हिमाल मिडिया मेला अर्को साता
हिमालमिडिया प्रालिको आयोजनामा ‘हिमाल मिडिया मेला-२०२४’ अर्को साता ललितपुरमा हुने भएको छ।
आयोजक समितिका अध्यक्ष कुन्द दीक्षितले यसपटक पत्रकारिता जगत्का जल्दाबल्दा विषयमा अन्तरसंवादसँगै मेलामा कार्यशाला पनि हुने बताए। हिमालमिडिया स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा २०७९ सालदेखि मेला आयोजना गर्न थालिएको हो।
विश्व प्रेस स्वतन्त्रता दिवसका दिन वैशाख २१ गते मेला आयोजना हुनेछ। यस वर्ष ‘प्रकृति पत्रकारिता’ लाई केन्द्रमा राखेर अन्तरसंवाद तथा कार्यशाला आयोजना गरिने अध्यक्ष दीक्षितले बताए।
मेलामा माल्दिभ्सका पूर्व राष्ट्रपति मोहमद नासिद जीसीएसकेले मुख्य मन्तव्य राख्नेछन्। पत्रकार, अभियन्ता र राजनीतिक व्यक्तित्व जीसीएसके सन् २००८ देखि २०१२ सम्म माल्दिभ्सको राष्ट्रपति भएका थिए।
त्यस्तै, भारतको डाउन टु अर्थ म्यागेजिनका सम्पादक रिचर्ड महापात्रको विशेष प्रस्तुति रहनेछ। उनले ‘भारतमा प्रभावकारी पत्रकारिता’ विषयमा बोल्नेछन्।
गत वर्ष हिमाल मिडिया मेलाको दोस्रो संस्करणमा भारतको द वायर अनलाइन समाचार पोर्टलका संस्थापक सम्पादक सिद्धार्थ बरदराजनले मुख्य मन्तव्य राखेका थिए। त्यसअघि २०७९ सालमा आयोजित प्रथम संस्करणमा भारतका चर्चित पत्रकार रवीश कुमारले मुख्य मन्तव्य राखेका थिए।
यस वर्ष अन्तरसंवादसँगै कार्यशाला पनि आयोजना गरिने भएको छ। मेलामा सहभागी हुन फारम भर्नुपर्नेछ। यसमा ५०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।
* फारम भर्न नेपाली वा अंग्रेजीमा क्लिक गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क नं. ९८०१९७५२८८