मनमोहक बीस हजारी ताल
सहज पहुँच, मनोरम दृश्य र भरपूर जैविक विविधता अवलोकन गर्न सकिने बीस हजारी तालमा अत्यावश्यक पूर्वाधारहरूको भने कमी छ।
नवलपरासी पश्चिमकी ३९ वर्षीया शान्ति खड्का थुप्रै पटक बीस हजारी ताल आइसकिन्। तर उनको मन कहिल्यै भरिएन। दिन ढल्किनै लाग्दा पनि उनी दुई छोरा र श्रीमान् सहित ताल आसपासमै भेटिइन्। “कस्तो रमाइलो ठाउँ रहेछ, जति हेरेर घुम्दा पनि मन नअघाउने,” खड्का भन्छिन्, “धेरै पटक आइसकें, जति पटक आए पनि मन भरिंदैन, आऊँ आऊँ लाग्छ, वेलावेला आइरहन्छु, नजिकै पनि छ।”
बागमती प्रदेशको चितवन जिल्लामा अवस्थित यो ताल खड्काले भने जस्तै मनमोहक छ। ताल भरतपुर चौबीसकोठीबाट गोन्द्राङ हुँदै नौ किलोमिटर दक्षिणपूर्वमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र टिकौली जंगलभित्र अवस्थित छ। पूर्वपश्चिम राजमार्गबाटै तालको दिशा देखाउने सूचनापाटी भेटिन्छ। यहाँबाट निजी सवारी वा अटो तथा विद्युतीय रिक्शा लिएर तालमा पुग्न सकिन्छ।
थुप्रै दुर्लभ, संकटाभिमुख र संकटापन्न जीवजन्तुको वासस्थान तथा महत्त्वपूर्ण वनस्पति पाइने भएकाले तिनको संरक्षणका हेतु यो ताल रामसार क्षेत्रमा समेत सूचीकृत छ। ताललाई सन् २००३ को अगस्टमा रामसार क्षेत्र घोषणा गरिएको थियो।
यहाँ कीराफट्यांग्राका ३७ प्रजाति, माछाका २५ प्रजाति, उभयचर र सरीसृपका ३० प्रजाति र स्तनधारीका ३३ प्रजाति पाइन्छन्। चराहरू २७३ प्रजातिका पाइन्छन् जसमा सिमसार आश्रित मात्रै ६० प्रजाति छन् भने विश्वमै दुर्लभ १४ तथा राष्ट्रिय रूपमा दुर्लभ २३ प्रजाति छन्। यस्तै, २६ प्रजातिका वन्यजन्तु र १३१ प्रजातिका वनस्पति पाइन्छन् भने पानीमा उम्रने विभिन्न वनस्पतिका लागि समेत संरक्षण क्षेत्रका रूपमा रहेको छ।
विशेषगरी चारभाइ साल, बेतघारी, पुतली, मगर गोही, घडियाल गोही यहाँका आकर्षण हुन्। जाडो छल्न र बच्चा हुर्काउन आउने साइबेरियन चराहरू समेत यहाँ देख्न पाइन्छ।
तालको पानीको मुख्य स्रोत वर्षा र खगेरी नहर हो। तालको क्षेत्रफल १०० हेक्टर छ। खगेरी खोलाकै बाँधबाट २० हजार फिट टाढा रहेकाले यसको नाम बीस हजारी रहन गएको बताइन्छ।
सरकारले पर्यटन वर्ष २०२० मा घोषणा गरेको १०० पर्यटकीय गन्तव्यको सूचीमा यो ताल पनि परेको थियो। तर कोभिड-१९ का कारण पर्यटन वर्ष उत्साहप्रद हुन सकेन। ताल प्रवर्द्धनका लागि प्रदेश सरकारको चासो भने न्यून छ।
यद्यपि चितवनका होटलहरूले यो ताललाई भ्रमण सूचीमा समावेश गरी ‘प्याकेज’ बनाएका छन्। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र भ्रमण गर्ने करीब ३० प्रतिशत पर्यटकले बीस हजारी ताल अवलोकन गर्ने गरेको ताल संरक्षणमा खटिएका कर्मचारी बताउँछन्।
सुधारको खाँचो
आकर्षक पर्यटकीय गन्तव्य भए पनि यहाँ आवश्यक पूर्वाधार भने छैन। यहाँ जाने पर्यटकहरूले पिउने पानी, खाजा आफैंले बोकेर लैजानुपर्छ। अरू त अरू शौचालयको समेत व्यवस्था छैन। पर्यटकहरू ताल रेखदेखका लागि खटिएका कर्मचारीका लागि निर्माण गरिएको शौचालयमै जान बाध्य छन्।
यस्तै, सार्वजनिक यातायातको सुविधा पनि भरपर्दो छैन। अटो तथा विद्युतीय रिक्शा कति वेला आउँछ भनेर कुर्नुपर्ने बाध्यता छ। फोन गरौं भन्न नेटवर्क टिप्दैन।
वीरगन्जबाट बीस हजारी ताल घुम्न आइपुगेका रञ्जन शाह नियमित सार्वजनिक सवारीको व्यवस्था नहुँदा समस्या भएको बताउँछन्। “यहाँ आइपछि नेटवर्कले पनि खासै काम गर्ने रहेनछ, हिंडेर फर्कन आरक्षको अनुमति छैन। बोलाएको सवारी कुर्दा कुर्दा वनको बीचमा तीन घण्टा सम्म रहँदा तनाव भयो,” उनी भन्छन्।