‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
‘कुनै पनि विषय मनमा आयो र लेखिएन भने उकुसमुकुस हुन्छ। लेख्दा आत्मसन्तुष्टि मिल्छ।’
सरकारी सेवामा रहेका पुरण राई साहित्य लेखनमा पनि सक्रिय छन्। उनले आप्रवासी नेपाली कवितामा अलंकार विधान विषयमा विद्यावारिधि गरेका छन्। गत फागुनमा उनले एकैसाथ पाँच वटा कृति सार्वजनिक गरे। उनका वसन्त रितु (उपन्यास), अस्तु (कथासंग्रह), लासमाथिको मानवता (नाटक), डरका विम्बहरू (कोभिड डायरी) र आप्रवासी नेपाली कवितामा अलंकार विधान (समालोचना) लोकार्पण गरिएका थिए। यसअघि उनका तीन पुस्तक प्रकाशित छन्। उनै राईसँग हिमालखबरको स्तम्भ किताबका कुराका लागि सागर बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश :
सरकारी सेवामा हुनुहुन्छ। मूल कर्म लेखन नभए पनि किताब लेखिरहन के कुराले प्रेरित गर्छ?
समाज रूपान्तरणका लागि साहित्यले महत्त्वपूर्ण भूमिका खेल्छ। समाजलाई केही न केही योगदान गर्नुपर्छ भन्ने लाग्छ। यस अन्तर्गत म अध्ययन, अनुसन्धान र लेखनमा लागेको छु। आफूलाई मन पर्ने काम गरेर समाज रूपान्तरणमा काम गर्न पाउनु राम्रो पनि हो।
एकै पटक पाँच वटा किताब निकाल्नुभयो। लेखनका लागि समय कसरी मिलाउनुहुन्छ?
सात घण्टा आफ्नो जीविकाको काममा खर्चन्छु। त्यसपछिको समयलाई लेखनमै प्रयोग गर्छु। अफिस आउँदा-जाँदा बाटोमा समेत लेखनकै विषय सोचिरहेको हुन्छु। सोचेका कुरा डायरीमा टिप्ने बानी छ। टिपेका कुरा बेलुका लेख्छु। केही घटना देख्यो भने केही न केही लेख्न सकिन्छ कि भनेर टिपोट गर्छु। आफ्नो अनुभव र अनुभूति पनि डायरीमा लेख्ने बानी छ।
मेरा साथीहरू खासै नभएकाले भेटघाट गर्ने, घुम्ने समय बचत हुन्छ। कार्यालयको समय बाहेक अन्य समय लेखनमै खर्चिरहेको हुन्छु। त्यसैले मैले अलि धेरै लेखिरहेको छु।
मलाई कुनै पनि विषयमा सोच्न अलिकति समय लाग्छ। केही विषय मनमा आएपछि त्यो कसरी लेख्ने भनेर घोत्लिन्छु। कुनै विषयमा एक-दुई दिन घोत्लिंदा नै लेख्न सक्छु भने कुनैमा महीनौं लाग्छ। विषयमा सोच्दासोच्दा एउटा संरचना बनेपछि एकै बसाइमा लेख्न सक्छु। दोस्रो र तेस्रो बसाइमा सम्पादन गर्छु।
संख्यामा धेरै ध्यान दिंदा कृतिको गुणस्तर खस्किन्छ जस्तो लाग्दैन?
संख्यामा ध्यान दिएका कारण नेपाली साहित्यका कतिपय लेखकका पुस्तकहरू कमजोर छन्। मैले फरक विधा र विषयमा लेखेको छु, त्यसैले एकैसाथ धेरै किताब ल्याएकाले गुणस्तर भएन भन्ने नहोला। त्यसमाथि, एकै पटक किताब छापे पनि लेखनमा खर्चिएको समय पाँच-सात वर्ष लामो नै हो। पाँच वटा किताब लेखेको समय फरक फरक छ।
पाँच वटा किताब पाँच-सात वर्ष लगाएर तयार भए पनि एकै पटक छाप्ने हुटहुटी थियो। किनकि पाँचै वटा किताब फरक फरक विधाका छन्। मेरा किताब पढेका पाठकले राम्रै प्रतिक्रिया दिएका छन्। केही पाठकले सम्पादन नपुगेको हो कि भन्ने प्रतिक्रिया दिएका छन्। तर राम्रो गर्न खोज्दाखोज्दै केही कुरा बिग्रिंदा रहेछन्।
किताब छाप्नुअघि सम्पादकलाई देखाउनुपर्छ जस्तो लागेन?
सम्पादन गराउनुपर्छ भन्ने लागेको थियो, तर समय नै भएन। कर्मचारी मान्छे भोलि कहाँ पुगिन्छ भन्ने भर हुँदैन। त्यसैले हतारमै छापें। अन्य काममा लाग्नुपर्ने पनि थियो। पाठकले औंल्याएका कमजोरी सुधार गर्दै लैजान्छु।
आफ्ना किताबमा कमजोरी छन् भन्ने महसूस गर्नुभएको छ?
गरेको छु। कमजोरी हुनु स्वाभाविक पनि हो। हरेक लेखकका किताबमा त्रुटि भेटिन्छन्। एउटा मान्छेले जति नै राम्रो लेख्छु भने पनि अर्कोले हेर्दा त्यसमा त्रुटि भेटिन्छ। किनकि एउटा मान्छेको सोच, विचार र भावनाले लेख्दा धेरै कुरा पुग्दैन।
लेखनलाई मूल कर्म बनाएकाहरू पनि राम्रो रचना गर्न सकिन्न भनेर धेरै विधामा हात हाल्दैनन्। तर तपाईं त कविता, कथा, उपन्यास, समालोचना लगायत बहुविधामा लेखिरहनुभएको छ नि!
