महिलाले छोएका दाफा खलः
महिलालाई बाजा र देउता छुनसम्म नदिने परम्परागत नेवारी दाफा खलःमध्ये कतिपय अहिले महिलाकै पहलले जोगिएका छन्।
२०१५ सालतिर हो, काठमाडौंको ब्रह्मटोलका न्हुच्छेमान डंगोलको परिवार सामाजिक बहिष्कारमा पर्यो। गुठीबाट बेदखल गरियो। सांगीतिक थलो दाफा खलःबाट समेत निकालियो। कारण थियो- न्हुच्छेमानले छोरीहरूलाई धिमेबाजा बजाउन सिकाउनु।
तैपनि उनले छोरीहरूलाई बाजा सिकाउन छाडेनन्। बरु आफ्नो छुट्टै भजन समूह खोले। छोरीहरूले पहिलो पटक महिला संगठनको वडास्तरीय कार्यक्रममा बाजा बजाए। डंगोल परिवार पुरानो टोलबाट अझै बहिष्कृत नै छ। “यतिसम्म कि बुबाको मृत्यु हुँदा पनि टोलका मान्छे आएनन्,” छोरा न्हुच्छेबहादुर सम्झन्छन्।
यस्तै स्थिति माबु टोलमा पनि देखियो। महिलालाई धार्मिक संगीत सिकाउँदा समाज वैरी बन्यो। “हामीले सिकाएका महिलाले खड्गजात्रामा गाए पनि। तर पछि टोलमा विवाद भएपछि त्यो पहल त्यहीं रोकियो,” माबु टोलका दाफा गुरु पूर्णकाजी डंगोल सुनाउँछन्।
महिलालाई बाजा बजाउन सिकाउँदा यस्तो रोष किन त? कारण एउटै छ- रजस्वला हुने भएकैले महिलालाई अशुद्ध मान्ने पुरुषकेन्द्रित परम्परा। महिलालाई नियमित खालका धार्मिक कार्यहरू सञ्चालन गर्न नदिने प्रवृत्ति दाफा खलःहरूमा पनि व्याप्त रह्यो। धार्मिक प्रयोजनले नै खोलिएका यस्ता खलःहरूले नियमित भजनसँगै चाडपर्व र जात्राहरूमा पनि सांगीतिक भूमिका निर्वाह गर्छन्।
अहिले भने अवस्था फेरिएको छ। दाफा खलःहरूमा महिलालाई लगाइएको बन्देज खुकुलो हुँदै छ। केही अगुवाले थालेको परिवर्तनको पहलसँगै जनस्तरमा बढ्दो शिक्षा, चेतना र खलःहरूको अस्तित्वमै आएको संकटले लैंगिक बार हटाइदिएको हो।
न्हुच्छेमानका छोरा ७९ वर्षीय न्हुच्छेबहादुर बाबुको बिंडो थाम्दै दशकयता गोंगबुका महिलालाई दाफा गीत सिकाइरहेका छन्। महिलाकै सहभागिताले हराउन लागेका कतिपय खलःले पुनर्जीवन समेत पाएका छन्।
कीर्तिपुरका दाफा खलःहरूमा यस्तो परिवर्तन स्पष्ट देखिन थालेको छ। पहिले भजन गाउने पुरुषलाई चिया खुवाउनमै सीमित महिलाहरू आफैं गायनमा अघि सर्दै छन्। तिनैमध्येकी हुन्, यमुना महर्जन।
दुई वर्षयता उनी थाम्बा दाफा खलःमा नियमितजसो भजन गाउँछिन्। यमुना भन्छिन्, “पहिला पहिला सबै ठाउँमा पुरुषले मात्र गाएको देख्थें। त्यसैले यी गीत पुरुषले मात्र गाउने हुन् भन्ने लाग्थ्यो।”
उनका अनुसार केही वर्षअघि थाम्बा टोलमा महिलाले धिमेबाजा बजाउन थालेका थिए। तिनैले भजन गायनमा पनि रुचि देखाउन थाले। दाफाका गुरुहरूले नै तिनलाई सिकाए।
नेवाः समाजमा गाउने/बजाउने काम गर्नुअघि नाट्येश्वर भनिने नासःद्यः देउतालाई ढोग्ने चलन छ। “पहिला केटीहरूले नाट्येश्वरलाई छुनै हुँदैन भन्थे। अहिले त हामी ढोग्छौं नै,” न्हुच्छेबहादुरकी प्रशिक्षार्थी शान्ति प्रजापति भन्छिन्।
