इलाम २ मा कसको पल्ला भारी?
उपनिर्वाचनको मिति केही दिन मात्र बाँकी रहँदा एमाले र कांग्रेस ‘लालकिल्ला’ जोगाउने र भत्काउने कसरतमा छन् भने अन्य उम्मेदवार यसलाई अवसरमा बदल्ने प्रयासमा छन्।
प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा १९ जना उम्मेदवार चुनावी मैदानमा छन्। यसअघिको नतीजालाई केलाउँदा नेकपा (एमाले) र नेपाली कांग्रेस मात्र प्रतिस्पर्धी देखिन्छन्। तर विगतका गणितलाई मात्र आधार मानेर यस पटकको चुनावको आकलन गर्न नसकिने स्थानीय नेता तथा कार्यकर्ता बताउँछन्।
२०७९ सालको चुनावमा एमालेका सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत पाएर निर्वाचित भएका थिए। निकटतम प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए। त्यति वेला खड्कालाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले सघाएका थिए। तेस्रो हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश सापकोटाको मत एक हजार ३८० थियो।
यस पटक भने चुनावी परिदृश्य फरक देखिन्छ। इलाम २ का थुप्रै गाउँघरमा मतदाता, स्थानीय नेता तथा कार्यकता र बुद्धिजीवीसँग कुराकानी गर्दा चार उम्मेदवार प्रतिस्पर्धामा देखिन्छन्। इलाम सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा साढे दुई दशकदेखि अध्यापन गराउँदै आएका सहप्राध्यापक अरुण नेपाल गत निर्वाचनभन्दा अहिले अवस्था फरक रहेको बताउँछन्। “इलाम २ को परिस्थिति पहिलेभन्दा केही न केही परिवर्तन भएको छ,” सहप्राध्यापक नेपाल भन्छन्, “१९ जनामध्ये चार उम्मेदवारबीच राम्रो प्रतिस्पर्धा हुने देख्छु।”
उनले भनेका चार उम्मेदवार एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बरबहादुर खड्का, रास्वपाका मिलन लिम्बू र कोशी प्रदेश पुन: नामकरणका लागि चलेको आन्दोलनको नेतृत्व गरेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम (लिम्बू) हुन्।
त्यस्तै, लामो समयदेखि इलाममा बसेर रिपोर्टिङ गर्दै आएका पुराना पत्रकार धर्म गौतम पनि सहप्राध्यापक नेपालसँग सहमत छन्। यसअघिका चुनावमा जस्तो एमाले र कांग्रेसबीच मात्रै प्रतिस्पर्धा नहुने गौतमको भनाइ छ। “पुराना ‘भोट ब्यांक’ हेर्दा एमाले र कांग्रेस अगाडि देखिन्छन्,” गौतम सुनाउँछन्, “अहिलेसम्मको अवस्था हेर्दा पहिलो र दोस्रोबीच मात्र प्रतिस्पर्धा देखिंदैन, चार जना उम्मेदवारको प्रतिस्पर्धा हुन्छ।”
एमाले र कांग्रेसका चुनौती
गत चैत २२ मा चुलाचुली गाउँपालिका-३ मा भएको एमाले गाउँपालिकास्तरीय कार्यक्रममा एमाले केन्द्रीय सदस्य समेत रहेका इलाम २ (ख) बाट प्रदेश सभा सदस्य रामबहादुर रानाले उपनिर्वाचनमा एमालेले सहज जित निकाल्ने हिसाब सुनाए। “अघिल्लो निर्वाचनमा बल्लतल्ल जितियो। के कारणले भएको थियो भन्दा गठबन्धनको सम्पूर्ण मत एकपट्टी खन्याएर एमालेको मात्रै मत भएपछि हामी अभर परेका थियौं,” राना थप्छन्, “अहिले त्यो राजनीति परिवर्तन भयो। अब माओवादीलाई आएको पाँच हजार मत पनि हामीतिरै थपिन्छ, हाम्रो २६ हजार छँदै छ।”
