विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमीरलाई राष्ट्रपतिको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमीर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन्।
इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका जोशीको रिहाइ आफूहरूका लागि महत्त्वपूर्ण विषय रहेको बताउँदै राष्ट्रपति पौडेलले रिहाइका लागि कतारका अमीरलाई पहल गरिदिन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति भवन शीतलनिवासमा आज भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उनले यस्तो आग्रह गरेका हुन्। जवाफमा अमीरले यसबारे विगतमा पनि चासो लिएर पहल गरेको र थप पहल गर्ने समेत बताएका थिए।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ नेपाली विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २७ गते इजरायल पुगेका थिए। तर इजरायल-प्यालेस्टाइन युद्धका क्रममा गत असोज २० गते हमासले गरेको हमलामा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन लगायत थुप्रैलाई नियन्त्रणमा लिइएको थियो।