यी विभिन्न विधामा मेरो पहिलो कृति भएकाले अभ्यास जस्तै हो। यी किताब बजारमा गएपछि पाठकले कुन विधा मन पराउँछन् भनेर तिनको रुचि बुझ्नेछु। यसले नै अब कुन विधामा प्राथमिकता दिएर लेख्छु भन्ने निर्धारण गर्नेछ।
तपाईंलाई चाहिं कुन विधामा लेख्दा आफ्नो कुरा मजाले अभिव्यक्त गर्न सकें जस्तो लाग्छ?
अहिलेसम्म आख्यान लेख्न सहज लागेको छ। समीक्षकहरूले पनि आख्यान लेखन राम्रो भनेका छन्।
धेरै लेखक समीक्षकको कुरा सुन्दैनन् र आफ्नो कमजोरी स्विकार्दैनन् भनिन्छ। यो मामिलामा तपाईं कति खुला हुनुहुन्छ?
समीक्षकहरूले एउटा कोणबाट तर्क दिन्छन्, त्यसैले मान्नै पर्छ। कथाकारले कथा लेख्छन्, समीक्षकले त्यो कथा कस्तो लेख्यो, कुन सिद्धान्तमा आधारित भएर लेख्यो, यो कारण राम्रो वा नराम्रो भन्छन्। त्यसैले समीक्षकका कुरा सुन्छु। कृतिमा समस्या वा कमजोरी पत्ता लगाइदिंदा लेखकलाई सुधार गर्न मद्दत मिल्छ।
फरक पेशा या क्षेत्रका मानिस नाम कमाउन लेखनमा लागेको पाइन्छ। तपाईं लेखनमा आउनुको उद्देश्य के हो?
कुनै पनि विषय मनमा आयो र लेखिएन भने उकुसमुकुस हुन्छ। लेख्दा आत्मसन्तुष्टि मिल्छ, तर आत्मसन्तुष्टिका लागि मात्रै पनि लेख्दिनँ म। समाज रूपान्तरणमा पनि केही योगदान दिऊँ भनेर लेख्छु।
लेखेर समाज परिवर्तन हुन्छ भन्नेमा विश्वास गर्नुहुन्छ?
राम्रो साहित्यले समाज रूपान्तरणमा सघाउँछ। जस्तो कि, राणाहरूको विरोध गर्दा पनि लेखन एउटा माध्यम थियो। कृष्णराज सुब्बाले मकैको खेती लेखेका थिए। भूपी शेरचनले परिवर्तनकै लागि ‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए’ जस्ता कविता लेखे। राम्रो साहित्यले मानिसको मन छुन्छ र परिवर्तनका लागि झकझक्याउँछ।
तपाईंले विद्यावारिधि शोध गर्दा आप्रवासी नेपाली कविताबारे अध्ययन गर्नुभयो। आप्रवासी नेपालीहरूले कस्तो लेखिरहेका छन्?
मातृभूमिमा आधा जीवन बिताएर गएका आप्रवासी नेपालीले नेपालका बारेमा कविता लेखिरहेका छन्। किनकि धेरै आप्रवासी पहिलो पुस्ताकै छन्। दोस्रो पुस्ताकाहरूले पनि लेख्न थालेका छन्, तर कस्तो छ हेर्न पाएको छैन।
आप्रवासी नेपालीहरूको कविताको विषयवस्तु खासगरी उनीहरूको भोगाइसँग सम्बन्धित छ। यसका साथै देशप्रतिको माया र चिन्ताका कुरा पनि कवितामा आउँछन्। नेपालीभाषी पाठकलाई नै लक्ष्यित गरेर लेख्ने भएकाले अधिकांश कविताको शैली यताका कविको जस्तै छ।
कस्ता किताब पढ्न रुचाउनुहुन्छ?
राष्ट्रवादी र सामाजिक विषयमा लेखिएका रचनाले मलाई बढी छुन्छन्। समाज बुझ्न सघाउने किताब पढ्छु। आफू पनि त्यस्तै लेख्न रुचाउँछु।
अन्त्यमा, लेखनमा अबको योजना के छ?
आख्यान नै लेख्छु भन्ने लागेको छ। यस्तै, आप्रवासी नेपालीको साहित्य, संस्कृति र भोगाइबारे लेख्नु मेरो कर्तव्य हुन आउँछ। नाटक पनि लेख्ने योजना छ।
(सम्पादन : जीवन कार्की, भाषा : प्रद्युम्न खनाल)
किताबका कुराका थप सामग्री :
- ‘हाम्रो राजनीतिले सद्भाव नसिकाउँदा समाजमा असहिष्णुता झाँगिइरहेछ’
- ‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
- ‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
- ‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
- ‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
- ‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
- ‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
- ‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
- “म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
- ‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
- “पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
- ‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
- ‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
- ‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
- ‘प्रेम विनाको यौन अपराध हो’
- ‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
- ‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
- ‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
- ‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
- ‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
- ‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
- ‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
- ‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
- ‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
- ‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
- ‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
- ‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
- ‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
- ‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
- ‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
- २५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
- ‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
- ‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
- ‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
- ‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
- ‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
- ‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
- ‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
- ‘मुन्धुम मानव सभ्यताको इतिहास हो’