्शन (२०७७) पुस्तकमा सप्तकोशीका सातवटै नदीको नाममा ‘कौशिकी’ जोडिएको छ- स्वर्णकौशिकी, ताम्रकौशिकी, दुग्धकौशिकी, अरुणकौशिकी, वरुणकौशिकी, तमोरकौशिकी। उनले काबेली नदीको नाम पछाडि पनि कौशिकी जोडेका छन्। उनले कोशी अञ्चलमा विश्वामित्र ऋषिको सम्मानमा स्मारक बनाउन सकेकोमा गर्व गरेका छन्। हाम्रो देशदर्शनमा त्यो भूमिलाई कौशिकी प्रदेश नै भनेर लेखिएको छ।
हिमवत्खण्डमा सूर्यको कठोर तपस्या गर्दा पार्वतीको पैतालाबाट चुहेको पसिनाबाट कौशिकी नदी बनेको कथा हालिएको छ। उल्लिखित नदीहरूमा विश्वमित्रले घुमफिर गरेको परिकल्पना पनि छ।
वेद, रामायण, महाभारत लगायत अनेकन् पुराण उत्तर-पश्चिम भारतमा लेखिएका हुन्। विश्वमित्र उत्तर-पश्चिम भारतमा थिए भन्ने रामायणमा प्रस्टै छ। कौशिकी अर्थात् कोशी नदी त्यहीं छ। व्याकरणका अनुसार कोशी शब्द कौशिकीबाट बनेको हो। वैदिक सभ्यता र उत्तर-पश्चिम भारतको प्राचीन इतिहासबारे अंग्रेजी भाषामा दर्जनौं पुस्तक छन्। तीमध्ये कुनैमा पनि विश्वामित्रको चर्चा नेपालको भूमिसँग जोडिएको पाइन्न।
झूटलाई सत्य बनाउने दुस्प्रयास
हिन्दू मुनिहरूले नेपालमाहात्म्यम् मार्फत यता ल्याएको उत्तराखण्डको ‘कौशिकी’ लाई योगी नरहरिनाथको अगुवाइमा नेपाल राज्यका कागजातमा स्थापित गरियो। ‘कौशिकी’ वा ‘कोशी’ शब्दको आडबाट हिन्दू ऋषिमुनिहरू प्राचीन कालमा पूर्वी नेपालमा थिए भनेर जोडबल गर्नु सरासर गलत छ। त्यो भूगोलको पहिलेको नामलाई उपेक्षा गर्दै प्राचीन हिन्दू भूगोलका रूपमा स्थापित गर्न राज्य नै लाग्नु त झनै बेइमानी हो।
अझ अहिले त वेद पनि यतै गण्डकी र कोशीतिर लेखिएको हो भन्न थालिएको छ। यो अझ ठूलो बेइमानी हो। वेदले समेटेको भूगोल र नदीबारे शताब्दीअघि नै जानकारी प्रकाशन भएका थिए। वेदका केही मन्त्रहरू वैदिक आर्यहरू दक्षिणएशिया आइपुग्नुभन्दा अगाडि नै अर्थात् मध्यएशियाबाट यता लाग्दा करीब चार हजार वर्ष पहिले रचिएको मानिन्छ। वैदिक आर्यहरू ३५ सय वर्ष पहिले दक्षिणएशियामा आइपुगेका थिए। कश्मीरमा फेला परेको ऋग्वेदको सबभन्दा पुरानो प्रति खारोस्ती लिपिमा लेखिएको थियो।
धर्मकर्मको विषय धर्मनिरपेक्षता र धार्मिक सहिष्णुताको दायरा बाहिर आएर राज्यको निर्णयसँग जोडिंदा कोशीको जस्तो समस्या आइलाग्छ। धर्मनिरपेक्ष मुलुकमा निश्चित धार्मिक नामलाई बढावा दिनु संविधान विपरीत हो। यो समाजकै लागि पनि समस्या हो। अर्को, प्रदेशको नाम जे राखे वा रहे पनि विश्वामित्र ऋषि कुनै वेला पूर्वी नेपालमा थिए भनेर झूटलाई सत्य बनाउन खोज्नु गलत हो।
नेपालमा प्रदेश सरकार कार्यान्वयनमा आएको पाँच वर्षपछि २०७९ फागुन १७ मा प्रदेश १ को सभाले ‘कोशी’ नामकरण गर्यो। प्रदेश १ मा ‘कोशी’ प्रति विमति रहँदारहँदै हुँदैनभएको प्राचीन हिन्दू इतिहास स्थापित गराउन सांसदहरू जानेर वा नजानेरै पनि एकजुट भए। प्रदेशको नामकरणमा धार्मिक पक्ष हावी भयो।
धर्मनिरपेक्षता हाम्रो संविधानको आधारशिला हो। देशको यो मूल कानून कार्यान्वयन गर्दै जाने यात्रामा हामी सबै लाग्नुपर्नेछ। छिमेकी भारतमा वर्षौंपछि पनि कतिपय प्रदेशको पुनः नामकरण गरिएका छन्। हामीकहाँ पनि भएका कमीकमजोरी सच्याउँदै प्रदेशको नामकरणमा साझा बिन्दु खोज्नु बुद्धिमानी हुनेछ।
कोशी नामकरण विवादबारे थप सामग्री: