चित्रकलाको मानक परिवार
पिता शिवदासले सिकाएको परम्परागत चित्रकारितालाई छोरा तेजबहादुरले आधुनिक रङ दिए भने नाति मदनले तिनमा मौलिकता भरे। जसले जे जे गरे, सबै अब्बल ठहरिए।
मदन चित्रकारले पहिलो पटक कूची कहिले समाते, उनलाई थाहा छैन। एउटा कुरा चाहिं सबैलाई थाहा छ- ७८ वर्षे उमेरमा पनि उनको हातबाट कूची छुटेको छैन। बिहान उठेदेखि राति अबेरसम्म रङहरूसँग खेल्नुमै आनन्द छ उनलाई। त्यसो गर्न नपाउँदा चाहिं छटपटी मान्छन्।
क्यानभाससँग मदनको सम्बन्ध आजको मात्र होइन, जन्मनुभन्दा अघिदेखिको हो। चित्र बनाउने कर्मसँग जोडिएकैले पुर्ख्यौली थर चित्रकार रह्यो। तर उनको स्मृतिमा पुर्ख्यौली इतिहासको अलिक स्पष्ट चित्र चाहिं हजुरबुबाबाट शुरू हुन्छ। २००२ सालमा मदन जन्मँदा हजुरबुबा शिवदास बितेको एक महीना मात्र भएको थियो। मदनले हजुरबुबाको कूचीकला प्रत्यक्ष हेर्न नपाए पनि बुबा तेजबहादुरबाट प्रशस्तै सुने।
१९२७ कात्तिकमा पाटनमा जन्मिएका शिवदास रङ र चित्रसँग खेल्ने परिवारको एक्लो सदस्य थिए। उनी कपडा, कागज, मन्दिरका भित्ता र ढोकाहरूमा देवदेवीका चित्राकृति बनाउँथे, चाडपर्वका लागि तयार पारिएका रथमा देवदेवीका आँखा कुँद्थे। त्यही देखेर हुर्किएका तेजबहादुरले बुबाको बिंडो थाम्दै चित्रकलालाई नै पेशा बनाए।
चित्रकलाको माहोल विरासतमा पाए पनि यसमा टिकाइरहने चाहिं व्यक्तिगत चेत र सीपले नै हो भन्नेमा तेजबहादुर स्पष्ट थिए। उनी छोरा मदनलाई भन्थे, “हामी थर चित्रकार भएकाले मात्र चित्रकार भएका होइनौं, यो त कला हो। नत्र सबै चित्रकारले किन चित्रकलालाई पेशा बनाउन सकेनन्?”
तेजबहादुरले छोरालाई जुन आदर्श सिकाए, त्यो आफैंले प्रमाणित पनि गर्दै गए। उनले राणाकालमै आधुनिक कलामा स्नातक तहको अध्ययन पूरा गरे। परम्परागत धारमा चलेको कलालाई आधुनिकतामा ढाले।
पूर्ववर्ती कला-सर्जकहरू धर्ममा आधारित पौभा चित्र बढी बनाउँथे। तेजबहादुर भने धर्ममा मात्र सीमित भएनन्, चित्रमा समसामयिक समाज र मानिसलाई पनि उतार्न थाले। मदनले चाहिं बुबाले समातेको आधुनिक धारमा नेपाली मौलिकता पनि मिसाएर थप जीवन्त बनाइरहेका छन्।
परम्परामा आधुनिक रङ
तेजबहादुर १९७२ सालमा दरबार हाइस्कूलमा पढ्थे। त्यही वेला सिंहदरबारको नक्शा अड्डामा काम गर्ने आफन्त दीर्घमानले उनलाई त्यहींको स्टुडियोमा काम मिलाइदिए। काम थियो- दरबारका भित्ताहरूमा चित्रकला गर्ने। उनले त्यहाँ देवीदेवताको चित्र मात्र नभई रूख, जनावर र मानिसको आकृति पनि बनाए। यसबाट तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर प्रभावित थिए।
त्यति वेला राजा, मन्त्री लगायत उच्चपदस्थहरूको तैलचित्र बनाउन बेलायतबाट चित्रकार बोलाइन्थ्यो। यसो गर्दा निकै खर्चिलो पर्थ्यो। चन्द्रशमशेरले तेजबहादुरमै त्यस्तो क्षमताको सम्भावना देखे। त्यसैले १९७८ सालमा उनलाई भारतको कोलकातास्थित गभर्नमेन्ट स्कूल अफ आर्टमा उच्च शिक्षा अध्ययनका निम्ति पठाए, दरबारकै खर्चमा।
