अस्तित्वको संकट झेल्दै म्यासेडोनिया
आधा दिन सँगसँगै स्कोपे शहर घुम्दा उनले मलाई भनेका थिए, ‘म्यासेडोनियाको अस्तित्व छिटै समाप्त भएमा आश्चर्य मान्नु पर्दैन।’
म्यासेडोनिया भनेको सुन्ने बित्तिकै यूरोपेली इतिहासको अलिकति पनि ज्ञान राख्ने जोकोहीले अलेक्जेन्डर महान्लाई अनायासै सम्झिन पुगिहाल्छ। किनभने अलेक्जेन्डर महान् जन्मिएका ठाउँको नाम हो म्यासेडोनिया। उनका पिता म्यासेडोनियाका राजा फिलिप द्वतीयको हत्या इन्दिरा गान्धीको जस्तै आफ्नै अंगरक्षकबाट भएपछि २० वर्षको ठिटौले उमेरमै म्यासेडोनियाको राजसिंहासनमा बस्न पुगेका थिए अलेक्जेन्डर।
पहिले छिमेकको ग्रीसलाई अधीनस्थ तुल्याएपछि उनले थालेको दिग्विजयी अभियानले उनको साम्राज्यलाई इजिप्टदेखि सिन्धु नदीको तटसम्म फैलाएको थियो। त्यसैकारण उनको नामका पछाडि जोडिन गएको थियो महान् भन्ने विशेषण। महान् भनेर चिनिएका त्यस्ता इतिहासप्रसिद्ध युद्धवीरलाई म्यासेडोनियाले नसम्झने कुरै आएन।
त्यही भएर फोहोराहरूको बीचबाट उठेको गोल आधारस्तम्भमा निर्मित अग्लो गोलाकार पादपीठमा खडा अलेक्जेन्डरको शालिक म्यासेडोनियाको राजधानी स्कोपे शहरको केन्द्र भागमा रहेको फराकिलो पटांगिनीमा खडा रहेको छ। दाहिने हातमा तरबार र बुर्कुसी मार्न तयार घोडाको लगाम बायाँ हातमा समातेर घोडामा चढेका अलेक्जेन्डरको प्रतिकृति त्यस शालिकमा देख्न सकिन्छ।
पादपीठको तल्लो भागमा १२ हात लामो भाला र ढाल बोकेका उनका पैदल सेनाका आदमकद प्रतिमूर्ति छन्। १२ हाते भाला चलाउने पैदल सेना युद्धमा अग्रिम पंक्तिमा रहन्थ्यो र त्यसलाई अलेक्जेन्डर महान्को सैन्य संगठनको महत्त्वपूर्ण कडी मानिन्थ्यो। जमीनदेखि शालिकको टुप्पासम्मको उचाइ केही नभए पनि होला ७०-८० फिट। निकै चित्ताकर्षक छ अलेक्जेन्डर महान्को त्यो शालिक।
तर विडम्बनाको कुरा के छ भने, त्यो शालिक कसको हो भनी चिनाउने नामपट कतै राखिएको वा टाँगिएको पाइँदैन त्यहाँ। मानिसहरू पनि यो अलेक्जेन्डर महान्कै शालिक हो भनेर धक नमानी खुलेर भन्दैनन्। शहरको नक्शा वा पर्यटकलाई दिइने पर्चाहरूमा केवल ‘अश्वारोहीको स्मारक’ भनेर लेखिएको पाइन्छ। गुपचुपमै बुझ्नुपर्छ शालिक असलमा अलेक्जेन्डरको हो भनेर।
उता, नदीपारि रहेको अलेक्जेन्डरको हेरी लगभग आधा उचाइको फिलिप द्वतीयको शालिकको मुन्तिर भने उनको नामपट पाइन्छ। बाबुको शालिकलाई चिनाउने नाम छ, विश्वविजेता भनेर कहलिएको पुरुषार्थी छोराको शालिक भने परिचयविहीन छ।
