दुई नेपाली पत्रकारलाई २९ लाख बराबरको पुरस्कार
दुई नेपाली पत्रकारले फेटिसोभ पत्रकारिता पुरस्कार प्राप्त गरेका छन्।
द डिप्लोम्याटमा प्रकाशित नेपालिज फिल द ह्युमन टोल अफ कतार्स वर्ल्ड कप शीर्षकमा प्रकाशित समाचारका लागि रोशन सेढाईं र समिक खरेलले दोस्रो पुस्कार पाएका हुन्। यो स्टोरीले कतारमा सन् २०२२ मा फिफा विश्वकपका लागि स्टेडियम निर्माण गर्ने क्रममा मृत्यु भएका नेपाली कामदारको परिवारको दुर्दशा र कतार सरकारले गरेको बेवास्ता उजागर गरेको थियो।
द कन्ट्रिब्युशन अफ सिभिल राइट्स विधामा खरेल र सेढाईंले दोस्रो पुरस्कार जितेका हुन्। उनीहरूले २० हजार स्वीश फ्र्यांक अर्थात् करीब २९ लाख २१ हजार रुपैयाँ प्राप्त गरेका छन्।
फेटिसोभको पहिलो पुरस्कार अमेरिकाकी पत्रकार एना क्रट्रिन ब्रिगिडाले प्राप्त गरेकी छन्। उनलाई हाउ सर्भिलेन्स टेक हेल्प्ड प्रोटेक्ट पावर-एन्ड द ड्रग ट्रेड-इन हन्डुरस शीर्षकको रिपोर्टिङका लागि पहिलो पुरस्कार दिइएको हो।
त्यस्तै, तेस्रो पुरस्कार भने भेनेजुएलाका पत्रकार क्लाउडिया स्मोलेनेस्की, मारिल्बा नुनेज र कर्मान भिक्टोरिया इन्जोसाले प्राप्त गरेका छन्। उनीहरूले ‘सिरिज टर्चर इज द नेइबर’ शीर्षकको स्टोरी लेखेका थिए।
शान्ति स्थापना, नागरिक अधिकार, अनुसन्धान र वातावरणीय पत्रकारितामा उत्कृष्ट रिपोर्टिङ गर्नेहरूका लागि फेटिसोभ पत्रकारिता पुरस्कारले प्रत्यक वर्ष पाँच लाख २० हजार स्वीश फ्र्यांक अर्थात् करीब रु. सात करोड ५९ लाख धनराशिको पुरस्कार वितरण गर्ने गर्छ।