कर्णालीमा माओवादीबाट रणसिंह परियार बने मन्त्री
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुई सातापछि मन्त्रिपरिषद् विस्तार गरेका छन्।
मुख्यमन्त्री कँडेलले नेकपा (माओवादी केन्द्र)बाट रणसिंह परियारलाई मन्त्री बनाएका हुन्। नवनियुक्त मन्त्री परियारलाई बुधबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाएका छन्।
आठ सदस्यीय मन्त्रिपरिषद्मा अहिले एक मन्त्री थपिएका हुन्। नवनियुक्त मन्त्री परियारलाई पनि जिम्मेवारी दिन बाँकी नै छ। उनी कर्णालीमा माओवादी संसदीय दलका प्रमुख सचेतक हुन्।
गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका कँडेलले दुई सातापछि मन्त्रिपरिषद् विस्तार गरेका हुन्। सत्ता साझेदार दलबीच मन्त्रालयको भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन। अहिले भने एमालेले मुख्यमन्त्री सहित चार र माओवादीले चार मन्त्रालय लिने सहमति जुटेको छ।
मुख्यमन्त्री कँडेल बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिंदै छन्। त्यसपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने उनले बताए।