तीन दशकयता काठमाडौं उपत्यकामा परम्परागत नेवाः संगीतमा महिलाको प्रवेश बाक्लिएको छ। जस्तो- भक्तपुरको दत्तात्रयमा २०५१ सालमा इन्दिरा लाछिमस्यूले धिमे बाजा बजाउन सिकिन्। अहिले उनी धिमेवादकका रूपमा स्थापित कलाकार हुन्।
त्यस्तै, २० वर्षअघि पाँगाको बालकुमारी दाफा खलःमा बासना डंगोलले गाउन र बजाउन सिकिन्। अहिले त्यो टोलका धेरै महिलाले दाफा गाउन थालेका छन्।
बासनाकै समूहमा बसेर सिकेका व्यक्ति हुन्, रूपेन्द्र महर्जन। प्रशिक्षक थिए, रूपेन्द्रकै बुबा। “परिवर्तन किन नगर्ने भनेर महिलालाई सिकाउन शुरू गरेका हौं। विरोध आउँछ कि भन्ने चिन्ता थियो बुबालाई। तैपनि अघि बढ्यौं,” रूपेन्द्र भन्छन्। उनका अनुसार यस्तै परिवर्तनका लागि उनीहरूले त्यति वेला ‘काठमान्डु २०२०’ युवा अभियान नै सञ्चालन गरेका थिए।
यस्तो परिवर्तनमा औपचारिक शिक्षासँगै रोजगारीका क्षेत्रमा महिलाको प्रवेश, महिलालाई परम्परागत संगीतमा सहभागी गराइएका अन्तर्राष्ट्रिय दृष्टान्तले पनि काम गरेका छन्। “चीनमा सानैदेखि बालिकालाई संगीत सिकाइँदो रहेछ। त्यहाँ सयौं बालिकाले एकसाथ भायलिन बजाएको देखें। विद्या भण्डारी राष्ट्रपति हुन सक्छिन् भने हाम्रा महर्जन महिला संगीतज्ञ हुन किन सक्दैनन्?,” न्हुच्छेबहादुर भन्छन्।
अशुद्धतासँग जोडेर महिलालाई धार्मिक कार्यक्रममा सहभागी नगराइने मान्यतामा वैज्ञानिक कारण नरहेको बुझेपछि युवा त्यसलाई परिवर्तन गर्न अघि सरेको रूपेन्द्र बताउँछन्। “महिलालाई भजन गाउन नदिइनुमा वैज्ञानिक कारण नभई आस्थाको कुरा रहेछ,” उनी भन्छन्, “महिलाले गाउने वातावरण बनाउन त्यो आस्था नै परिवर्तन गर्नुपर्थ्यो, जुन बिस्तारै परिवर्तन हुँदै छ।”
दाफा खलःहरूमा महिला प्रवेश सहज हुनुको एउटा कारण यसमा पुरुषको सहभागिता र रुचि कम हुँदै जानु पनि हो। सम्बद्ध टोलका पुरुष मात्र संलग्न हुन पाउने दाफाहरूमध्ये कतिपय सदस्य घटेर बन्द हुने स्थितिमा छन्। “दाफा खलःहरूमा पुराना गीत गाउने मान्छे नै छैनन्। मनमैजुका युवाले लौन बा, हाम्रोमा मान्छे भएनन्, महिलालाई सिकाउनुपर्यो भनेपछि मैले सिकाउन थालेको हुँ,” न्हुच्छेबहादुर भन्छन्।
कीर्तिपुरकै तःननि दाफा खलः गाउने-बजाउने मानिस नहुँदा करीब तीन दशकदेखि बन्द जस्तै थियो। नयाँ पुस्तालाई तालीम नदिएकै २५-२६ वर्ष भइसकेको थियो। अहिले महिलाले नै त्यसलाई ब्युँताएका छन्। तीन वर्षअघि ‘फोकलोक’ संस्था अन्तर्गतको सातोरी कार्यक्रमले महिलालाई सहभागी गराएको हो। कार्यक्रमले तालीम सञ्चालनसँगै बाजा किन्न पनि मद्दत गरिदियो। “तालीम घोषणा गर्दा आवेदन दिने महिला थिएनन्। यसकै लागि भनेर थप कार्यक्रमहरू गर्यौं। अरू दाफाका मान्छे पनि बोलाउँथ्यौं,” सातोरी कार्यक्रमकी व्यवस्थापक पुष्पा पलान्चोके भन्छिन्।
