कीर्तिपुर वर्न सेन्टरलाई अमेरिकाबाट एक करोड ३० लाख सहयोग
काठमाडौंको कीर्तिपुरस्थित नेपाल क्लिफ एन्ड वर्न सेन्टरलाई अमेरिका-नेपाल मेडिकल फाउन्डेशनले एक करोड ३० लाख रुपैयाँ सहयोग गरेको छ।
देशकै जलनको एक मात्र अस्पतालको सघन उपचार कक्षमा आवश्यक उपकरण खरीदका लागि सहयोग गरिएको फाउन्डेशनका पूर्व अध्यक्ष डा. सन्तोष सापकोटाले बताए। नेपाल सरकारको समाज कल्याण परिषद् मार्फत वैशाख १२ मा सहयोग पठाइएको डा. सापकोटाले जानकारी दिए।
एक वर्षअघि फाउन्डेशनको वार्षिक साधारण सभाले सहयोग संकलन गर्ने निर्णय गरेको थियो। त्यसकै आधारमा सहयोग संकलन गरिएको उनले बताए।
नेपालमा जलनबाट निम्न र मध्यम आय भएका परिवारका सदस्य बढी पीडित हुने गरेको उपचारमा संलग्न चिकित्सक बताउँछन्। एक तथ्यांक अनुसार नेपालमा वार्षिक करीब ६० हजार मानिस जलनबाट घाइते हुने गरेका छन्। त्यसमध्ये दुई हजारको ज्यान जाने गरेको छ। यसबाट मृत्यु हुने प्रमुख कारणहरूमध्ये ढिलो अस्पताल पुर्याउनु, अस्पतालमा उपकरण र दक्ष चिकित्सक नहुनु रहेको चिकित्सक बताउँछन्।
शरीरको ४० प्रतिशतसम्म भाग जलेको व्यक्तिलाई बचाउन कठिन हुने डा. सापकोटाले बताए। विश्वमा हरेक वर्ष सरदर एक करोड १० लाख मानिस जलनबाट पीडित हुने गरेका छन्। त्यसमध्ये करीब तीन लाख जनाको ज्यान जाने गरेको अमेरिकाको न्याशनल लाइब्रेरी अफ मेडिसिनले जनाएको छ।