नेता रानाले सुनाएको हिसाबमा अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ एमालेले प्राप्त गरेको मत २६ हजार ५६२ हो। त्यसमा माओवादीले समानुपातिकमा पाएको पाँच हजार १५३ मत जोडेका हुन्।
त्यस्तै, समानुपातिकतर्फ कांग्रेसले २२ हजार ३३३ मत पाएको थियो। प्रत्यक्षतर्फ भने कांग्रेसका खड्कालाई माओवादी र एकीकृत समाजवादीले सघाएका थिए। गठबन्धन हुँदा पनि खड्का एमालेका नेम्वाङसँग ११४ मतले पराजित भएका थिए।
यस पटक गठबन्धन उल्टिएको छ। अघिल्लो पटक कांग्रेससँगको गठबन्धनमा रहेको माओवादीले एमालेलाई सघाउँदै छ। त्यस्तै, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र नेपाल परिवार दलको पनि एमालेलाई साथ छ।
गणितीय हिसाबमा केही दलको साथ पाएको एमाले बलियो देखिन्छ। तथापि यस चुनावमा एमालेलाई केही पक्षले असर पार्ने देखिन्छ, प्रदेशको नाम ‘कोशी’ विरुद्धको आन्दोलन, उम्मेदवारको व्यक्तित्व र उम्मेदवार छनोटमा देखिएको पार्टीभित्रको असन्तुष्टि।
कोशी नामकरण गर्दा ऐतिहासिक पहिचानका आधारमा नाम राख्नुपर्ने माग सहित पहिचान पक्षधर आन्दोलित भए। उनीहरूले कोशी नामको पक्षमा मत दिने प्रदेश सभाका ८२ सांसदको सार्वजनिक कार्यक्रममा अवरोध सिर्जना गरे। तर त्यति वेला एमालेले सरकारको नेतृत्व गरेको भएर बढी आलोचना भयो।
एमालेबाट यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि भएका सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुन्थे। एमालेको जितमा उनको व्यक्तित्वले पनि काम गरेको थियो। २०५६ सालमा पहिलो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङले त्यसपछि लगातार जित्दै आएका थिए। लगातार पाँच पटक एमालेले जितेकाले पनि यो क्षेत्रलाई ‘लालकिल्ला’ भनिंदै आएको छ।
बुबाको जस्तो प्रभाव नभए पनि सुहाङको ‘क्रेज’ र उनीप्रति सहानुभूति भने देखिएको छ। युवा उनीसँग सेल्फी लिइरहेका छन्। वृद्धवृद्धाले ‘बुबाको जस्तै चालढाल, अनुहार’ भन्दै प्रशंसा गरेको सुनिन्छ।
प्रबल दाबेदारका रूपमा रहेका सुहाङलाई अन्य केही उम्मेदवार पनि उनकै समुदायका भएकाले चुनौती थपिएको छ। रास्वपाका मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम (लिम्बू) उनकै समुदायका हुन्। त्यस्तै, मंगोल न्याशनल अर्गनाइजेशनका मणिबहादुर लिम्बू, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेकपा (एकीकृत समाजवादी)का जितबहादुर राई आदिवासी जनजाति समुदायकै व्यक्ति हुन्। गत निर्वाचनमा मंगोल न्याशनल अर्गनाइजेशनका उम्मेदवारले एक हजार ३६३ मत पाएका थिए।
अर्कातर्फ, एकीकृत समाजवादीका उम्मेदवार राई विगतमा एमालेकै जिल्ला नेता हुन्। उनको चुनावी प्रचारप्रसारमा पूर्व प्रधानमन्त्री तथा नेता झलनाथ खनाल खटिएका छन्।