तालीम शुरू भएपछि महिलाहरू पाहुनालाई स्वागत गर्थे। सगुन र चिया दिन्थे। यही क्रममा दाफा परम्परा, मूल्यमान्यता, फल्चामा गाइएका गीततर्फ उनीहरूको ध्यान खिचिन्थ्यो। “बिस्तारै उहाँहरूलाई खलःमा मान्छे छैनन्, तपाईंहरू आउनुपर्यो भन्यौं। शुरूमा अप्ठेरो माने पनि पछि ३०-३५ जनाले नाम लेखाउनुभयो,” पुष्पा भन्छिन्।
पछिल्ला दिन त केही खलःले महिलालाई नै लक्ष्य गरी तालीम चलाइरहेका छन्। कारण हो- महिलाहरू तुलनात्मक रूपमा समुदायमै रहिरहने सुनिश्चय। “केटाकेटीलाई सिकाउँदा उनीहरू यहीं बस्छन् भन्ने छैन। त्यसैले नयाँ प्रशिक्षणमा भाउजू र बुहारीहरूलाई प्राथमिकता दिन्छौं, किनकि उनीहरू अरूको तुलनामा समुदायमै रहने सम्भावना ज्यादा हुन्छ,” बालकुमारी दाफा खलःकी सदस्य देवलक्ष्मी महर्जन भन्छिन्।
महिलालाई प्रशिक्षण लिन सहज भने छैन। घरधन्दा भ्याएपछि राति ११-१२ बजेसम्म सिक्नुपर्ने बाध्यता छ। “बिहान ४-५ बजे उठेर खाना बनाई बच्चाहरूलाई स्कूल पठाउँछु। त्यसपछि दिनभरि नेवाः लहनामा काम गर्छु। बेलुकी काम सकिएपछि सिक्न जाने हो, सुत्दा त १ बज्छ,” कीर्तिपुरकी यमुना भन्छिन्।
ढुक्कले समय दिन नसक्नुको असर सिकाइमा पनि परेको छ। “पहिले खिं बाजा सिक्छु भनेकी थिएँ, तर यसमा धेरै समय दिनुपर्ने रहेछ। त्यसैले बाजा छाडेर गायनतिर लागें,” देवलक्ष्मी भन्छिन्।
मनमैजुका महिलालाई भजन सिकाउँदै आएका न्हुच्छेबहादुरले यस्ता समस्या पटक पटक देख्दै आएका छन्। उनी भन्छन्, “दिनभरि खेतमा काम गरेर राति गीत सिक्न आउँदा कति त्यहीं घुर्न थाल्थे।”
यस्तोमा महिलालाई दाफामा खुलेर लाग्न मिल्ने गरी पुरुषहरूले घरायसी काममा सघाइदिनुपर्ने खिचापोखरीका दाफा गुरु शेषनारायण डंगोललाई लाग्छ। “विगतमा महिलाले घरको र पुरुषले बाहिरको काम गर्ने परिपाटी थियो। अब महिलाले गीत गाउन बाहिर जानुपरेपछि पुरुषले भात पकाइदिनुपर्छ,” शेषनारायण भन्छन्।
सार्वजनिक रूपमा गाउँदै जाँदा महिलामा आत्मविश्वास पनि बढेको छ। “कतै जाँदा मादल बजाउने पुरुष नआए अड्किनु नपरोस् भनेर बजाउन पनि आफैं सिकिरहेका छौं,” गोंगबुकी मचानानी महर्जन भन्छिन्, “महिलाले नसक्ने हो र? बजाएर देखाइदिऊँ भन्ने लागेको छ।”
दाफा संगीतमा पुर्खाहरूको इतिहास, मौलिक कला र अद्वितीय ज्ञान रहेकाले त्यसलाई जोगाउनुपर्ने न्हुच्छेबहादुर बताउँछन्। “गुरुहरू मरेपछि एक ढकी खरानीसँगै उनीहरूको विद्या पनि जान्छ। त्यही कुरा महिलालाई सिकाउँदा ज्ञान जोगिन्छ, आमालाई सिकायो भने उनीहरूले सन्तानलाई पनि सिकाउँछन्,” उनी भन्छन्।
गीतमा नारी दृष्टिकोण