किन यस्तो? यो विस्मयकारी तथ्यको रहस्य मेरा स्थानीय आतिथेय खोल्छन्। संयोगात् उनको नाम पनि अलेक्जेन्डर हो, तर अलेक्जेन्डर जाराप्सियेभ। उनी स्कोपेमा बर्सेनि हुने ‘इको माउन्टेन फिल्म फेस्टिभल’ का सहसंस्थापक हुन्।
उनले बताए अनुसार त्यो शालिक बेनाम रहने कारण म्यासेडोनियाको बलशाली दक्षिणी छिमेकी ग्रीस हो। अलेक्जेन्डर महान्को नाममाथि आफ्नो एकाधिकार रहेको दाबी गर्छ ग्रीस। एक जमानामा म्यासेडोनियाको भूभाग ठूलै थियो भनिन्छ। तर पुरानो म्यासेडोनियाको चोक्टालाम्टा छिमेकका बुल्गेरिया, अल्बेनिया, सर्विया र ग्रीसको भागमा पर्न गएका छन् जुन देशहरूबाट अहिलेको म्यासेडोनिया क्रमश: पूर्व, पश्चिम, उत्तर र दक्षिणतर्फ घेरिएको छ। त्यसमाथि थप कोसोभो नामको अर्को राष्ट्र उदाएको छ सन् २००८ देखि जो म्यासेडोनियाको सँधियार बन्न पुगेको छ उत्तर-पश्चिमतर्फको।
अहिलेको राजनीतिक भूगोल बमोजिम पेला नामको जुन स्थानमा अलेक्जेन्डर महान् जन्मिएका थिए त्यो ठाउँ हाल ग्रीसको भूभागभित्र रहेको छ। त्यसमाथि म्यासेडोनिया नामको प्रान्त नै छ ग्रीसको। अनि त्यही प्रदेश अन्तर्गत पर्दछ पेला। तसर्थ एक स्वतन्त्र राष्ट्रका रूपमा म्यासेडोनियाको जन्म भएको दिनदेखि नै ग्रीसको ठूलो विरोध रहँदै आएको थियो यसको नामउपर।
त्यसैले धेरै राष्ट्रद्वारा कूटनीतिक मान्यता प्राप्त हुँदाहुँदै पनि म्यासेडोनियाले नयाँ नाम अख्तियार गर्नुपर्ने खण्ड आयो- ‘द फर्मर युगोस्लाभ रिपब्लिक अफ म्यासेडोनिया’ भन्ने, छोटकरीमा एफ.वाई.आर. म्यासेडोनिया। त्यही नामबाट संयुक्त राष्ट्र संघको सदस्यता पायो सन् १९९३ मा। तर त्यो नाम म्यासेडोनियाले खोजे जस्तो थिएन र नामको बखेडा चलिरह्यो ग्रीससित। आखिर सन् २०१८ मा दुई देशबीच भएको सहमति अनुसार यसले रिपब्लिक अफ नर्थ म्यासेडोनिया भन्ने हालको नाम पायो र सन् २०१९ देखि त्यही नाममा चित्त बुझाएर बसिरहेको छ बाल्कान प्राय:द्वीपको यो सानो देश।
साँच्चै सानो छ क्षेत्रफलका हिसाबले म्यासेडोनिया। झन्डै झन्डै ६ गुणा नै सानो छ यो नेपालभन्दा। केवल २० लाखको हाराहारी छ जनसंख्या। चारै दिशाबाट पाँच वटा राष्ट्रबाट घेरिएको म्यासेडोनिया समुद्रसम्म सोझै पहुँच नभएको भूपरिवेष्टित मुलुक हो नेपाल जस्तै। यद्यपि नेपाल मूलत: भारतवेष्टित छ, त्यो बेग्लै कुरा हो। तर म्यासेडोनियाका बृहताकार केही प्राकृतिक ताल छन् र केही ठूला नदी।
