तस्वीरमा भूकम्पको पीडा
भूकम्पकीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउन फोटो प्रदर्शनी गरिएको छ।
खानी तथा भूगर्भ विभागको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र र संवाहिका समाज नेपालको संयुक्त आयोजनामा फोटो प्रदर्शनी गरिएको हो। खानी तथा भूगर्भ विभाग परिसरमा आयोजित प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रदर्शनीको उद्घाटन गरेका हुन्।
प्रदर्शनीमा २०७२ वैशाख १२ गते गएको शक्तिशाली भूकम्प र २०८० कात्तिक १७ गते गएको जाजरकोट लगायतका भूकम्पबाट भएको क्षति तथा त्यसले जनजीवन र समाजमा पारेको प्रभाव दर्शाउने फोटो राखिएका थियो।
भूकम्पीय विपत् सामान्य हुँदै जाँदा विगतका पीडा बिर्संदै जाने मानवीय स्वभावलाई फोटो प्रदर्शनीमार्फत पुनःस्मरण गराउन र सम्भावित भूकम्पबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनिकरणका लागि सचेत रहने सन्देश दिन फोटो प्रदर्शनी गरिएको भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए। “बनेका संरचना बलिया नुहँदा धेरै हानी नोक्सानी भइरहेको छ,” घिमिरेले भने, “त्यसतर्फ सचेतना फैलाउन यो प्रदर्शनी आयोजना गरिएको हो।”
ग्रामीण क्षेत्रका समुदायमा अझै पनि भूकम्प प्रतिरोधि सचेतना प्रभावकारी रुपमा पुग्न नसकेको बताउँदै केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले विगतलाई नबिर्सिइ आगामी दिनका लागि सचेत रहन प्रेरित गर्न प्रदर्शनी आयोजना गरिएको बताए। “हामीले सधैं सम्भावित भूकम्पबाट हुने मानवीय तथा भौतिक क्षतिको न्यूनीकरणका लागि सचेत हुनुपर्ने खाँचो छ,” अधिकारीले भने, “त्यही भएर प्रदर्शनीको नारा ‘विगतबाट पाठ सिकौँ, भूकम्पप्रति सचेत बनौँ’ भन्ने तय गरिएको हो।”
एक दिने प्रदर्शनीमा ५५ वटा फोटो राखिएका थिए। प्रदर्शनीमा उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थी, विज्ञ तथा सर्वसाधारणले भाग लिएका थिए।