राराको पक्की साइकल लेनले घोडा व्यवसायी चिन्तित
आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएपछि पछिल्लो ६ वर्षमा फस्टाउन थालेको राराको घोडा व्यवसाय पक्की साइकल लेन निर्माणसँगै संकटमा पर्ने व्यवसायीको चिन्ता छ।
मुगुको छायानाथ रारा नगरपालिका-९, मुर्माका ५२ वर्षीय घुँगुरे विक तीन वर्षदेखि रारा ताल घुम्न आउने पर्यटकलाई घोडा चढाउने व्यवसाय गरिरहेका छन्। खेतीपाती गरेर उब्जाएको अन्नबाली बाँदर र गुना (डेढु)बाट जोगाउन मुश्किल हुने, कसैगरी जोगाएको अन्नले पनि ६ महीनाभन्दा बढी नधान्ने भएपछि अतिरिक्त आयका लागि यो व्यवसाय रोजेको विक बताउँछन्।
जुम्लाको कनकासुन्दरी गाउँपालिका-३, सिंजाका २५ वर्षीय दलबहादुर बुढा त यही व्यवसायका लागि तीन वर्षदेखि मुगुको छायानाथ रारा नगरपालिका-८ मा बस्न थालेका छन्। “मेरो परिवार पालिने यही व्यवसायले हो, त्यसैले ध्यान यतैतिर छ,” बुढा भन्छन्।
रारा ताल किनारसम्म सवारीसाधन लैजान पाइँदैन। त्यसैले ताल घुम्न आउने पर्यटक करीब डेढ घण्टा परको मिलिचौरबाट हिंड्नुपर्छ। हिंड्न नसक्ने वा सोखिन पर्यटक घोडा चढ्ने गर्छन्। त्यति मात्र होइन, तालसम्म पुगेका पर्यटक त्यहाँबाट तीन घण्टा परको मुर्मा टपसम्म जान चाहन्छन्। तर ठाडै उकालो पर्ने भएकाले हिंड्न गाह्रो मान्नेहरू घोडा चढ्छन्। पर्यटकको आवश्यकता वा सोख मुगुदेखि जुम्लासम्मका बासिन्दाका निम्ति अतिरिक्त आयको स्रोत बनिआएको छ।
खासगरी दशैंतिहारको बीचमा र चैत-वैशाखमा रारा ताल घुम्न पर्यटक आउने भएकाले यो व्यवसायमा विद्यार्थी पनि संलग्न छन्। तिनैमध्येकी एक हुन्, मुगुको कर्णाली माध्यमिक विद्यालयकी छात्रा पुष्पा रावल। पर्यटक बढी आउने मौसममा विद्यालय बिदा हुने भएकाले आफ्ना पितासँगै रावल पनि घोडा चढाउन रारा पुग्छिन्। “रारामा घोडा चल्यो भने वर्षभरि हाम्रो परिवारको खर्च चल्छ, पढाइ खर्च पनि त्यहींबाट जुट्छ,” उनी भन्छिन्।
मौसमी काम र परिवारको आर्थिक स्रोत भएकाले घोडा हुने र चलाउन जान्ने बालबालिकाले समेत वेलाबखत रारा तालसम्म घोडा चढाउने गरेको देख्न सकिन्छ। तिनैमध्येका एक हुन्, रारा छायानाथ-८, झ्यारीका १२ वर्षीय श्यामबहादुर कामी। नयाँ वर्षको दिन भेटिएका कामी पिताको फुर्सद नभएपछि आफैंले घोडा लिएर आएको बताउँछन्।
“मेरा बाबा वादै (सधैं) घोडा ल्याकन न्या (यता) आउन्छुन्, मो आजमात्तै आयाको हुँ,” स्थानीय लवजमा उनी भन्छन्, “घोडा घर त्यसै राख्नुभन्दा नापानाप (अलिअलि) भया पुनि कुमाई होला भुनि आया हुँ। पुँइसा कुमई भयो भुन्या कापी कलम किन्न पठारो (सजिलो) हुन्छ, घर मीठो मुसिनु खान पाइन्याभयो।”
कर्णाली राजमार्गको निर्माणसँगै यातायात सहज भएपछि रारा ताल आन्तरिक र बाह्य पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ। पर्यटकको संख्या बढ्न थालेपछि ६ वर्षदेखि रारामा घोडा व्यवसाय फस्टाउन थालेको भए पनि इतिहासदेखि नै घोडा कर्णालीको जनजीवनको हिस्सा बनिआएको छ।