सबैभन्दा ठूलो मानिएको भारदार नामको नदी राजधानी स्कोपे शहरलाई माझबाट चिर्दै बग्छ, काठमाडौं उपत्यकामा बागमती बगे जसरी। भारदार नदी र बागमतीमा फरक यत्ति छ : भारदार नदी दुर्गन्धित छैन, नदीमा नौका चलाउन सकिन्छ र मानिस माछा मार्न बल्छी थापेर त्यहाँ बसिरहेका हुन्छन्। नदी किनारमा बेन्चहरू राखिएका छन् आराम गर्न भनेर। दुवै किनारमा टहलिरहेका मानिस देख्न सकिन्छ।
समुद्री सतहभन्दा केवल २४५ मिटरको सरदर उचाइमा रहेको स्कोपे शहर लगभग समतल भूभागमा बसेको छ र शहरको नजिकै उभिएका केही पहाडहरूका कारण यसले उपत्यका हो कि भन्ने भान पार्छ। ती पहाड एक हजार ६०० मिटर जति मात्रै अग्ला छन्, तैपनि तिनमा हिउँ पर्छ जाडो याममा। आल्प्स पर्वतमालाबाट म्यासेडोनिया निकै टाढा छ र यसको उच्चतम टाकुराको उचाइ केवल दुई हजार ७६४ मिटर छ।
त्यसो भईकन पनि पर्वतारोहणको शोख राख्ने म्यासेडोनियालीको जमात ठूलै छ। ढुंगामा घस्रिएर खस्रो भएको हात अघि बढाएर ‘आई एम अ क्लाइम्बर’ भनी आफूलाई चिनाउने तरुना निकै भेटिन्छन्। नेपाल र हिमालयको नाम सुन्दा कान ठाडा पार्छन्। स्कोपेको माउन्टेन फिल्म फेस्टिभलमा फिल्म हेर्न आउनेहरूलाई त नेपाल नाम झनै नौलो लाग्दैन।
एउटा स्वाधीन राष्ट्रका रूपमा सन् १९९१ मा अस्तित्वमा आएको थियो नर्थ म्यासेडोनिया साविकको संघीय युगोस्लाभ गणतन्त्रबाट टुक्रिएर। दोस्रो विश्वयुद्धपछि मार्सल जोसिप ब्रोज टिटोले सन् १९८० सम्म शासन गरेको संघीय गणतन्त्र युगोस्लाभिया सन् १९९० को दशकको शुरूआतदेखि विघटन हुन थालेको थियो। विघटनको त्यस क्रममा जन्मेका सात वटा राष्ट्रहरूमा एउटा हो नर्थ म्यासेडोनिया। अरू ६ वटामा पर्छन् बोस्निया-हर्जगोभिना, क्रोएशिया, मोन्टेनेग्रो, सर्विया, म्यासेडोनिया र कोसोभो। यिनमध्ये सबभन्दा कान्छो राष्ट्र कोसोभो हो जो सन् २००८ मा जन्मेको थियो लामो गृहयुद्धपछि।
मार्सल टिटोको शासन अन्तर्गतको युगोस्लाभियाले कम्युनिस्ट शासनपद्धति अँगालेको थियो। एकातिर ‘नेटो’ (नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेशन) र अर्कातिर ‘वार्सा प्याक्ट’ यी दुई सैनिक गठबन्धनमा विभाजित शीतयुद्धकालीन विश्व वातावरणमा मार्सल टिटोको युगोस्लाभियाले छुट्टै तटस्थ धार अंगीकार गरेको थियो। एक कम्युनिस्ट मुलुक भईकन पनि तत्कालीन सोभियत संघको नेतृत्वमा खडा भएको सैनिक गठबन्धनमा सामेल थिएन युगोस्लाभिया। अपितु टिटो ‘नन-अलाइन्ड मुभमेन्ट’ अर्थात् असंलग्न आन्दोलनको अवधारणा बीजारोपण गर्नेमध्येका एक थिए।
