नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर
नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने समझदारीमा बुधबार हस्ताक्षर भएको छ।
कतारका अमीर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा दुवै पक्षबीच समझदारी भएको हो। दुईदिने भ्रमणको दोस्रो दिन नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका तर्फबाट अमीर थानी नेतृत्वको प्रतिनिधिमण्डलले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
यसअघि प्रधानमन्त्री दाहाल र कतारका अमीर थानीबीच भेटवार्ता भएको थियो। वार्ताका क्रममै दुवै देशबीच लगानी र सहकार्यका विषयमा समझदारी भएको हो।
नेपाल र कतारबीच कला, संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकूद, कानूनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारी तथा सहमति भएको छ। कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।
त्यस्तै, युवा तथा खेलकूद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीतिक शिक्षा र तालीम सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सरकारी स्तरमा भएका समझदारीपत्रमा नेपालका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र कतारका तर्फबाट विदेश राज्यमन्त्री सुल्तान विन साद अल मुराइखीले हस्ताक्षर गरेका छन्।
यसैगरी, निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्शबीच पनि लगानी आदानप्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा नेपालका तर्फबाट महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका तर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरेका छन्।