“गाडी नपुगुन्जेल गाउँका मुखिया र ठालुको शान र सोख थिए घोडा,” तीन दशकदेखि घोडा व्यवसायमा संलग्न जुम्लाको चन्दननाथ नगरपालिका-८ का ५६ वर्षीय जयकृष्ण धराला भन्छन्, “हिजोआज उस्तो प्रयोग हुँदैनन्। तर गाडी नपुगेका र उच्च हिमाली भेगमा घोडाको महिमा अहिले पनि उस्तै छ।”
धरालाको घोडा व्यवसायको क्षेत्र निकै फैलिएको छ। चीनको खासा र सिमाना आसपासदेखि भारतका बागेश्वर, खराली, गल्दम, पिथौरागढ र नेपालका दाङ, राजापुर, जोल्जी, रुकुम, रोल्पा, डोल्पासम्म उनी घोडा व्यवसाय गर्छन्।
रारा राष्ट्रिय निकुञ्जका कार्यालय प्रमुख राजु घिमिरेका अनुसार घोडचढी व्यवसाय गर्ने व्यवसायीले समिति समेत बनाएका छन्। निकुञ्जमा झ्यारी घोडा व्यवसायी समिति, मुर्मा घोडा व्यवसायी समिति र टोप्ला घोडा व्यवसायी समिति गरी तीन वटा समिति र ती अन्तर्गत ११५ घोडा दर्ता भएको उनी बताउँछन्। घिमिरेका अनुसार दर्ता भएका सबै घोडाचालकलाई निकुञ्जले परिचयपत्र पनि वितरण गरेको छ।
झ्यारी घोडा व्यवसायी समितिका अध्यक्ष तेजबहादुर रावलका अनुसार रारामा व्यवसायका रूपमा घोडा चढाउन थालिएको हो। तर निकुञ्जमा साइकल लेन बनाउने योजनासँगै यो व्यवसाय संकटमा पर्ने हो कि भन्ने चिन्ता लाग्न थालेको रावल बताउँछन्।
कर्णाली प्रदेश सरकारले रारामा साइकल लेन निर्माण गर्न दुई चरणमा बजेट छुट्याई काम शुरू गरेको छ। आर्थिक वर्ष २०७६/७७ को बजेटमा रारा ताल किनारको मिजारादेखि ओखरबोटसम्म एक किलोमिटर लामो साइकल लेन निर्माण गर्ने योजना थियो। यो योजना कार्यान्वयनका लागि आव २०७६/७७ मा पहिलो चरणमा एक किलोमिटर पूर्वाधार निर्माणका लागि शंकल माली जेभी निर्माण कम्पनीसँग दुई करोड ८८ लाख रुपैयाँमा सम्झौता भएको थियो।
सम्झौतापछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले संयुक्त रूपमा २०७७ असोज १ मा साइकल लेन पर्यटकीय पूर्वाधारको शिलान्यास समेत गरेका थिए। तर निर्माण कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार ठेक्का सम्झौता नभएको भन्दै निर्माणमा आलटाल गरेपछि ठेक्का रद्द भएको कर्णाली प्रदेशका पूर्व सांसद दानसिंह परियार बताउँछन्।
कम्पनीसँग सम्झौता रद्द भएपछि खानीथोदुङ क्याराभान जेभी कन्स्ट्रक्सन प्रालिलाई आव २०७९/८० मा आव २०८२/८३ सम्म अघिल्लो योजनाको एक किलोमिटर छोडेर थप १४ किलोमिटर साइकल लेन निर्माणका लागि ४६ करोड ४२ लाख रुपैयाँमा ठेक्का दिइएको जिल्ला वन कार्यालय, मुगुका प्रमुख अमरप्रसाद शाह बताउँछन्। उनका अनुसार पहिले प्रस्तावित साइकल लेनको साढे सात किलोमिटरमा ढुंगा बिछ्याउने काम भएको छ। “पीसीसी गरी ढुंगा बिछ्याउनुपर्ने हो, पुलहरू बन्न बाँकी छन् भने नालाहरूको काम पनि बाँकी नै छ,” शाह भन्छन्।
ढिलाचाँडो पक्की साइकल लेन बन्नेछ। त्यो साइकल लेन अहिले घोडा हिंड्ने बाटोमै बनिरहेको छ। अर्थात्, निर्माणसम्पन्न भएपछि घोडा पनि त्यही पक्की सडकमा हिंड्नुपर्नेछ। त्यसले नै घोडचढी व्यवसायीलाई चिन्तित बनाएको छ। झ्यारी घोडा व्यवसायी समितिका अध्यक्ष तेजबहादुर रावल भन्छन्, “साइकल लेन बनेपछि हामीलाई घोडामा पर्यटकलाई सवार गराउन असहज हुन्छ जस्तो छ। यस्तो भयो भने धेरैको रोजीरोटी धरापमा पर्छ।”
