क्षयरोग निवारणमा राज्यकै बेवास्ता बाधक
बर्सेनि १७ हजारको ज्यान लिइरहेको क्षयरोग सस्तोमै सहज ढंगले उन्मूलन हुन सक्छ, तर पनि राज्यको प्राथमिकतामा छैन, किनभने यो गरीबलाई लाग्ने रोग हो।
विराट नेपाल मेडिकल ट्रस्ट (बीएनएमटी)ले दुई वर्षयता चितवन र प्यूठानमा गरेको नमूना अध्ययनमा सहभागी एक हजार १७३ जनामध्ये एक हजार १२७ जनामा क्षयरोगका कीटाणु पाइयो। अर्थात् यतिको संख्यामा जम्मा ४६ जना कीटाणुमुक्त थिए।
यो परीक्षण ‘ट्युबरक्युलिन स्किन टेस्ट’ (शरीरमा क्षयरोगका कीटाणु भए/नभएको जाँच गर्ने परीक्षण जसलाई म्यान्टक्स टेस्ट पनि भनिन्छ) मार्फत गरिएको थियो। ती नमूनामा दोहोर्याएर म्यान्टक्स टेस्ट सहित छातीको एक्सरे गर्दा ५०९ जनालाई लुप्त खालको क्षयरोग नै भइसकेको पत्ता लाग्यो।
अनुसन्धाताहरू यसबाट भन्दा बढी चकित अर्को कुराले भए- अध्ययनमा सहभागीमध्ये कीटाणु देखिएका ९५ प्रतिशत मानिस उपचारमा जान तयार थिए। किनकि यसअघि देशकै अन्य भागमा गरिएका अध्ययनमा सहभागीहरू परीक्षणमा कीटाणु पाइए पनि लक्षण नदेखिएको बहानामा उपचारबाट तर्किन्थे।
“अध्ययनमा सहभागी चितवन र प्यूठानका मानिस बिरामी थिएनन्, शरीरमा क्षयरोगको ब्याक्टेरिया पाइएको मात्रै थियो, तर उनीहरू रोकथामको औषधि लिन किन तयार थिए भने, क्षयरोगले तिनका नातागोताका मानिस मरेका रहेछन्,” बीएनएमटीका चिकित्सक बुद्ध बस्नेत भन्छन्।
बीएनएमटीले अहिले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रसँग मिलेर नवलपरासी र रुपन्देहीमा अध्ययन विस्तार गरेको छ। जनघनत्व धेरै भएका तराईका जिल्लामा लुप्त क्षयरोगी पनि बढी भेटिने गरेका छन्।
पछिल्ला दिन नेपालमा प्रत्येक तीनमध्ये एक जनामा क्षयरोगको कीटाणु पाइने गरेको छ। परीक्षणका वेला सुषुप्त देखिएको कीटाणु जुनसुकै वेला पूर्ण संक्रमण गराउने गरी सक्रिय हुन सक्छ। नेपालमा अहिले क्षयरोगबाट वार्षिक १७ हजार जति र दैनिक ४७ जनाले ज्यान गुमाइरहेका छन्। यसबाट खासगरी आर्थिक रूपमा कमजोर वर्ग बढी पिरोलिएको छ।
विश्व स्वास्थ्य संगठनले आउँदो १० वर्षमा विश्वव्यापी रूपमा क्षयरोगका बिरामी ९० प्रतिशतले र क्षयरोगका कारण हुने निधन ९५ प्रतिशतले घटाउने गरी ‘क्षयरोग अन्त्य’ रणनीति अघि सारेको छ। तर लुप्त क्षयरोग भएकाहरू पत्ता लगाई उपचारमा नल्याउँदासम्म यो लक्ष्य पूरा हुन मुश्किल छ।
नेपालमा क्षयरोग नियन्त्रणमा सरकारको चासो खासै देखिंदैन। त्यसैले यसतर्फ पर्याप्त लगानी भएको छैन। जबकि क्षयरोग पूर्णतः रोकथाम गर्न सकिने र उपचार भइहाल्ने रोग हो। अहिलेको हिसाबमा हेर्दा क्षयरोग विरुद्ध वेलैमा गरिने एक डलर लगानीले भविष्यमा ३९ डलर बराबरको परिणाम दिइरहेको हुनेछ। जस्तो- रोग निदानमै लगानी गरिंदा त्यो पछि रोग छिप्पिएर उपचारमा गर्नुपर्ने लगानीभन्दा निकै सस्तो पर्न जान्छ।
अहिले कुल क्षयरोगीमध्ये ४० प्रतिशत दक्षिणएशियामा छन्। यसबाट हुने मृत्युदरमध्ये ३८ प्रतिशत हिस्सा यही भेगमा छ। खासगरी नेपाल-भारत सीमा आसपासका घना बस्तीमा क्षयरोगी बढी छन्। औषधि प्रतिरोधात्मक क्षयरोग (एकभन्दा बढी औषधिले काम नगर्ने)का बिरामीमध्ये पनि एकतिहाइ यहीं छन्।
विगतमा नेपालमा क्षयरोग नियन्त्रणमा प्रत्यक्ष निगरानीमा आधारित विधि (डट्स) सञ्चालनमा थियो। यसबाट हुने उपचार प्रभावकारी समेत देखिएको थियो। तर यसका केही सीमितता थिए। स्वास्थ्य संस्थामै गएर औषधि खानुपर्ने भएकाले बिरामी सकेसम्म जाँदैनथे। समाजले क्षयरोगीप्रति हेयदृष्टि राख्ने हुँदा उनीहरू खुल्न चाहँदैनथे। अस्पताल पुग्दा त्यो जोखिम रहन्थ्यो। यसै कारण लुप्त क्षयरोगका बिरामी पत्ता लगाउनै मुश्किल थियो।