त्यस आन्दोलनका अन्य शुरूआतकर्तामा थिए भारतका जवाहरलाल नेहरू, इजिप्टका गमाल अब्दुल नासेर, इन्डोनेशियाका सुकार्नो र घानाका क्वामे एनक्रुमा। संयुक्त राज्य अमेरिकाले नेतृत्व गरेको पूँजीवादी खेमा र सोभियत संघले हाँकेको समाजवादी खेमा यी दुवैतिर संलग्न नभईकन मध्यमार्ग अवलम्बन गर्दै स्वतन्त्र रूपमा अघि बढ्ने प्रयास थियो त्यो असंलग्न विश्व आन्दोलन। त्यस वेलाको युगोस्लाभिया शक्तिशाली मानिन्थ्यो राजनीतिक र आर्थिक रूपमा पनि।
स्कोपे शहर आकारमा सानो छ, तर सरसुविधा, यातायात, सञ्चार, सरसफाइ, सडक सञ्जाल आदिको दृष्टिमा अन्य यूरोपेली शहरहरूभन्दा केही कम छैन। भौतिक पूर्वाधारको निर्माण राजधानीमा मात्र नभई म्यासेडोनिया राज्यमै टिटोकै पालामा भएका थिए जसको जगमा अहिलेको स्वतन्त्र म्यासेडोनिया खडा छ। अहिले पनि कलधाराबाट सोझै खान सकिने पानीको आपूर्ति हुन्छ।
तैपनि साविकको युगोस्लाभिया टुक्रिएर बनेका राष्ट्रहरूमा म्यासेडोनिया आफूलाई निम्छरो हैसियतमा रहेको ठान्छ। हुन पनि बाल्कान प्रायद्वीपका मुलुकहरूमा यसको जीवनस्तर पुछारमा पर्छ। खनिजमा जिंक, सिसा छन्, तेलका विशाल कुप या ग्यास भण्डार छैनन्। उद्योग सानोतिनो छ र निर्यात सीमित वस्तुको। यसको मुद्रा देनार त्यत्ति बलियो मानिंदैन, एक यूरोको सटही दर ६० देनार छ। भूपरिवेष्टित अवस्थाले निम्त्याउने यावत् प्रतिकूलता पनि यसको अर्थतन्त्रले बेहोर्नुपरेको छ। पुगेस् पुगेस्को अर्थतन्त्र छ यसको।
एक ताका कोग्ल्याँटे र निकै पछौटे मानिने छिमेकको अल्बेनियाले आर्थिक रूपमा आफूलाई बिस्तारै उछिन्न लागेको र आफू पछाडि पर्दै गएको आभास म्यासेडोनियालाई हुन लागेको छ। अल्बेनियामा गरीबी घट्दै गएको, उद्यम र रोजगार बढ्दै गएको, प्रतिव्यक्ति आय उकालो लाग्दै गएको, विदेशी निवेश तथा बाह्य पर्यटक आकर्षित हुँदै गएको र समग्रमा आर्थिक वृद्धिदर उकासिएको देखिरहेको छ म्यासेडोनिया। अल्बेनिया अग्रसर हुँदै गएको आर्थिक रूपान्तरणको यस प्रक्रियामा एड्रियाटिक समुद्रले उपलब्ध गराएको आवागमनको सुविधाले पक्कै सघाउ पुर्याएको छ। एड्रियाटिक समुद्रको निकै लामो भागसित सिमाना जोडिएको छ अल्बेनियाको।
यता आफ्नो देशमा भने म्यासेडोनियालीहरू अर्थतन्त्र टाक्सिएको, रोजगार बढ्न नसकेको, वातावरण प्रदूषण बढिरहेको, राजनीतिक नेतृत्व अकर्मण्य तथा भ्रष्टाचारमा लिप्त रहेको र अगाडिको बाटो उज्यालो नभएको महसूस गरिरहेछन्। मुलुकभित्र प्रगतिको सम्भावना नदेखेर विदेश पलायन हुने युवाको संख्या दिनहुँ बढ्दो छ। पहिले पर्यटक गाइड रहिसकेका क्लाइम्बर आंगेल कुर्तेलोभ यस्तै निराशाजनक चित्र खिंच्छन् आफ्नो मुलुकको। उनी भन्छन्, “हाम्रा तन्नेरीहरू बढ्दो संख्यामा देश छाड्दै छन्। देशमा अब सत्तामा रहेर देशलाई लुट्ने ठग र चोर मात्रै बस्ने भए।”
