कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
सर्वोच्च अदालतको आदेशपछि नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार सूचना जारी गरेर प्रतिनिधि सभा सदस्य गुरुङको निलम्बन फुकुवा भएको जानकारी दिएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै मनाङबाट निर्वाचित सांसद गुरुङ निलम्बनमा परेका थिए।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गत चैत १६ गते गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको थियो। स्वर्गीय सुशील कोइराला नेतृत्वको सरकारमा गुरुङ श्रम तथा रोजगार राज्यमन्त्री रहेको वेला भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग लागेको थियो।