वनबाट सल्केको डढेलोले बनायो घरविहीन
डढेलोले जिल्लामा बर्सेनि भौतिक र मानवीय क्षति गराए पनि रोकथाम र न्यूनीकरणको पहल भने शून्यप्रायः छ।
खोटाङको बराहापोखरी गाउँपालिका-१, डान्सिङटारकी गंगामाया मगर ट्र्याक्टर दुर्घटनामा छोरा गुमाउनुको पीडा बिस्तारै भुल्दै थिइन्। गत चैत १७ गते दुर्घटनामा गम्भीर घाइते भएका छोरा मुकेश मगरको उपचारका क्रममा मृत्यु भएको थियो।
तर छोरो गुमाएको चोट निको नहुँदै उनीमाथि अर्को बज्रपात परेको छ। वैशाख १२ गते बुधबार स्थानीय रक्तमाला सामुदायिक वनमा लागेको डढेलो फैलँदै घरसम्म आइपुगेपछि गंगामाया अहिले घरविहीन बनेकी छन्।
गंगामायाका श्रीमान्, छोराबुहारी, छोरी सहित नौ जनाको परिवार पूर्ण रूपमा विस्थापित बनेको स्थानीय नेता भुवन श्रेष्ठले बताए। डढेलोले मगर परिवारका दुई वटा घर र दुई वटा मतान, ४० वटा बाख्रा, आधा तोला सुन, नगद ५० हजार लगायत जलेको प्रहरीले जनाएको छ।
डढेलो गाउँ पस्दा बराहापोखरी गाउँपालिकामा बसोबास नभएका तीन सहित १३ घर, सात वटा मतान, दुई वटा गोठ, एक बाख्रा खोर र एक भान्साघर खरानी भएका छन्।
रक्तमाला सामुदायिक वनमै लागेको डढेलोले भिरगाउँका मोहनलाल थापा मगरका दुई वटा घर र मतान, पूर्णबहादुर मगरका एक घर र तीन मतान, भद्रसिं मगरका घर र दुई वटा गोठ, सुवास थापा मगरका घर र मतान जलेको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए।
रक्तमालाकै डढेलोले भन्ज्याङका बमबहादुर मगरको भान्साघर र बाख्रा खोर जलेको वडाध्यक्ष ढकबहादुर कार्कीले बताए।
यस्तै, केही समयअघि परिवारबाट छुट्टिएर घरजम गरेका खोर्सानेका सुमन मगर पनि ढुसेनी सामुदायिक वनमा लागेको डढेलोले विस्थापित छन्। खोर्सानेकै छकुमार राईको पनि बसोबास नभएको घर खरानी भएको छ। २०७७ वैशाख १ गते श्रीमती मेनुका राईले खुकुरी प्रहार गर्दा छकुमारको मृत्यु भएपछि त्यसयता घर रित्तिएको थियो। घटनापछि सन्तान अन्यत्रै बस्न थालेका छन्।
ढुसेनीमै लागेको डढेलोले गहतेका लेखराज खतिवडा र भिरगाउँका मदन थापा मगरको बसोबास नभएका घर नष्ट भएका छन्।
यस्तै, डाँडाखर्क सामुदायिक वनमा लागेको डढेलोले डाँडाखर्कका होमबहादुर कटवाल र पदमबहादुर कटवालका घर जलेका छन्।
खोटाङमा अहिले दैनिकजसो डढेलो लागिरहेको छ। डढेलो नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम शून्यप्रायः छ भने क्षति रोकथाम तथा न्यूनीकरणबारे कुनै पनि स्थानीय तहले योजना बनाएको छैन।
जिल्ला प्रहरी कार्यालय, खोटाङका अनुसार गत साउनदेखि वैशाखसम्म १०८ वटा आगलागीका घटना हुँदा चार करोड नौ लाख २२ हजार ६०० रुपैयाँ बराबरको क्षति भएको छ। यसबीच ६४ वटा घर र ४६ वटा गोठ जल्नुका साथै १७५ वटा पशुचौपाया र १९५ पक्षी मरेका छन्। डढेलोमा परी एक जनाको मृत्यु भएको छ भने आगलागीमा ६ जना घाइते भएका छन्।
हरमटार मैनचौर सामुदायिक वनमा लागेको डढेलोमा जलेर रावाबेंसी गाउँपालिका-१, कुभिन्डे, हरमटारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको वैशाख १२ गते मृत्यु भएको थियो। बिहान ११ बजेतिर घरबाट हिंडेका श्रेष्ठको शव दिउँसो सामुदायिक वनमा जलेको अवस्थामा फेला परेको थियो।