वाइवाइ चाउचाउ न्यून गुणस्तरको भेटिएपछि दुई लाख जरिवाना
वाइवाइ चाउचाउ न्यून गुणस्तरको भेटिएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रूपलाई दुई लाख रुपैयाँ जरिवाना गराएको छ।
सुकेधारामा रहेको एसके इन्टरप्राइजेजले बजारमा वितरण गरेको २०८० मा उत्पादन भएको ब्याच नं. ६० ‘जीएमआरएस २०-एएल/वाईएल२३, चाई’ को चाउचाउ न्यून गुणस्तरको भेटिएको हो। यो ब्याचको चाउचाउ बनाउँदा प्रयोग गरिएको तेल न्यून गुणस्तरको रहेको महानगरले जनाएको छ।
काठमाडौं महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झा वाइवाइ चाउचाउको प्याकेट खोल्दा ढुसी परेको भेटिएको थियो। त्यसपछि सोही ब्याचका अन्य चाउचाउ बजारबाट ल्याएर प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहीन पाइएको डा. झाले बताए। “चाउचाउ बनाउनका लागि प्रयोग गर्ने तेल नै गुणस्तरहीन रहेको भेटिएको छ,” डा. झाले भने, “त्यसपछि हामीले जरिवाना तोकेका हौं।”
महानगरले अब अन्य कम्पनीका चाउचाउ र वाइवाइको अरू ब्याचको चाउचाउको पनि प्रयोगशालामा परीक्षण गर्ने जनाएको छ। “अहिले उजुरीका आधारमा हामीले वाइवाइको गुणस्तर जाँच गरेका हौं, अब हामी सबै किसिमका खाद्य सामग्रीको जाँच गर्दै जानेछौं,” डा. झाले भने।