अलेक्जेन्डर जाराप्सियेभ पनि अघोरै बेखुशी प्रकट गर्छन् आफ्नो मुलुकको वर्तमान स्थितिप्रति। मनपर्दी तालले रंग न ढंगका अनेक अट्टालिका र इमारतहरू बनाएर स्कोपे शहरको मौलिक सौन्दर्य नष्ट गरेकामा आक्रोशित छन् उनी र दोष्याउँछन् राज्य सञ्चालनमा बसेकाहरूलाई। भन्छन्, “केवल कमिशन हसुर्नलाई बनाएका हुन् यी नानाभाँतीका संरचनाहरू।”
अनि प्रमाणस्वरूप औंल्याउँछन् भारदार नदीको पश्चिमी किनारमा ठड्याइएका सत्रौं शताब्दीका जस्ता देखिने पालवाला समुद्री जहाजका बडेमानको प्रतिकृतिलाई। रेस्टुराँ र पार्टी प्यालेसका रूपमा चलाइएको थियो होला त्यो ठाउँ, अहिले भने तालाबन्दी अवस्थामा छ। आफ्नो मुलुकमा प्रवेशद्वार र भ्यूटावर निर्माणको राष्ट्रिय लहर चलेको देख्ने म जस्तालाई उनको कुरा बुझ्न गाह्रो पर्दैन। उनको अर्को ठूलो गुनासो वातावरणीय ह्रासलाई रोक्न साटो सरकार टुलुटुलु हेरिरहेकोमा छ।
इको माउन्टेन फिल्म फेस्टिभलका अर्का सहसंस्थापक इगोर तालेभ्सकीको सबभन्दा ठूलो दुखेसो चाहिं युवाको पलायनप्रति छ। यही क्रम जारी रहेमा देशको भविष्य के होला भन्ने चिन्ताले उनलाई सताउँछ।
बाह्र सत्ताइस कुरा गरेर जनभावनालाई भड्काउँदै सत्तामा पुग्ने बज्रस्वाँठ नेताहरूलाई अंग्रेजीमा ‘डेमागग’ भन्छन् र यस्तै डेमागगहरू चुनावबाट सरकारमा पुगिरहेका छन् अचेलभरि जताततै। चुनाव के जिते उनीहरू आफूलाई ईश्वरीय अधिकारप्राप्त शासक ठान्न पुग्छन् जनतालाई दिएको वचन र देशको भलाइप्रतिको आफ्नो कर्तव्यलाई बिर्सेर। अचेलभरि त्यस्तै भङ्जाहाहरूको बोलवाला छ र म्यासेडोनिया पनि अभिशप्त रहेको बुझ्छु यस्तै प्रवृत्तिबाट आंगेल, अलेक्जेन्डर र इगोरका अभिव्यक्तिबाट। तिनका भनाइ सुन्दा उनीहरू नेपालकै वास्तविकता आफ्नो देशमा प्रत्यारोपित गरेर बोलिरहेछन् जस्तो अनुभूत हुन्छ मलाई।
एक सदस्यका रूपमा यूरोपियन युनियनको बृहत्तर अर्थतन्त्रको हिस्सा बनेर केही भरथेग प्राप्त गर्ने म्यासेडोनियाको चाहना पहिलेदेखिकै हो। यूरोपियन युनियनको सदस्य नहुँदानहुँदै पनि सेंगेन भिसाप्रणालीलाई यसले स्वीकारेबाट पनि युनियनको सदस्य हुने उसको उत्कट चाहनाको मात्रा झल्किन्छ। सेंगेन भिसा हुने विदेशी आगन्तुकले म्यासेडोनियामा सजिलै प्रवेश गर्न पाउँछ। तर यूरोपियन युनियनको सदस्य बन्ने म्यासेडोनियाको यो चाहना केवल चाहनामा सीमित रहँदै आएको छ मूलत: दुई बलिया छिमेकी ग्रीस र बुल्गेरियाले खडा गरेका अड्चनका कारण।
