राष्ट्रपति पौडेल र कतारका अमीर अल थानीबीच वातावरणका मुद्दामा छलफल
राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमीर शेख तमिम विन हमाद अल थानीबीच भेटवार्ता भएको छ।
नेपालको दुईदिने राजकीय भ्रमणमा आज अपराह्न काठमाडौं आएका अमीर अल थानीसँग राष्ट्रपति भवन शीतलनिवासमा द्विपक्षीय भेटवार्ता भएको हो। भेटका क्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्ता साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन्।
“आजको विश्वको साझा समस्या भनेकै जलवायु परिवर्तनबाट हाम्रो पृथ्वीलाई कसरी सुरक्षित राख्ने, हाम्रो हिमाललाई कसरी जोगाउने, पानीको स्रोत कसरी बचाउने र वातावरण सन्तुलन कसरी राख्ने भन्ने नै हो, यसमा सबैको सहकार्य हुन जरुरी छ, यो मानव अस्तित्वको विषय छ, विशेषगरी विकसित मुलुकहरू यस विषयमा बढी गम्भीर हुनुपर्छ भन्ने म ठान्दछु,” राष्ट्रपतिको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
उनका अनुसार राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले चिन्तित तुल्याएको पनि बताएका थिए। पौडेलले उक्त क्षेत्रमा युद्धको अन्त्य र शान्तिको पुनःस्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाका लागि खेल्दै आएको भूमिकाको प्रशंसा गरेका थिए।
त्यस्तै, कतारका अमीरले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरण सम्बन्धी सम्झौताहरूको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सबैका लागि सुखद वातावरण तयार हुने बताए। उनले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरू पहिचानका लागि यो भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे। साथै, कतारको विकासमा नेपालीहरूको ठूलो योगदान रहेकोमा प्रशंसा गर्दै आभार प्रकट पनि गरेका थिए।
उनले दुई देशबीच बुधबार हुने समझदारी तथा सम्झौता मार्फत नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटन जस्ता क्षेत्रहरूमा लगानीका नयाँ सम्भावना बढाउन सकिने विश्वास व्यक्त गरे।
त्यस्तै, नेपाल र कतारबीच सदैव सुमधुर सम्बन्ध रहिआएको बताउँदै राष्ट्रपति पौडेलले नेपाल र कतारको सम्बन्ध मित्रता, आपसी सम्मान, विश्वास र सद्भावमा आधारित रहेको बताएका थिए।
दुई देशबीच नियमित रूपमा उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान हुने परम्परा रहिआएको र यो द्विपक्षीय सम्बन्धको विस्तारमा महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक भ्रमणले नेपाल र कतारको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको बताएका थिए। कतारी अमीरले कतारमा नेपाली श्रमिकलाई अझ राम्रो क्षेत्रमा रोजगारी दिने विषयमा योजना बनिरहेको उल्लेख गरे।
राष्ट्रपति पौडेलले राजनीतिक रूपान्तरणका मुद्दाहरू टुंगोमा पुगेसँगै नेपाल अब आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दै विकास र समृद्धि हासिल गर्ने नेपालका प्रयासहरूमा कतारको सहयोग निरन्तर रहने विश्वास पनि व्यक्त गरेका थिए।
दुई देशबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको राम्रो सम्भावना रहेको सन्दर्भमा यी क्षेत्रहरूमा आपसी सहयोग एवं सहकार्य भविष्यमा थप घनीभूत हुनेमा पनि उनले विश्वास व्यक्त गरेका थिए। कतार नेपाली कामदारहरूका लागि वैदेशिक रोजगारीको एक प्रमुख एवं आकर्षक गन्तव्य रहँदै आएको र आधुनिक कतारको विकासमा नेपाली कामदारहरूले पनि उल्लेखनीय योगदान गरेको उनले स्मरण गराएका थिए।
राष्ट्रपति पौडेलले अमीरको दूरदर्शी नेतृत्वमा कतारले गरेको दिगो विकास र समृद्धि देखेर धेरै खुशी लागेको बताउँदै मुलुकलाई एक उच्च विकसित राष्ट्र बनाउने अमीरको दीर्घकालीन सोच र दृढ अठोटको प्रशंसा गरेका थिए।