‘भारत हिन्दू-राष्ट्रवादको भासमा फस्दै गएको छ’
भारतीय-अमेरिकी लेखक एवं पत्रकार फरीद जकारियाले भारत हिन्दू-राष्ट्रवादी भासमा फस्दै गएको बताएका छन्।
राजनीतिक रूपमा भारत झन् झन् असहिष्णु, अनुदार हुँदै गएको कुराले आफूलाई असजिलो पार्ने गरेको जकारियाको भनाइ छ। आर्थिक वृद्धि हासिल गरिरहेको भारतले हिन्दू-राष्ट्रवादी धरापको पनि सामना गरिरहेको उनले बताएका हुन्।
“सन् १९९० को आर्थिक उदारवादले भारतमा ठूला रूपान्तरण भए,” जकारियाले भने, “भारतमा पश्चिमा आधुनिकताभन्दा भिन्न स्थानीय संस्करणको आधुनिकता आएको छ। तर विगत एक दशकयताको कथा धेरै जटिल छ।”
हिन्दू-राष्ट्रवादको उदय यही एक दशकमा भएको र यो सुखद नभएको उनको धारणा छ। आफ्नो नयाँ पुस्तक एज अफ रिभोलुशनबारेको अन्तरसंवादमा बोल्दै जकारियाले यस्तो चिन्ता जनाएका हुन्।
आफ्ना बुबाले आजको भारतको अवस्था देख्न नपरेकोमा उनले सन्तुष्टि व्यक्त गरे। उनका बुबा रफिक जकारिया भारतीय कंग्रेससँग निकट राजनीतिज्ञ तथा मुस्लिम ऐतिहासिक थिए। “बुबाले आफ्नो सम्पूर्ण जीवन धर्मनिरपेक्ष, बहुल र सहनशील समाज निर्माणमा बिताउनुभएको थियो,” उनले भने, “धन्न आजको अवस्था देख्न बुबा हुनुहुन्न।”
अफ्रिकी मूलका बासिन्दाका लागि अमेरिकाले विभेद गर्ने गरेको पनि उनले सुनाए। “अफ्रिकी-अमेरिकीप्रति अति नै कठोर रहेको अमेरिका अरू समुदायका मान्छेका लागि भने उत्तिकै उदार छ,” जकारियाले भने।
उनले आफ्नो पुस्तकबारे क्यानेडेली पत्रकार तथा टिप्पिङ पोइन्ट, आउटलायर्स जस्ता चर्चित पुस्तकका लेखक माल्कोम ग्लाडेलसँग विस्तारमा कुरा गरेका थिए।