बरु अस्ति भर्खर जन्मिएको कोसोभो यूरोपियन युनियनको सदस्यता प्राप्त गर्ने सँघारमा उभिएको छ। तर म्यासेडोनियाको अवसर भने पर धकेलिएको धकेलिएकै छ। ‘नेटो’को सदस्यता चाहिं दुई वर्षअघि नै पाइसकेको छ म्यासेडोनियाले। त्यस तथ्यले पनि यूरोपेली युनियनको सदस्य हुने उसको सम्भावनालाई नजिक ल्याउन सकेको छैन।
म्यासेडोनिया यूरोपियन युनियनमा घुस्ने कुराको शुरूदेखि नै विरोध गर्नेमा थियो ग्रीस। म्यासेडोनिया पैदा भएदेखि नै ग्रीसको आपत्ति त्यस नवजात राष्ट्रले अँगालेको नामसित त छँदै थियो, त्यस बाहेक झन्डाप्रति पनि थियो उसको आपत्ति। माझमा गोलो सूर्य र त्यसका बाहिरतिर तिखारिएर गएका सुनौलो रङका सोह्र वटा किरणयुक्त झन्डा रोजेको थियो म्यासेडोनियाले।
त्यसमा अलेक्जेन्डर महान्को झन्डाको आकृति प्रतिविम्बित भएको पायो ग्रीसले र त्यसप्रति विरोध जनायो। केही सीप नलागेर आखिर म्यासेडोनियाले रातो भुइँमा केन्द्र भागबाट बाहिरतर्फ चौडा हुँदै गएका सुनौला रङका आठ वटा किरणयुक्त झन्डा रोज्यो, जो झट्ट हेर्दा ब्रह्मकुमारी राज योगको पताका जस्तो देखिन्छ। हरेक देशको झन्डाले केही न केही अर्थ र संकेत बोकेको हुन्छ।
के छ त म्यासेडोनियाले रोजेको अहिलेको झन्डाको अर्थ? यस झन्डाले कुनै गहिरो अर्थ नबोकेको र केवल ग्रीसको आक्रोशलाई शान्त पार्न यो रोजिएको स्लोबोदान कोलोस्की मलाई बताउँछन्।
स्लोबोदानलाई संयोगात् भेट्न पुगेको हुन्छु म। म्यासेडोनियामा आयोजित इको माउन्टेन फिल्म फेस्टिभलमा भाग लिन आएको म र फिल्म हेर्न आएका उनी फिल्म प्रदर्शनको समयबारे अन्योलमा परेर अगाडिबाटै पुगेका हुन्छौं खालि हलमा। हाइ हेल्लोपछि थाहा हुन्छ उनी नेपाल पटक पटक आइसकेको र नेपालको चिन्मोय केन्द्रसित उनी जोडिएको कुरा। चिन्मोय केन्द्रबाट आफूले ‘सक्षम’ उपनाम प्राप्त गरेको उनी मलाई बताउँछन्।
राम्रो अंग्रेजी बोल्ने देशदेशावर चहारिसकेका आध्यात्मिक झुकावका स्लोबोदानमा गहिरो बौद्धिकता लुकेको म पाउँछु। फिल्म फेस्टिभलको दौरानमा म पटक पटक उनीसित ठोक्किन पुग्छु र प्रत्येक भेटमा उनी समक्ष केही न केही जिज्ञासा राख्ने मौका छोप्छु मूलत: उनको देशको वर्तमानबारे।
