यी हुन् किम्फमा छनोट भएका नेपाली चलचित्र र वृत्तचित्रहरू
काठमाडौं इन्टरन्याशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को ‘नेपाल पानोरामा’ अन्तर्गतका कथानक चलचित्र तथा वृत्तचित्रहरू छनोट भएका छन्।
आयोजकले बुधबार छनोट हुन सफल चलचित्र तथा वृत्तचित्रहरूको सूची सार्वजनिक गरेको हो। यस पटक महोत्सवमा नेपालीतर्फ फिक्शन (कथानक) विधा अन्तर्गत १६ लघु चलचित्र तथा डकुमेन्ट्री विधा अन्तर्गत १० वृत्तचित्रहरू छनोट भएका छन्।
छनोट भएका लघु चलचित्रमा निर्देशक अंकित पौडेलको अ बर्ड फेल इन द रेन, सफल पाण्डेको अर्केस्टा, सुरज कटुवालको क्यान आई होल्ड योर ह्यान्ड र विदुषी गिरीको चिसो घर रहेका छन्। यस्तै, प्रद्युम्न मिश्रा निर्देशित द्विविधा, समलकुमार बज्राचार्य निर्देशित हावाम्यान, दिपेन महर्जन निर्देशित लभिङ यू इज माई फेभरेट मिस्टेक, देवेन्द्र खत्री निर्देशित नेपाली फिक्शन, अनिल कुर्मी निर्देशित फेरा, आकांक्षा कार्की निर्देशित सनाइ, प्रभात गुरुङ निर्देशित द मंक एन्ड द रेबेल, मनोजकुमार पन्त निर्देशित द पोप्लार ट्रिज रहेका छन्।
मोहन श्रेष्ठको निर्देशनमा बनेको द स्कूल्स वाल, सरिता साहको निर्देशनमा बनेको थ्रेशहोल्ड, जञ्जित केसीको निर्देशनमा बनेको वाट् द स्प्रिङ सेज र सुनिल गुरुङको निर्देशनमा बनेको ह्विन्डहर्स पनि यो विधामा छनोट भएका छन्।
वृत्तचित्रतर्फ धनराज बर्कोटेको अवशेष, लक्ष्मी बस्नेतको वनकरिया, रमेश खड्काको डान्सिङ इन फायर : खली खाने फायर-वकिङ इन्ड रिजुअल हिलिङ इन द काठमाडौं भ्याली अफ नेपाल, २०२४, शान्ता नेपालीको डाय ड्रिम्स, आकांक्षा जीसी भुजेलको डस्ट टु डिस्क्लोजर छनोट हुन सफल भएका छन्।
यस्तै, यही विधातर्फ एनुमा राईको झर्ना, सचिन घिमिरे र गौवर केसीको म अलप हुन चाहन्छु, निर्वाण भण्डारीको मोटी, दुब्ली, काली गोरी : नेपाली विमेन रिक्लेम देयर बडिज बियोन्ड बाउन्ड्रिज, अनुशा थुलुङ राईको रोङफामु र एलएसएम र सहयोगराज अधिकारीको यात्रा छनोट भएका छन्।
यसैगरी, गैरप्रतिस्पर्धीतर्फ टासी ल्हाजोमको नो मोनास्टरी नो भिलेज छनोट भएको छ।
किम्फमा उत्कृष्ट हुने वृत्तचित्र र कथानक विधामा उत्कृष्ट हुने चलचित्रले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। किम्फको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय गैरप्रतिस्पर्धा र विशेष प्रदर्शन विधाका लागि समेत चलचित्र तथा वृत्तचित्रहरू छनोट भइसकेका छन्। किम्फको २१औं संस्करण आउँदो जेठ १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा आयोजना हुँदै छ।