तीन वर्षदेखि रारामा घोडा चढाउँदै आएका दानबहादर विकका अनुसार अहिले नै ढुंगा बिछ्याइएको ठाउँमा घोडा हिंड्न सकिरहेका छैनन्। “साइकल लेन पूरै बनेपछि सिजनमा दैनिक एक हजारदेखि एक हजार २०० सम्म हुन्या कुमई पनि बन्द हुन्छ कि जसो लाग्दोछ,” उनी भन्छन्।
घोडा व्यवसायी धरालाका अनुसार ढुंगा छापेको वा पक्की बाटोमा घोडा हिंड्न सक्दैन। “घोडालाई माटोमै हिंड्न सजिलो हुन्छ, ढुंगा भएको बाटोमा हिंड्दा घोडाको खुर मुनिपट्टि भएको मासुमा घाउ भई पाक्ने र हिंड्न नसक्ने हुन्छ,” उनी भन्छन्, “त्यसैले पिच रोड वा ढुंगा बिछ्याइएको बाटोमा हिंडाउन घोडाको टाप मुनिपट्टि फलामको नाल राख्ने गरिन्छ। मुगु जस्तो हिमाली जिल्लामा त्यस्तो नाल बनाउने मिस्त्री पाइँदैन।”
साइकल लेनले जीविकोपार्जनको उपाय नै खोस्ने चिन्तामा छन्, व्यवसायी। छायानाथ रारा-८ का घोडा व्यवसायी जीवन रावल भन्छन्, “खेतबारीमा लाएको जौ, गहुँ, कोदो, मकैले वर्षभरि खान पुग्दैन, हाम्मातिरका भीरपाखामा धान हुन्नँ। भात खानकै लागि पुनि घोडा नचलाई सुख नाई। साइकल लेन बन्ने भयापछि यो उपाय पुनि सकिजान्या हो कि भुन्ने चिन्ता छ।”
साइकल लेनका कारण व्यवसाय नै संकटमा पर्ने जोखिम बढेपछि घोडा व्यवसायी निराश त भएका छन् नै, रुष्ट पनि छन्। झ्यारी घोडा व्यवसायी समितिका सचिव वीरबहादुर रावल आक्रोश पोख्छन्, “न्यातिर काँइ नदेखिन्या साइकलका लागि भुनी करोडौं रुपैयाँ खुन्याइया छ। यही कारण हामीले लाखौं हाली किनेका घोडा हिंड्न्या गतिलो बाटो समते नपाउन्या भयाँ।”
छायानाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भाम भने साइकल लेन बन्दैमा घोडा व्यवसायी चिन्तित हुनुनपर्ने आश्वासन दिन्छन्। नगरपालिकाले घोडा व्यवसायलाई व्यवस्थित बनाउने नीति लिएको भाम बताउँछन्। “अहिले मिलिचौरसम्म गाडी जान्छ, हामी सल्लेरीसम्म मात्रै गाडी लिन दिने र त्यहाँबाट घोडा चढेर वा हिंडेर जानुपर्ने बनाउँदै छौं,” उनी भन्छन्, “यसले घोडा व्यवसायीलाई राहत हुन्छ।”
रारा तालमा पर्यटकको आकर्षण बढाउन साइकल लेन बनाउनुपर्ने र तालमा डुंगा चलाउनुपर्ने उनको तर्क छ। तर त्यति हुँदैमा घोडा व्यवसायीको काम नखोसिनेमा नगरपालिका सचेत रहेको उनी सुनाउँछन्। “साइकलमा रुचि हुनेले साइकल, डुंगामा रुचि हुनेले डुंगा र घोडा चढ्न चाहनेले घोडा चढ्न पाउनुपर्छ। तर घोडा चलाएर आम्दानी लिइरहेका घोडा व्यवसायीको खाने बाटो रोकिदिन हुँदैन,” मेयर भाम भन्छन्।
रारा निकुञ्ज प्रशासन भने घोडचढीप्रति खासै उदार देखिंदैन। निकुञ्जका कार्यालय प्रमुख राजु घिमिरेका अनुसार घोडाचढी निकुञ्जको कार्यक्रममा पर्दैन। यसरी घोडा चलाउँदा दुई वटा समस्या रहेको उनको तर्क छ। पहिलो, घोडा चढाउँदा अधिकारकर्मीले विरोध गर्छन्। दोस्रो, घोडाको स्वास्थ्यको राम्रो हेरचाह भएको छैन भने उनीहरूबाट जंगली जनावरमा संक्रमण हुने खतरा बढ्छ।
अहिले घोडा व्यवसायीलाई निकुञ्जले आम्दानीका लागि कडाइ नगरेको तर्क गर्दै उनी सुविधाका लागि स्थानीय तह नै गुहार्न सुझाउँछन्। घिमिरे भन्छन्, “निकुञ्जमा घोडा चलाउनेका लागि कुनै सेवा छैन। व्यवसायीले आफ्नो सुविधाका लागि स्थानीय तहलाई गुहार्नुपर्छ।”