अहिले बीएनएमटीले स्वास्थ्य स्वयंसेवकहरूको बलियो सामुदायिक सञ्जाल बनाई सक्रिय क्षयरोगी पत्ता लगाइरहेछ। यसमा डट्स विधिमा जस्तो बिरामीलाई स्वास्थ्य संस्थामा नियमित आउन बाध्य नपारी बिरामीका परिवार र साथीभाइसँग सम्पर्क स्थापित गरिन्छ। तापनि लुप्त संक्रमण भएकाहरूको खोजी अझै पर्याप्त हुन सकेको छैन।
कुपोषण, एचआईभी जस्ता रोग वा बढ्दो उमेर जस्ता कारणले प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गएपछि लुप्त क्षयरोग सक्रिय हुन सक्छ। वास्तवमा संसारभर क्षयरोगको आधा कारण पोषणको अभाव मानिन्छ।
लुप्त क्षयरोग दुई चरणमा पुष्टि गर्न सकिन्छ- म्यान्टोक्स परीक्षण र छातीको एक्सरे। पुष्टि भएपछि ३ एचपी रोकथाम उपचार विधि शुरू गरिन्छ। यसमा साताको एक पटकका दरले तीन महीनासम्म रिफापेन्टिन र आइसोनियाजिड गरी दुई औषधि दिइन्छ। तब ६ वर्षसम्म पुनः संक्रमण हुन पाउँदैन। तर सक्रिय संक्रमण रहेका बिरामीले ६ महीनासम्म दैनिक रूपमा औषधि नै खानुपर्छ।
“व्यक्तिगत तहमा, घरमा सक्रिय संक्रमित छन् भने पुनः संक्रमणको सम्भावना रहिरहन्छ। तर समुदायमै रोकथाम गर्न सकिए क्षयरोगको दर पनि घट्दै जान्छ, पुनः संक्रमण पनि कम हुँदै जान्छ,” बीएनएमटीकी म्याक्सिन कज व्याख्या गर्छिन्। उनी थप भन्छिन्, “संक्रमणको मुहान नै सफा गर्ने गरी रोकथाम गर्ने हो भने यूरोपमा जस्तै संक्रमणको जोखिम ह्वात्तै घटाउन सकिन्छ। यूरोपमा मानिसहरूलाई क्षयरोग हुँदैन, किनभने त्यहाँ कोही पनि त्यस कीटाणुको सम्पर्कमा पुग्दैन। हामीले ती कीटाणुको मुहान नै हटाइसकेका छौं।”
पहिल्यैदेखि जन्मेको २८ दिनभित्र लगाउने गरिएको बीसीजी खोप बाल्यकालमा हुने मेनिन्जाइटिस क्षयरोग र मिलियरी क्षयरोग विरुद्ध प्रभावकारी छ। तर यसले वयस्क अवस्थामा हुने क्षयरोगबाट जोगाउँदैन।
बीएनएमटीका अनुसार वयस्क अवस्थामा हुने क्षयरोग विरुद्ध पनि खोप विकास गर्न अन्तर्राष्ट्रिय जगत्मा निकै काम भइरहेकै छ। तर कीटाणुको सम्पर्कमा आउनासाथ पर्याप्त प्रतिरक्षा प्रणाली विकास हुन नसक्ने भएकाले यसलाई टुंगोमा पुर्याउन चुनौती देखिएको छ। यस्तोमा नयाँ प्रभावकारी खोप बन्न अझै दशक जति लाग्न सक्छ, तर त्यतिन्जेल एक करोड ३० लाख मानिस क्षयरोगकै कारण मरिसकेका हुनेछन्। “नयाँ खोप नहुँदासम्म रोकथाम र उपचार नै खोप हो,” बस्नेत थप्छन्।
निष्क्रिय अवस्थामा रहेको क्षयरोग एक पटकमा जम्मा पाँच अमेरिकी डलर खर्चमै ठीक पार्न सकिन्छ। त्यसैले नेपालमा तत्काललाई निष्क्रिय क्षयरोगी पत्ता लगाउने र ३ एचपी उपचार विधि अपनाउने रणनीति जरुरी देखिन्छ। तर यो पक्षलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय दुवै तहमा प्राथमिकता दिइएको छैन। कारण उही हो- यसका लागि महँगो अनुसन्धान र हस्तक्षेप चाहिंदैन। अनि बिरामी गरीब छन्।
कज व्याख्या गर्छिन्, “कागजमा त हाम्रोमा नीति निकै कठोर छ, तर सरकारले प्रतिबद्धता गरेको लगानी गरेको छैन। किनभने यसले कोभिडले जसरी धनी मानिससम्मलाई असर पुर्याइरहेको छैन, जति वेला एक वर्षमै खोप विकास गर्न सक्ने गरी सबथोक त्यसैमा लगाइएको थियो।”
(नेपाली टाइम्सबाट गरिएको अनुवाद। अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)