तेजबहादुर कोलकातामा जानेको सीप देखाउन नेपालबाट प्रधानमन्त्री लगायतको तस्वीर मगाएर तिनलाई तैल, पानीचित्र आदिमा ढाल्थे। अनि नेपालमै फिर्ता पठाउँथे। त्यस क्रममा उनले राजा त्रिभुवन र चन्द्रशमशेरको तैलचित्र धेरै बनाएको तेज बहादुर चित्रकार: आइकन अफ अ ट्रान्जिशन पुस्तकमा उल्लेख छ।
तेजबहादुर पढाइ सकिएपछि पनि केही वर्ष भारतमै बसेर १९८६ सालमा मात्र नेपाल फर्किए। त्यसको केही महीनामै चन्द्रशमशेर बिते। भीमशमशेर प्रधानमन्त्री भए। काठमाडौंमा लक्ष्मीनिवास, शीतलनिवास आदि दरबार बन्दै थिए। तिनलाई चित्रकलाले सजाउने जिम्मा उनैले पाए। तेजबहादुर १९९५ सालमा नक्शा अड्डाका स्थायी कर्मचारी भए। १९९७ चैत १२ मा दरबार हाइस्कूलको कला शिक्षक नियुक्ति गरिए।
यही ताका हो, तेजबहादुरले धार्मिक चित्रको दबदबामा आधुनिक चित्रकलाको बीज रोपेको। नेपालमा चित्रमा खासगरी प्रकाश र छाया राख्न उनैले शुरू गरे। यससँगै दूरान्तर सिद्धान्त प्रयोग गरे। यो भनेको टाढाको कुरा सानो र नजिकको कुरा ठूलो देखाएर कलामा जीवन्तता ल्याउने सीप हो।
नेपालमा तैलचित्र बनाउने पहिलो कलाकार पनि तेजबहादुर नै रहेको छोरा मदन दाबी गर्छन्। मदन भन्छन्, “बुबाले भगवान् बाहेकका चित्र पनि बनाउन सकिन्छ भन्ने देखाउनुभयो। उहाँ नेपालमा न्यूड पेन्टिङको आरम्भकर्ता पनि हो।”
मदनका अनुसार तेजबहादुर ‘लाइभ पेन्टिङ’ पनि गर्थे। उनले चन्द्रशमशेर शिकार खेल्न जाँदा हात्तीमा सवार हुँदाको चित्र बनाएका थिए।
बुबाकै कला हेर्दै हुर्किएका मदनले पनि पछि त्यही बाटो पछ्याए। बुबाले थालेको आधुनिक कलामा मौलिकता मिसाए। यहाँसम्मको यात्रा तय गर्न मदनलाई पनि सहज थिएन। त्रिचन्द्र कलेजबाट प्रमाणपत्र तहको अध्ययनपछि उनी २०२० सालमा एप्लाइड आर्टमा स्नातक गर्न बम्बई गए। सर जेजे स्कूल अफ आर्टस्मा पढेर फर्किएपछि २०२६ सालमा सिंहदरबारस्थित प्रचार विभागमा काम गरे।
त्यसको एक वर्षपछि वरिष्ठ आर्टिस्ट पदमा जनक शिक्षा सामग्री केन्द्र प्रवेश गरे जहाँ उनले पाठ्यक्रममा मान्छेको फोटोको सट्टा ‘कार्टून’ समेत प्रयोग गर्ने परिपाटी बसाए। २०२७ सालमा प्रकाशित विद्यालय स्तरका पाठ्यपुस्तकमा उनले प्रशस्तै ‘इलुस्ट्रेशन’ बनाएका छन्।
मदनका अनुसार तत्कालीन सरकारले ‘नयाँ शिक्षा योजना, २०२८’ लागू गरेसँगै अपनाइएको यो शैलीले कलाक्षेत्रमा ऐतिहासिक ‘ब्रेक थ्रू’ गरेको थियो। “राजा वीरेन्द्रले नयाँ शिक्षा योजना लागू गर्नुभएको थियो। त्यही वेला चित्रभन्दा कार्टूनको प्रयोग गरियो। यसका लागि धेरैसँग नराम्रो भएर पनि काम गरियो,” उनी संघर्षका क्षण सम्झन्छन्।
२०३५ सालमा मदन पर्यटन मन्त्रालयको श्रव्यदृश्य शाखाको प्रमुख भए। त्यस क्रममा उनले नेपालका पर्यटकीय प्रचार सामग्री र लोगोहरूलाई मौलिक रूप दिए। खासगरी तिनमा नेपाली झन्डाको चन्द्रसूर्य र रातो रङको अमूर्त सम्मिश्रण गरे।
२०५६ सालमा ‘नेपाल भ्रमण वर्ष’ का अवसरमा तत्कालीन नेपाल पर्यटन विकास बोर्डले ‘भिजिट नेपाल आर्ट शो १९९९’ शीर्षकमा उनका चित्रहरूको प्रदर्शनी गरेको थियो। भ्रमण वर्षका लागि उनले बनाएको ‘लोगो’ चर्चित पनि भयो। मदन भन्छन्, “अहिले इन्डिजाइनमा गरिने काम हामी उति वेला हातले नापेर, मिटरहरू मिलाएर गर्थ्यौं।”