स्लोबोदान फरासिला मात्र नभई निकै जानकार व्यक्ति निस्कन्छन्। उनीबाट प्राप्त जानकारीबाट धेरै कुरा थाहा लाग्छ। जस्तो- म्यासेडोनियाले ग्रीसलाई रिझाउनुपर्ने कारणकै कुरा गरौं न। उनका अनुसार सम्पूर्ण सदस्यहरूको सम्मति नभएसम्म नयाँ आवेदनकर्ताले युनियनको सदस्यता नपाउने नियम रहेको छ। ग्रीसले नै एक न एक बिंगा लगाएर म्यासेडोनियालाई यूरोपेली युनियनको सदस्य बन्नबाट रोकिरहेको थियो। कहिले मुलुकको नामउपर, कहिले झन्डाको आकृतिउपर र कहिले अलेक्जेन्डर महान्सित सम्बन्ध देखाउन म्यासेडोनियाले गरेको प्रयासउपर आपत्ति जनाएर।
नाम र झन्डाका अतिरिक्त म्यासेडोनियाले अलेक्जेन्डर महान्को माथि उल्लिखित शालिक निर्माण गरेकोमा पनि ग्रीस बेखुशी थियो। बेखुशी मात्र होइन क्रुद्ध नै थियो। त्यसैकारणले सन् २०११ मा बनेर तयार भएको त्यस शालिकले नाम पाएन, बेनाम रहनुपर्यो र अहिले पनि बेनाम नै खडा छ। शालिकलाई बेनाम राखेर म्यासेडोनियाले ग्रीसको अहम् तुष्टि गरिदिन खोजेको छ यूरोपेली युनियनको सदस्यता प्राप्त गर्ने मार्गमा कुनै रोडा नआओस् भन्ने मनसायले।
अब ग्रीसको आपत्ति लगभग सकिएको छ। तर त्यस मार्गमा अहिले बुल्गेरिया उभिएको छ जो म्यासेडोनियाको पूर्वतर्फको अर्को बलियो सँधियार हो।
बुल्गेरियाको आपत्ति छ म्यासेडोनियाले आफ्नो संविधानमा म्यासेडोनियन भाषालाई राष्ट्रिय भाषा भनेर राखेकोमा। बुल्गेरिया भन्छ- म्यासेडोनियन भन्ने कुनै भाषा छैन, तिमीहरूले बोल्ने भाषा त बुल्गेरियन हो। जबसम्म संविधान परिवर्तन गरेर म्यासेडोनियनको ठाउँमा बुल्गेरियन भाषा राख्दैनौ तबसम्म तिमीहरूले यूरोपेली युनियनको सदस्यता पाउँदैनौं। हुन त स्लाभिक भाषा परिवारमा पर्ने भएकाले म्यासेडोनियन र बुल्गेरियन भाषाबीच निकै समानता पाइन्छन् र दुवै भाषा सिरिलिक लिपिमा आधारित छन् जुन लिपिमा रूसी भाषा पनि लेखिन्छ। त्यति हुँदाहुँदै पनि आफ्नो भाषाको अलग्गै अस्तित्त्व भएकोमा गर्व गर्छन् म्यासेडोनियाली।
बाहिरी देशका मानिस अंग्रेजी हिज्जे पछ्याउँदै म्यासेडोनिया र स्कोपे भन्छन्, तर उनीहरू आफ्नो देशलाई म्याकेडोनिया र राजधानीलाई स्कोपिया भन्छन्। शायद यो पनि उनीहरूको मौलिक विशेषताको प्रतीक हो। त्यति मात्र होइन सिरिलिक लिपिको आविष्कृति नै म्यासेडोनियामा भएको दाबी छ उनीहरूको। संविधान परिवर्तन गरेर बुल्गेरियन भाषालाई राजभाषा बनाउने कुरा उनीहरू कल्पना पनि गर्न सक्दैनन् हाललाई।
‘हाललाई’ भन्छन् स्लोबोदान। किनभने भविष्यमा के होला भन्न सकिंदैन र राजनीति भन्ने त झनै अनिश्चित खेलको नाम हो। यही मौकामा म उनलाई आंगेलको हवाला दिंदै सोध्छु, “के उसो भए म्यासेडोनियाको अस्तित्व निकट भविष्यमै नामेट हुन्छ त?”
