खरानी पन्छाउँदै सहयोग कुरिरहेको बस्ती
हेर्दाहेर्दै आगोले खरानी बनाएको महोत्तरीको जरलहवा बस्तीका बासिन्दा सहयोगको पर्खाइमा छन्।
मधेशको चर्को घाम छेक्न महोत्तरीको मटिहानी नगरपालिका-६, जरलहवाकी खैरुन खातुन वैशाख १२ को अपराह्नतिर घरभित्रै सुस्ताइरहेकी थिइन्। एकाएक होहल्ला सुनेर बाहिर निस्किंदा केही परका घरमा आगो सल्केको देखिन्।
हेर्दाहेर्दै आफ्नो घरलाई पनि आगोको लप्काले समातेको उनी सुनाउँछिन्। “औषधि र अस्पतालका पुर्जा पनि जले,” ६० वर्षीय खातुन भन्छिन्।
उनी बिरामी छिन्। छिमेकी भारतीय शहरमा उपचार गराउँदै आएकी थिइन्। घरका सरसामानसँगै औषधि र स्वास्थ्य परीक्षण गरेका कागजात पनि जलेपछि उनी तनावमा छिन्। “घर त बनाउन सक्दैनौं, अब उपचार पनि कसरी गर्नु?” उनी भन्छिन्।
वैशाख १२ गते अपराह्न आगलागी हुँदा जरलहवा बस्तीका ११० परिवार घरबारविहीन बनेका छन्। उनीहरूको घर भएको ठाउँमा खरानी मात्रै छ। त्यही खरानी हटाएर पाल टाँगेका छन्।
कतिपय जलेका घरका पर्खालले नै घाम छेकिरहेका छन्। युवा तन्नेरीले गाह्रोसाह्रो सहिरहेको भए पनि ज्येष्ठ नागरिक र बालबालिकालाई समस्या भइरहेको स्थानीय निमत खातुन बताउँछिन्। उनको घर पनि आगलागीमा परी ध्वस्त भएको छ। १९ वर्षीया खातुन भन्छिन्, “तीन दिनदेखि समस्यामै छौं, ज्येष्ठ नागरिक र बालबालिकालाई अझ अप्ठ्यारो भइरहेको छ।”
११० घर जलेर नष्ट हुँदा ४६२ जना प्रभावित छन्। उनीहरू अहिले पालमै बसिरहेका छन्। घरसँगै सबै सरसामान नष्ट भएको उनीहरू बताउँछन्।
यस बस्तीमा मुस्लिम, दलित र जनजाति समुदायका अति विपन्न परिवार बस्दै आएका छन्। आगलागीका कारण सबैको खाद्यान्न, लुगाकपडा, भाँडाकुँडा नष्ट भएको खातुन बनाउँछिन्। “हावा चलिरहेको थियो, आगो सल्किने बित्तिकै घर खरानी भए,” उनी भन्छिन्, “कसैले केही जोगाउन सकेन।”
करीब सात घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल बताउँछन्। स्थानीय बासिन्दासँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना आगो नियन्त्रणमा खटिएका थिए।
मेयर मण्डल स्थानीय सरकारले सहयोग गरिरहेको भए पनि पर्याप्त नभएको बताउँछन्। तत्कालका लागि राहत सामग्री वितरण गरेको बताउँदै उनी भन्छन्, “हामीले मात्रै सक्दैनौं, सबैलाई सहयोग गर्न अनुरोध गर्दछु।”
स्थानीय सरकार र नेपाल रेडक्रस सोसाइटीले पीडितलाई खाद्यान्न, भाडावर्तन र त्रिपाल सहयोग गरेका छन्। त्यस्तै, नेपाली सेना र विभिन्न संघसंस्थाले खाद्यान्न लगायत सामग्री वितरण गरेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले प्रत्येक परिवारलाई तत्कालका लागि २० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ।
जरलहवाकी बस्तीमा खटिइरहेकी इन्सेक महोत्तरीकी प्रतिनिधि ममता विश्वकर्माले अहिले खानपिनको व्यवस्था भए पनि केही दिनमै समस्या हुने बताउँछिन्। उनका अनुसार लुगाफाटो, औषधि लगायत अत्यावश्यक सामानको अभाव छ। “बेघर बनेका पीडितलाई खाद्यान्नसँगै लुगाफाटाको पनि व्यवस्था गर्नुपर्नेछ,” विश्वकर्मा भन्छिन्, “स्थानीय सरकारले मात्रै सक्ने अवस्था छैन, प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्छ।”
मटिहानी नगरपालिकाले पनि अग्निपीडितको सहयोगका लागि सार्वजनिक अपील नै गरेको छ। उनीहरूलाई खानपिन, लुगाकपडासँगै औषधोपचारका लागि सहयोग गर्न आग्रह गरेको छ। यससँगै बस्ती पुनर्निर्माणका लागि पनि सबैको सहयोग आवश्यक रहेको मेयर मण्डल बताउँछन्। उनी भन्छन्, “जसले जति सक्नुहुन्छ, सहयोग गर्न अपील गर्छु।”