यस्तै, माओवादीको मत एमालेलाई जान्छ कि जाँदैन भन्ने कुराले पनि चुनावी गणितमा असर पर्ने देखिएको छ। माओवादीका एक स्थानीय नेता पूरै मत जानेमा शंका गर्छन्। गत निर्वाचनमा माओवादीले समानुपातिकमा पाँच हजार १५३ मत पाएको थियो।
चुनावी अभियानमा घरदैलोमा पुगिरहेका सुहाङ गाउँमै बसेर सेवा गर्ने भन्दै मतदातालाई आश्वस्त पार्न खोजिरहेका छन्। घरदैलोमा जाँदा सबैको आशीर्वाद पाइरहेको उनी सुनाउँछन्। “जनताको सुखदुःखमा समर्पित भएर यस क्षेत्रका बासिन्दाको सेवामा लाग्ने हिसाबले नै अजेन्डा लिएर गएका छौं,” सुहाङ भन्छन्, “सबै जनाले आशीर्वाद दिइराख्नुभएको छ।”
गत निर्वाचनमा गठबन्धन हुँदा पनि एमालेसँग झिनो मतले पराजित कांग्रेसलाई यस पटक पनि जित निकाल्न सजिलो भने छैन। अहिले एमालेलाई तीन दलको समर्थन छ भने कांग्रेस एक्लै चुनावी मैदानमा छ।
अर्कातर्फ, कांग्रेसभित्र वर्षौंदेखि गुटगत राजनीति हुँदै आएको छ। अघिल्लो चुनावमा गुटकै असहयोगले खड्का पराजित भएको कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ता सुनाउँछन्। खड्काले पनि चुनावको नतीजा आएको केही समयपछि भएको पार्टीको कार्यक्रममा केही व्यक्तिको नामै तोकेर असहयोग गरेको गुनासो गरेका थिए।
यस पटक कांग्रेसका नेताहरू ‘एक भएर लडेनौं भने फेरि मौका आउँदैन’ भन्दै चुनावी प्रचारमा जुटिरहेका छन्। एकताको सन्देश दिन सभापति शेरबहादुर देउवा पक्षका खड्कालाई सहयोग गर्न डा. शेखर कोइरालासँगै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि चुनावी प्रचारमा खटिएका छन्। यद्यपि माथिल्लो तहमा एकताको सन्देश दिइए पनि त्यसले तल्लो तहमा असर नगर्ने र निर्वाचनमा गुटको असर पर्ने खड्काइतरका स्थानीय नेता बताउँछन्।
यससँगै निर्माण व्यवसायी पृष्ठभूमिका खड्काको निर्माण कम्पनीले मजदूरलाई ज्याला नदिएको, ठेक्का पाए पनि तोकिएको मितिमा काम पूरा नगरेको आरोप लाग्दै आएको छ। यसले पनि चुनावमा असर पर्न सक्ने देखिन्छ।
कांग्रेस उम्मेदवार खड्का इलामका जनताको दुःखसुखमा साथ दिएको, विकास निर्माणमा काम गरेकाले आफूले जित्ने बताउँछन्। “सुखदुःखमा मैले जहिल्यै साथ दिने गरेको छु। विकास निर्माणमा पनि साथ दिने गरेको छु,” खड्का भन्छन्, “माथि सत्ता गठबन्धन भए पनि इलाममा मनभित्रको गठबन्धन मेरो छ, जनतासँग।”
एमाले र कांग्रेस सांगठनिक रूपमा सँगसँगै मतदातासँगको सम्बन्धका आधारमा बलिया छन्। तथापि अहिलेको अवस्था पहिले जस्तो छैन। प्रदेश नामकरणमा असहमति राख्नेहरू एमाले र कांग्रेससँग असन्तुष्ट देखिन्छन्।
सत्तामा रहेकाले पनि मतदाताको असन्तुष्टि देखिन्छ, ठूला पार्टीसँग। इलाम नगरपालिका-६, पिपलबोटेका मिलन भट्टराई अब आश्वासनमा मात्रै विश्वास नगरिने बताउँछन्। “अलग किसिमको भिजन दिने व्यक्ति चाहिएको छ,” भट्टराई भन्छन्, “यो गर्छु, त्यो गर्छु भन्नेहरू संसद्मा गएर भोलिको भिजन के हो भन्ने देखिएन। अब जसले नयाँ तरीकाले लान खोज्छ, मान्छे त्यसैको पछि लाग्छ।”