पर्यटन मन्त्रालयमा २० वर्ष काम गरेपछि उनले २०५५ सालमा अवकाश लिए। त्यसपछि पूरै समय चित्रकलालाई नै दिइरहेका छन्। उनको चित्रकारिताको शक्ति बुझ्न सात दशकभन्दा अघिको असन क्षेत्र, त्रिशूली नदीको ‘ल्यान्डस्केप’, काठमाडौं बाहिरको सामाजिक जीवन, उपत्यकाको काष्ठकला र संस्कृति झल्काउने एक दर्जन चित्र हेरे पुग्छ।
“हामीले आधुनिक कलामा अझै धेरै काम गर्नु छ। अब भगवान् बुद्धले ध्यान गरेको एकै खाले चित्रभन्दा उनको गुणवत्ता देखाउने कल्पना गरेर कला बनाउनुपर्छ,” मदन भन्छन्।
नबेचिएका सिर्जना
मदनलाई स्पष्ट थाहा छैन, उनले अहिलेसम्म कति चित्र बनाए। अनुमानसम्म लगाउँछन्, “एक हजारभन्दा धेरै बनाए हुँला, सयौं प्रदर्शन भए अनि धेरै बिक्री। केही चाहिं अझै मसँगै छन्।”
उनले कहिले रेखाचित्र, कहिले प्रकृतिपूजक बनेर नेपालका डाँडाकाँडा त कहिले समाज चिनाउन गाउँशहरका चित्र बनाए। कतिमा राजनीतिलाई व्यंग्य गरिएका थिए। यस्ता चित्र बनाउँदा धम्की खेप्नुपरे पनि उनी रोकिंदैनथे।
मदन अहिले पूर्वीय सभ्यतामा विशेष स्थान पाएको जन्तु सिंहका अनेक दृश्य क्यानभासमा सिंगारिरहेका छन्। “चित्रकार एउटै विधामा लामो समय रहन हुन्न। म पनि केही समय परम्परागतमा मौलिकता मिसाएर फेरि नयाँ काम थाल्नेछु,” उनी भन्छन्, “यहाँ आधुनिक कला नै कम छन्। त्यसैले मैले धेरै चित्रकारलाई यसमै जोड गरौं भनेको छु।”
मदनको मुख्य आयस्रोत चित्रकला नै हो। तर केही चित्र यस्ता पनि छन् जसलाई उनले लाखौं रुपैयाँमा पनि बेच्न चाहेनन्। तिनलाई आफ्नै सुत्ने कोठामा ठाउँ दिएका छन्। तिनैमध्येको हो, २०२० सालमा बनाएको तामाङ दम्पतीको चित्र जसमा उनीहरू गाउँको चौतारीमा डोको बिसाएर रूखमुनि थकाइ मारिरहेछन्।
त्यो चित्रले ६० वर्षअघिको नेपाली समाज झल्काउँछ। उनी भन्छन्, “त्यस वेला तामाङ जातिलाई भारी बोकाइन्थ्यो। उनीहरू आफैं पनि खाद्यान्न बोकेर शहरमा बेच्न ल्याउँथे। उपत्यका बाहिर घुम्न जाँदा देखेको दृश्य आँखामा ल्याएर चित्रमा उतारेको थिएँ।”
त्यस्तै, ‘द सेटलमेन्ट’ शीर्षकको अर्को चित्र छ, २०५९ सालमा बनाएको। सशस्त्र द्वन्द्व ताका एक्लिएका गाउँ र अनाहकमा ज्यान गइरहेको परिदृश्यलाई संकेत गर्दै यो चित्रमा चार वटा बाकस अनि त्यसबाट रगत चुहिरहेको दृश्य छ। विद्रोही पक्षको डरले उनले लामो समय त्यो बाहिरै ल्याएनन्।
त्यसरी समाज बोल्ने चित्र बनाउँदा डराउनुपर्ने समयको साक्षी भएकाले त्यसलाई बिक्री नगरेको उनी बताउँछन्। मदन भन्छन्, “त्यस वेला गाउँ नै पलायन भए जस्तो थियो। मृत्युको समाचार मात्र आउँथ्यो। डर र एक्लोपन धेरै थियो।”
केही वर्षयता भने सिंहका भंगिमामा रमाइरहेछन् मदन। बलियो जनावरलाई कहिले रौद्र त कहिले शान्त लहर जस्तो, कहिले निराश त कहिले उत्साही, कहिले आवेग त कहिले सन्नाटा झल्किने स्वभावमा उतारिरहेका छन्। नेवार सभ्यतामा जनै खटिरा आउँदा जीउमा सिंहको चित्र बनाए ठीक हुने मान्यता छ जसलाई मदनले पनि जीवनमा अनुसरण गरे।
उनले आफ्नो अनि अरू धेरैको जीउमा सिंह कुँदे। उनी भन्छन्, “यिनै कुराले पनि सिंहसँग मेरो लगाव बढाएको हुन सक्छ। तर अब लामो समय यही विधामा रहन्नँ। हात र दिमाग चल्दासम्म नयाँ नयाँ कला भर्दै जानेछु।”