बझाङमा चार दल बलियाे
सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि बझाङमा हुन लागेको उपनिर्वाचनमा चार प्रमुख दलका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ।
घरदैलोको अभियान सकेका बझाङ १‘क’ का उम्मेदवार मौन अवधि शुरू हुन थालेसँगै आफ्नो मत जोगाउने योजना बुनिरहेका छन्। उनीहरू आफ्ना मत यताउता हुन नदिन तयारीमा लागेको बताउँछन्।
प्रदेश सभा सदस्यका लागि वैशाख १५ मा उपनिर्वाचन हुँदै छ। यसका लागि वैशाख १२ गते राति १२ बजेदेखि मौन अवधि शुरू हुँदै छ। उम्मेदवारले चुनावी प्रचारप्रसारको कार्यक्रम सकेका छन्।
बझाङमा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेपाली जनता दलका अशोक सुनार, न्याशनल रिपब्लिक नेपालका कमल घर्ती मगर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का किशोरकुमार खड्का, नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का खगेन्द्रबहादुर शाही र राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापाले उम्मेदवारी दिएका छन्।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढा, नेकपा (एमाले)का दमनबहादुर भण्डारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंह, जनता समाजवादी पार्टी (जसपा)का रामबहादुर जाग्री र जनमत पार्टीका सुशीलादेवी विष्ट उम्मेदवार छन्।
प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका १२ जनामध्ये चार उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको स्थानीय नेता तथा कार्यकर्ता बताउँछन्। जसमा कांग्रेसका अभिषेकबहादुर सिंह, एमालेका दमनबहादुर भण्डारी, माओवादीका जनकबहादुर बुढा र एकीकृत समाजवादीका दिलबहादुर सिंह छन्।
२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए। दुर्घटनामा परी उनको निधन भएपछि वैशाख १५ गते उपनिर्वाचन हुँदै छ। कांग्रेसले उम्मेदवार बनाएका अभिषेक उनकै छोरा हुन्।
त्यति वेला सिंह १७ हजार ११२ मत पाएर निर्वाचित भएका थिए। उनलाई माओवादी र एकीकृत समाजवादीको पनि समर्थन थियो।
त्यस्तै, निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए। राप्रपा नेपालका कर्णबहादुर खड्काको ४२६ र राप्रपाका हरिलाल भट्टराईको ४०४ मत थियो।
अहिले माओवादी र एकीकृत समाजवादी आफै चुनावी मैदानमा छन्। कांग्रेसको मत सुरक्षित रहेकाले सजिलै जितिने निर्वाचनमा खटिएका नेपाल तरुण दलका केन्द्रीय सदस्य विष्णु एडी बताउँछन्। “सत्ता गठबन्धनमा दल मिलेर लडेको भए गाह्रो हुन्थ्यो, अहिले सबै अलग अलग लडेका छन्, त्यसैले हामी सजिलै जित्छौं,” एडी भन्छन्।
उनी अहिलेको अवस्था हेर्दा एमाले नै प्रतिस्पर्धी रहेको सुनाउँछन्। माओवादी र एकीकृत समाजवादी तेस्रो र चौथो नम्बरमा रहने उनको आकलन छ।
एमालेका उम्मेदवार भण्डारी अहिले पितृशोकमा छन्। तथापि उनले चुनावी अभियान रोकेका छैनन्। सेतो लुगा लगाएरै घरदैलो अभियानमा खटिएका छन्।
तलकोट छबिसपाथीभेरा र साइपाल गाउँपालिकाबाट घरदैलो अभियान गरेर फर्किएका छन्। घरदैलोका क्रममा पाएको मतदाताको मायाले आफू जित्नेमा ढुक्क रहेको उनको भनाइ छ। “मेरो जित सुनिश्चित छ, म आत्तिएको छैन,” भण्डारी भन्छन्, “मेरा बुबाको निधनले गाह्रो हुनु स्वाभाविक हो, तथापि मलाई जिताउन पार्टी लागेको छ।”
अनेरास्ववियुबाट सक्रिय राजनीतिमा लागेका भण्डारी २०५४ सालमा मटेला गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। त्यसयता स्थानीय तहमै सक्रिय उनी अहिले एमालेको जिल्ला अध्यक्ष हुन्। उनी पनि आफूसँग कांग्रेस उम्मेदवारको प्रतिस्पर्धा हुने आकलन गर्छन्।
दुई वटा चुनावमा एमाले र कांग्रेसलाई समर्थन गरेको माओवादी भने अहिले आफ्नै उम्मेदवार लिएर प्रचारमा जुटेको छ। जसले गर्दा पनि कार्यकर्तामा उत्साह देखिएको माओवादी उम्मेदवार बुढा सुनाउँछन्। “अहिले सिंगो पार्टी नै चुनावमा खटिएको छ। आफ्नो उम्मेदवार हुँदा मतदाता, समर्थक र स्थानीय कार्यकर्ता पनि एकदमै खुशी छन्,” उनी भन्छन्।
२०७४ सालको निर्वाचनमा एमालेसँगको गठबन्धन थियो। त्यति वेला माओवादीले एमाले उम्मेदवारलाई सघाएको थियो। २०७९ सालमा कांग्रेससँगको गठबन्धनका कारण माओवादीका उम्मेदवार थिएनन्।
लामो समयदेखि बझाङका जनताकै घरदैलोमा बसेर सेवा गरेकाले यस पटक आफूलाई मत दिने उनको विश्वास छ। “लामो समय जनयुद्ध लडेको, युद्धमा परिवार गुमाएको र घरसम्पत्ति समेत ध्वस्त भएको व्यक्ति हुँ,” बुढा भन्छन्, “शान्ति प्रक्रियापछि म पार्टीका विभिन्न जिम्मेवारीमा रहेर बझाङवासी जनसमुदायको पक्षमा लडेको छु। त्यसैले जनताले जिताउनेमा ढुक्क छु।”
उनी त्रिकोणात्मक प्रतिस्पर्धा हुने आकलन गर्छन्। आफूसँग कांग्रेस र एमाले उम्मेदवारको प्रतिस्पर्धा हुने उनको भनाइ छ।
अर्का प्रतिस्पर्धी हुन्, एकीकृत समाजवादीका दिलबहादुर सिंह। विद्यार्थी राजनीतिबाट आएका उनी पनि लामो समय बझाङको राजनीतिमा सक्रिय नेता हुन्।
२०३८ सालमा बझाङको जयपृथ्वी क्याम्पसमा स्ववियु सभापति भएका उनी २०४९ सालमा जिल्ला उपसभापति बनेका थिए। त्यसपछि २०५४ सालमा पनि उपसभापति बनेका थिए। २०६९ सालमै एमाले जिल्ला अध्यक्ष बनेका उनी पछिल्लो पटक भने माधवकुमार नेपाल निकट भएकाले चुनावमा टिकट पाउन सकेका थिएनन्।
एमाले विभाजित भएपछि एकीकृत समाजवादीमा लागेका उनी जिल्लामा प्रभावशाली नेता मानिन्छन्। लामो समयपछि आफू चुनावी मैदानमा उत्रिएकाले जनताले न्याय गर्ने उनको भनाइ छ। “चुनावी अभियानका क्रममा जनताले मप्रति विश्वास गरेको पाएको छु,” उनी भन्छन्। उनी भने कांग्रेस उम्मेदवारसँग आफ्नो प्रतिस्पर्धा हुने बताउँछन्।
बझाङ १ ‘क’ मा सात वटा स्थानीय तहका ५० वडा छन्। जहाँ ६१ हजार मतदाता छन्।