ठूलो पार्टीले केही नगरेकाले आफूलाई मत दिनुपर्ने भन्दै स्थानीय बासिन्दालाई विश्वस्त गर्न खोजिरहेका उम्मेदवारमध्ये प्रमुख हुन्, रास्वपाका मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम (लिम्बू)। सांगठनिक रूपमा खासै पकड नभए पनि यी दुवै जनालाई पनि एमाले र कांग्रेसको प्रतिस्पर्धीका रूपमा हेरिएको छ।
रास्वपा नयाँ दल भएकाले इलाममा संगठन बलियो छैन। तथापि रास्वपा उम्मेदवार मिलन लिम्बू पनि प्रतिस्पर्धीका रूपमा देखिएका छन्। पुराना राजनीतिक दलले जनमतको दुरुपयोग गरेकाले नै इलामेली जनताले अहिलेसम्म दुःख भोग्नुपरेको उनी सुनाउँछन्। “हिजो अभिमतको दुरुपयोग गरेर जनतालाई गुमराहमा राख्ने पुराना राजनीतिक दललाई मतदान गरे भने फेरि पनि इलाम तीन दशक पछि पर्नेछ,” रास्वपा उम्मेदवार लिम्बू भन्छन्, “कसैको किल्ला, कसले जित्यो, कसले हार्यो, कसको संगठन बलियो भन्ने कुनै सवाल नै रहँदैन। जनताले गर्ने निर्णय हो। यस पटक इलाममा घण्टी बज्छ। इलामेली जनताले घण्टीमा मतदान गर्नुहुनेछ।”
मिलन ‘योङहाङ’ थरका लिम्बू हुन्। इलाम २ मा योङहाङ लिम्बूको बाक्लो बस्ती छ। यसले पनि चुनावमा केही असर गर्ने स्थानीय नेता बताउँछन्। यद्यपि रास्वपामाथि संघीयता र पहिचान विरोधी पार्टी भएको आरोप छ। यो आरोपले भने उनकै समुदायका भए पनि सबै मत पाउन मुश्किल हुनेछ।
त्यस्तै, चौथो प्रतिस्पर्धी हुन्, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम (लिम्बू)। उनी ‘कोशी’ नामकरण विरुद्ध चलेको आन्दोलनका नेतृत्वकर्तामध्ये एक हुन्। उनी विभिन्न दल र जातीय संस्था रहेको प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिका साझा उम्मेदवारका रूपमा उभिएका छन्।
संघर्ष समितिमा राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नागरिक उन्मुक्ति पार्टी लगायत पार्टी पनि छन्। यी दलहरूले गत निर्वाचनमा उल्लेख्य मत नल्याए पनि यस पटक मिलेर चुनावमा आएकाले मतदातामा त्यसको असर परेको छ।
अर्को, समुदायको मतले पनि लिम्बूलाई फाइदा पुग्ने देखिन्छ। उनको पक्षमा नेपाल आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा लगायत संघसंस्था लागिरहेका छन्। कोशी नामकरण विरुद्धको आन्दोलनमा एमाले, कांग्रेस, माओवादी लगायत दलका कार्यकर्ता तथा समर्थक पनि थिए। उनीहरूले दल नबदले पनि मत बदल्ने लिम्बू बताउँछन्।
यस्तै, धरान उपमहानगरका मेयर हर्क साम्पाङको समर्थन पनि स्वतन्त्र उम्मेदवार लिम्बूलाई छ। साम्पाङ पनि चुनावी प्रचारप्रसारमा खटिएका छन्। अझ लिम्बू त काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)को पनि समर्थन रहेको भन्दै प्रचार गरिरहेका छन्। बालेन र साम्पाङ जस्तै राष्ट्रिय झन्डा ओढेरै घरदैलो गरिरहेका छन्।
