कतारका अमीर नेपाल भ्रमण सकेर फिर्ता
कतारका अमीर शेख तमिम विन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमण सकेर फिर्ता भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार अपराह्न अमीर थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्। उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे लगायत उच्च पदाधिकारी विमानस्थल पुगेका थिए।
कतारका अमीरको बिदाइका अवसरमा नेपाली सेनाको टुकडीले २१ तोपको सलामी सहित सम्मान गारत अर्पण गरेको थियो। उनी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा मंगलबार काठमाडौं आइपुगेका थिए।
कतारका अमीरले त्यही दिन राष्ट्रपति पौडेलसँग राष्ट्रपतिको कार्यालय शीतलनिवासमा भेटवार्ता गरेका थिए। भेटवार्तापछि राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजको आयोजना गरेका थिए।
त्यस्तै, बुधबार प्रधानमन्त्री दाहालले कतारका अमीर थानी सहितको प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका थिए। त्यस क्रममा दुई देशबीच आपसी सहकार्य सम्बन्धी विभिन्न विषयमा समझदारी भएको थियो।
नेपाल र कतारबीच २१ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमीरको यो पहिलो नेपाल भ्रमण हो। नेपालले २१ जुलाई २००० मा दोहामा राजदूतावास स्थापना गरेको थियो। त्यस्तै, कतारले सन् २०११ मा काठमाडौंमा राजदूतावास स्थापना गरेको थियो।