चितवन पुग्यो फुडमान्डु
अनलाइन फुड डेलिभरी कम्पनी फुडमान्डुले चितवनमा सेवा विस्तार गरेको छ।
काठमाडौं उपत्यकापछि पोखरामा सेवा दिँदै आएको फुडमान्डुले शुक्रबारबाट चितवनमा सेवा शुरू गरेको हो। देशकै पहिलो अनलाईन फुड डेलिभरी कम्पनी फुडमान्डु सन् २०१० देखि सञ्चालनमा छ।
कम्पनीले काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर र पोखरापछि चितवनको भरतपुरमा सेवा दिन शाखा विस्तार गरेको कम्पनीका संस्थापक एवम् प्रबन्ध निर्देशक मनोहर अधिकारी बताउँछन्। “अनलाइनबाट अर्डर लिएर फुड डेलिभरी गर्न सकिन्छ भन्ने विचारलाई सार्थक बनाउने क्रममा धेरै उतार चढाव भोग्यौं,” अधिकारी भन्छन्, “कार्यालयमा काम गर्दा खाजा खाने समयमा आफैले भोगेको समस्यालाई समाधान गर्न यस्तो विचार फुरेको थियो।”
१४ वर्ष अघि फुडमान्डु सञ्चालन गर्दा वेबसाइट खोलेर खानेकुरा अर्डर गर्ने व्यवस्था गरिएको उनी सुनाउँछन्। सफ्टवेयर डेभलपर अधिकारी त्यसलाई सिकाइको रुपमा प्रयोग गरेको बताउँछन्। “त्यसवेला हामीले नौलो प्रयोग गरेका थियौं,” उनी भन्छन्, “वेबसाइटभन्दा नि फोन मार्फत अर्डर आउन थाले। इन्टरनेटको प्रयोग बढ्दै जाँदा उपभोक्ताको संख्या बढ्दै गयो।”
दैनिक पाँच अर्डरबाट शुरू भएको फुड डेलिभरीको यात्रा कम्पनी स्थापनाको दुई वर्षमा १० हजार पुगेको थियो। उपभोक्ताको सहयोगले हौसिएका उनी पाँच वर्षमा फुडमान्डु एप मार्फत सेवा शुरू गर्न सफल भए। यो एप हाल आठ लाखको हाराहारीमा डाउनलोड भएको प्रबन्ध निर्देशक अधिकारी बताउँछन्।
फुडमान्डुमा फुड डेलिभरी गर्न करीब ४०० जनाले रोजगारी पाएका छन्। कम्पनीमा १२५ जना अन्य कर्मचारी छन्। दैनिक करीब दुई हजार ५०० अर्डर फुडमान्डुले डेलिभर गर्दै आएको उनी सुनाउँछन्।
चितवनमा फुडमान्डुको शाखा विस्तारले रेस्टुरेन्ट व्यवसायलाई सहयोग पुग्ने रेस्टुरेन्ट एन्ड बार एशोसिएशन नेपाल (रेवान) चितवनका अध्यक्ष अच्युतराज भट्ट बताउँछन्। “घरबाटै खानेकुरा अर्डर गरेर घरमै आईपुग्ने सुविधाले चितवनको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्नेछ,” अध्यक्ष भट्ट भन्छन्, “एकभन्दा बढी अनलाइन फुड डेलिभरी कम्पनीले सेवा दिन थाल्दा स्वस्थ प्रतिस्पर्धाको विकास हुन्छ। उपभोक्तालाई थप सहज हुनेछ।”
रेवान चितवनमा हाल ५५ वटा रेस्टुरेन्ट तथा होटल आबद्ध छन्। भरतपुर महानगरपालिका क्षेत्रमा साना ठूला गरी करीब दुई हजार रेस्टुरेन्ट रहेको उनी बताउँछन्।
भरतपुर र गैंडाकोटमा सेवा दिइने
चितवनमा गरिएको सेवा विस्तारबाट हाल भरतपुरको मुख्य बजार क्षेत्र, गैंडाकोट गरि करीब १० किलोमिटरको पेरिफेरीमा सेवा दिईने कम्पनीले जनाएको छ। भरतपुरका ३० वटा रेस्टुरेन्ट फुडमान्डुसँग आबद्ध भएका छन्।
चितवनमा गरिएको सेवा विस्तारमा फुड डेलिभरी गरे वापत काठमाडौं उपत्यका र पोखराको जत्तिकै डेलिभरी सेवा शुल्क लिइने कम्पनीका ब्रान्ड एन्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराई बताउँछिन्। परिकारको मात्रा र पुर्याउनुपर्ने स्थानको दूरीलाई हिसाब गरेर शुल्क निर्धारण हुने भट्टराईको भनाइ छ।
उनका अनुसार, अर्डर गरिएको रेस्टुरेन्टदेखि डेढ किलोमिटरको दूरीमा २५ रुपैयाँ र त्यसपछि हरेक किलोमिटरमा थप २५ रुपैयाँ शुल्क लाग्नेछ। एक हजार रुपैयाँ भन्दा माथिको अर्डरमा भने बढीमा ७५ रुपैयाँसम्म डेलिभरी शुल्क लाग्ने व्यवस्था गरिएको छ।
फुडमान्डुमा हाल एक हजार भन्दा बढी रेस्टुरेन्ट आबद्ध छन्। चितवनमा सेवा विस्तारको क्रममा कम्पनीले ‘फुड सफारी’ कोड प्रयोग गर्दा वैशाख ३१ गतेसम्म ३० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट दिने भएको छ।