वर्षा नहुँदा सुकेका पतिंगरले बस्ती पुर्याए वनको डढेलो
वैशाखको शुरूआतसँगै सुकेका पतिंगरले बस्तीमा पुर्याएको वनको डढेलोबाट देशका विभिन्न भागमा धनजनको क्षति भइरहेको छ।
गुल्मीको इस्मा गाउँपालिका-२ को सिदुङ्खा र हाँडीगाउँमा शनिबार भएको आगलागीमा १४ घर र २५ वटा गोठ जले। खानेपानीका पाइप र विद्युत्का तार पनि क्षतिग्रस्त भए। सोही दिन अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-३, रातामाटामा २६ घरगोठ जले। १२ परिवार त विस्थापित नै छन्। दुवै घटनामा वनमा लागेको डढेलो बस्तीसम्म आइपुगेको थियो।
गाउँ नजीकको सामुदायिक वनमा लागेको डढेलो हावाहुरीले बस्तीमा ल्याउँदा आगलागी भएको इस्मा-२ का वडाध्यक्ष लोकनाथ आचार्य बताउँछन्। “यति छिटो आगोले टिप्यो कि तत्काल प्रतिकार गर्ने समय नै रहेन। घर ह्वारह्वार्ती जल्न लागे,” उनी भन्छन्।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार मात्र देशभर ७९ ठाउँमा आगलागीका घटना भए। सात जना घाइते भए। सबैभन्दा धेरै डढेलो र आगलागी लुम्बिनी प्रदेशमा देखिएको छ। लुम्बिनीमा ४६ ठाउँमा आगलागी हुँदा ७१ वटा घरगोठ जलेका छन्। ११८ पशुचौपाया मरेका छन्।
जिल्ला प्रहरी कार्यालय, गुल्मीका अनुसार शनिबार १३ ठाउँमा भएको आगलागीबाट ४१ घर र ४८ गोठ जले। ८३ वटा पशुचौपाया मरेका छन। एउटा ट्र्याक्टर, दुई वटा कुटानीपिसानी मिल, एउटा मन्दिर र दुई वटा पसल समेत जलेका छन्। इस्मा-५ र ६ मा खानेपानीका पाइप र बिजुलीका तार जल्दा पानी-बिजुली आपूर्ति हुन सकेको छैन।
वैशाखको पहिलो सातामा मात्र आगलागीमा परी देशभर पाँच जनाले ज्यान गुमाए भने २१ जना घाइते भए। लुम्बिनीपछि बढी क्षति गण्डकी प्रदेशमा भएको छ।
गुल्मीको इस्मा-२ का वडाध्यक्ष आचार्यका अनुसार लामो समयदेखि वर्षा नहुँदा खेतखलियान सुक्दै गएकाले छिटो आगो फैलिएको हो। “पुसदेखि पानी परेको छैन। खेतबारी बाँझिएका छन्। पोथ्रा र बुट्यान सुकेका छन्। तिनैले आगो बस्तीसम्म ल्याउन घ्यूको काम गरे,” आचार्य भन्छन्, “यो समयमा डढेलो लाग्नु नौलो होइन, तर त्यो यसरी बस्तीसम्म आएको यसअघि देखेका थिएनौं।”
जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलका अनुसार अहिले वैशाख-जेठमा नेपालमा बाह्य मौसमी प्रणाली उतिसाह्रो सक्रिय नहुँदा बिहानैदेखि घाम लाग्ने र तातो हावा चल्छ। “बाह्य मौसमी प्रणालीको प्रभाव कम हुँदा मनसुन आउनुअघिको समय अत्यन्त गर्मी हुने, तातो हावा चल्ने हुन्छ,” उनी भन्छिन्, “यो स्थानीय वायुकै प्रभाव हो।”
मौसम पूर्वानुमान शाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले पहाडी भूभागमा स्थानीय वायु माथि जाने र तल रिक्त स्थानमा वरपरको हावा आउने प्रक्रिया तीव्र हुने भएकाले तातो हावाहुरी चल्छ। “उल्लेख्य मौसमी प्रणाली नभएकाले तापक्रम घट्न पाएको छैन,” उनी भन्छन्।
लुम्बिनी प्रदेशमा हिउँदमा वर्षा भएको थिएन। इस्माकै भोजेन्द्र नेपाली भन्छन्, “पानी नपरेपछि हरिया बुट्यान, पोथ्रा बाँकी छैनन्। माटो समेत झुरिलो छ। बस्तीमा मान्छेभन्दा धेरै सुकेका झाडी छन्। वनको डढेलो सजिलै गाउँ छिर्न सक्छ।”
जलवायुविज्ञ ङमिन्द्र दाहाल डढेलोको समस्या परम्परागत भए पनि यसको बढ्दो अवधि र फैलावटले चिन्ता बढाएको बताउँछन्। वनमा थुप्रिएको पातपतिंगरबाट सोही ठाउँमा ‘बायोचार’ उत्पादन गर्ने कार्यले आगलागी नियन्त्रण गर्न सकिने उनको बुझाइ छ। सामाजिक सञ्जाल एक्समा उनी लेख्छन्, ‘आखिर वन र कृषि जोड्ने यो सरल उपाय आगलागी नियन्त्रणको दीर्घ समाधान पनि हो।’