कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्।
प्रदेश सभाको बिहीबार दिउँसो बसेको बैठकबाट कँडेलले विश्वासको मत पाएका हुन्। कँडेलको पक्षमा २३ सांसदले मत दिए। विश्वासको मत प्राप्त गर्न २१ सांसदको समर्थन आवश्यक पर्छ।
उनको विपक्षमा १२ मत पर्यो भने एक सांसद तटस्थ बसे। प्रदेश सभा बैठकमा ३५ सांसद उपस्थित थिए। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदले उनको पक्षमा र नेपाली कांग्रेसका सांसदले विपक्षमा मतदान गरे।
गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका कँडेलले गठबन्धनमा मन्त्रालयको भागबन्डा मिलाएर विश्वासको मत लिएका हुन्। भागबन्डा मिलेपछि बुधबार मात्रै मुख्यमन्त्री कँडेलले नेकपा (माओवादी केन्द्र)का सांसद रणसिंह परियारलाई मन्त्री नियुक्त गरेका थिए।
४० सदस्यीय प्रदेश सभामा माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीका एक सांसद छन्। त्यस्तै, कांग्रेसका १४, राप्रपाका एक र एक जना स्वतन्त्र सांसद छन्।
प्रदेश सभा बैठकमा विश्वासको मत माग्दै कँडेलले प्रश्न नउठ्ने गरी काम गर्ने प्रतिबद्धता जनाए। “मेरो प्रतिबद्धता भनेको कर्णालीलाई समृद्धिको बाटोमा लैजाने नै हो,” उनले भने, “कर्णालीको विकास, समृद्धिको यात्राका सम्बन्धमा विगत ६ वर्षदेखि अहिले पनि तपाईंहरू सँगसँगै मिलेर काम गरिरहेको हुनाले सबै माननीयले विश्वास गर्नुहुनेछ।”