स्वतन्त्र उम्मेदवार लिम्बूलाई प्रतिस्पर्धी मान्नुको अर्को कारण ‘माङसेबुङ फ्याक्टर’ पनि हो। माङसेबुङ गाउँपालिका-५, लारुम्बामा बसोबास गर्दै आएका किरात धर्मगुरु आत्मानन्द लिङ्देनका अनुयायीले चुनावमा हारजितको भूमिका खेल्दै आएका छन्। यसैलाई ‘माङसेबुङ फ्याक्टर’ का रूपमा उल्लेख गरिन्छ।
इलाम २ मा धर्मगुरु लिङ्देनका अनुयायी तीन हजार परिवार छन्। जुन उम्मेदवारले धर्मगुरुको ‘आशीर्वाद’ पाउँछन्, ती अनुयायीको मत तिनै उम्मेदवारले पाउने गरेको स्थानीय नेता बताउँछन्।
यसअघि यो मत सुवासचन्द्र नेम्वाङले पाउँदै आएका थिए। त्यसैले यो मत आफूतिर तान्न यस पटक कांग्रेस नेता डा. शेखर कोइराला, रास्वपाका सभापति रवि लामिछाने, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनमत पार्टीका अध्यक्ष सीके राउत धर्मगुरु आत्मानन्दको आश्रम पुगिसकेका छन्। यस पटक धर्मगुरु आत्मानन्दले स्वतन्त्र उम्मेदवार लिम्बूलाई सघाउने आकलन गरिंदै आएको छ। लिम्बू धर्मगुरु आत्मानन्दका चेला तथा किरात धर्मावलम्बीहरूको संस्था किरात धर्म तथा साहित्य उत्थान संघको २० वर्ष अध्यक्ष भइसकेका व्यक्ति हुन्।
यससँगै लिम्बूको मत एकीकृत समाजवादीका राई, जनमतका थाम्सुहाङ र मंगोलका लिम्बूले काट्ने देखिन्छ। एकीकृत समाजवादीका राईले आफ्नो पार्टीले कोशी नामको विपक्षमा मतदान गरेकाले आफू खाँटी पहिचान पक्षधर भएको बताउँदै आएका छन्। त्यस्तै, जनमतका थाम्सुहाङ विगत लामो समय लिम्बुवान वकालत गर्ने दलमा काम गरेकाले आफू पहिचान पक्षधर भएको भन्दै प्रचार गरिरहेका छन्।
भूगोल र मतदाता
इलाम २ मा ६ स्थानीय तहका ४२ वडा पर्छन्। देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङसेबुङ गाउँपालिका र चुलाचुली गाउँपालिकाका पूरै भूगोल समेटिएका छन् भने माई नगरपालिकाका तीन र इलाम नगरपालिकाका ११ वटा वडा यस क्षेत्रमा पर्छन्। देउमाईमा नौ, फाकफोकथुममा सात, चुलाचुलीमा ६ र माङसेबुङमा ६ वटा वडा छन्।
जिल्ला निर्वाचन कार्यालय, इलामको तथ्यांक अनुसार यस क्षेत्रमा पर्ने इलाम नगरपालिकाका ११ वटा वडामा ३४ हजार ४५ मतदाता छन्।
माई नगरपालिकाका तीन वडामा आठ हजार ९६ मतदाता छन्। देउमाईमा २६ हजार ३६५, फाकफोकथुममा १६ हजार ३०२, माङसेबुङमा १२ हजार ५३६ र चुलाचुलीमा १८ हजार ५४५ मतदाता छन्। जसमा पुरुष ५९ हजार १८, महिला ५६ हजार ८६९ र तेस्रोलिंगी दुई गरी जम्मा एक लाख १५ हजार ८८९ मतदाता छन्।
इलाम २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, एकीकृत समाजवादीका जीतबहादुर राई, नेपाल मजदूर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेशनका मणिबहादुर लिम्बू, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार, न्याशनल रिपब्लिक नेपालका धनराज राना गमर र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह उम्मेदवार छन्।
यस्तै, अर्जुनबहादुर शाही, डाकप्रसाद गौतम, दीपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
इलाम उपनिर्वाचनबारे थप रिपोर्ट :