आधा दिन सँगै स्कोपे शहर घुम्दा आंगेलले मलाई भनेका थिए, “म्यासेडोनियाको अस्तित्व छिटै समाप्त भएमा आश्चर्य मान्नु पर्दैन।”
मलाई भने आश्चर्य लागेको थियो उनका कुरा सुनेर। आंगेलको त्यो अभिव्यक्ति सम्भवत: उनको नैराश्यको परकाष्ठा थियो।
मेरो प्रश्नबाट उद्वेलित नभई स्लोबोदान शान्तपूर्वक भन्छन्, “त्यस्ता विचार राख्नेहरू अचेल निकै छन् र त्यो असम्भव कुरा होइन। हाम्रो देश जमिसकेको छैन। थलथले अवस्थामा छ। सबैथरी हामीलाई टिकेको होइन मिटेको हेर्न चाहन्छन्। हामीलाई टिकिखान निकै गाह्रो छ। हाम्रो टिक्ने मनोबल खस्कँदै गएको छ।”
हुन पनि स्लोबोदानले भने झैं निकै कठिन दौरबाट गुज्रिरहेको छ आजको म्यासेडोनिया। पाइला पाइलामा जोखिम छ। हरेक पाइलामा सन्तुलन र दृढ संकल्पको खाँचो छ, जुन कुराको अभाव देखिएको छ। जनसंख्याको ३० प्रतिशत अल्बेनियालीको छ। बाँकी ७० प्रतिशत अर्थोडक्स क्रिश्चियनको छ। इस्लाम धर्म मान्ने अल्बेनियालीहरू भाषा पनि आफ्नै बोल्छन्। म्यासेडोनियाका दुई वटा राजभाषामध्ये एउटा हो अल्बेनियाली भाषा। उता आर्थिक रूपमा अल्बेनिया जति बलियो हुँदै जान्छ उसले उति नै म्यासेडोनियालाई अँचेट्न खोज्नेछ। बोस्निया हर्जगोभिना र कोसोभोले देखाइसकेका छन् जातीय संग्रालोको भयावह परिणाम।
“छिमेकीहरूको निरन्तर दबाब त यसले यसै पनि बेहोर्न परिरहेकै छ। म्यासेडोनियाका हरेक कुरामा गिजोल्ने छुच्चो प्रवृत्ति उनीहरूको छ,” स्लोबोदान भन्छन्। संविधान घोषणा हुन नदिन र बनिसकेको संविधान बदल्न ठाडै आदेश दिने र त्यसो नगरेकोमा नाकाबन्दी लगाउने छिमेकी भएको देशको नागरिकलाई उनको पीर बुझ्न गाह्रो पर्दैन।
नागरिकको गाँस, वास र कपासको न्यूनतम आवश्यकता पूरा गरिदिने कम्युनिस्ट प्रणालीको युगोस्लाभियाको सुखद याद बोक्नेहरूको तप्का पनि निकै ठूलै छ, खासगरी उमेरले ५-६ दशक पार गरिसकेको पुस्ताका। उनीहरूको असन्तुष्टि आफ्नै ठाउँमा छ। सरकार चलाउनेहरूको निकम्मापन र भ्रष्टाचारले गर्दा परिस्थिति नाजुक बन्दै गएको बताउँछन् स्लोबोदान।
अब म उनलाई पुन: प्रश्न गर्छु, “उसो भए तपाईंहरूले स्वतन्त्रताको बाटो किन रोज्नुभयो?”
उनी भन्छन्, “हामीले बाध्य भएर स्वतन्त्रताको घोषणा गर्नुपरेको हो, रहरले होइन। त्यसो नगरेमा हामी कसैको पुच्छर मात्र रहने थियौं। कम से कम स्वतन्त्र राष्ट्रको हैसियतले हामीले तीस वर्ष त काटिसक्यौं। हेर्दै जाऔं कतिसम्म बाँच्न सक्छौं।”
त्यसो भन्दा स्लोबोदानका आँखामा एक किसिमको असहाय भाव झल्किरहेको पाउँछु। अस्तित्वको संकटसित जुध्नुपरिरहेको आफ्नो मुलुकको आजको नियतिलाई स्विकार्दै मानो तिनले भनिरहेका छन्, ‘के पो गर्न सकिन्छ र!’