दाफाका प्रायः गीत/भजन पुरुषकेन्द्रित मानसिकताका छन्। एक पटक सातोरी कार्यक्रमले महिला दृष्टिकोण समेट्ने ध्येयले गीतिलेखन कार्यशाला गर्यो। त्यहाँ एक गुरुले तःननिले निकाल्ने एउटा देवी नाचको कथा सुनाए। त्यसैमध्येबाट छानेर गीत बनाउने कुरा भयो। “कथामा महिला र पुरुष दुवै नायक थिए। पुरुषलाई खलनायकले भेडा बनाइदिन्छ। उसले महिलालाई मद्दतका लागि गुहार्छ,” पुष्पा भन्छिन्।
‘लालको विरह’ शीर्षक यो गीतलाई नेशान श्रेष्ठले नेपालभाषाबाट नेपालीमा अनुवाद गरेका छन्-
आँखाबाट झरेको आँसु हेरेर हिरा मलाई मलाई चिन
हामीले सँगै बगैंचामा एक धाला खेलेको हिरा हिरा सम्झ न
भेडा बनी बस्न मन छैन, म पनि सँगै आउँछु
भेडा बनी बस्न मन छैन, म पनि सँगै आउँछु हिरा
म भेडा भई बस्नुपरे नि, यता बस्न नपरे हुन्थ्यो
मैले भनेको नबुझे पनि आँखाबाट झरेको आँसु हेरीकन मलाई चिन
मलाई मार्छन् कि पाल्छन् कि बेच्छन् कि मलाई केही थाह छैन
म फेरि मान्छे हुन्छु कि हुन्नँ केही थाह छैन
म भेडा भई बस्नुपरे नि, हिरा सँगै बस्न पाए हुन्थ्यो
एक दिन भन्दै दुई दिन भन्दै रातदिन जान लागे
घाँटीको यो डोरी आफैं चुँडिएर गए नि हुन्थ्यो।
महिलाकै भूमिका प्रमुख देखाउने यो गीत महोत्सवहरूमा गाइए पनि दाफा भजनमा समावेश गरिसकिएको छैन।
युवा पिढी र नयाँ श्रोतामाझ दाफा गीत लोकप्रिय बनाउन यस्ता प्रयोग भइराख्नुपर्ने ठान्छन्, रूपेन्द्र। “दाफाको एउटा पद्धति हुन्छ, पहिला कस्तो रागबाट शुरू गर्ने, त्यसपछि कस्ता चरण गाउने भन्ने। यसरी मिलाएर बनाइँदा नयाँ गीत पनि गाउन सकिन्छ,” उनी भन्छन्।
यही पद्धति प्रयोग गरेर उनीहरूले हारती माताको नयाँ भजन पनि बनाएका छन्। रूपेन्द्रले त विभिन्न अंग्रेजी गीतमा समेत दाफा संगीतको ‘फ्यूजन’ गर्ने गरेका छन्।
यस्तै, ‘फ्यूजन’ इन्दिराले पनि गरेकी छन्, विदेशी साथीहरूसँग मिलेर। “संगीत जति मानिसमा फैलियो, त्यति विकास हुँदै जाने हो,” उनी भन्छिन्।
परम्परागत नेवाः संगीत हाल बाहिरी समुदायमाझ पनि पुगेको छ। कर्पोरेट कम्पनीका कार्यक्रम र विभिन्न समारोहमा तिनको माग हुन थालेको छ। यसबाट दाफा समूहले धेरथोर आम्दानी पनि गर्ने गरेका छन्। त्यसले बाजा मर्मत, नयाँ खरीद आदि काममा सहयोग पुगेको छ।
ज्यापू समाजले काठमाडौं उपत्यकामा मात्र ३०० भन्दा बढी दाफा खलः रहेको अनुमान गरेको छ। ती प्रायः महर्जन र मानन्धर जातिका हुन्। ललितपुरमा मात्र ४० भन्दा बढी दाफा अभिलिखित छन्। यिनमा निश्चित परिवारका सदस्य संलग्न हुन्छन्। टोलमा मर्दापर्दा र अन्य सामाजिक कार्यसम्ममा महत्त्वपूर्ण भूमिका खेल्ने दाफा खलःमा कुनै परिवर्तन गर्नुपर्दा टोलभरिकै सहमति आवश्यक पर्छ।
यस्ता खलःहरूको इतिहास मल्लकालसँग प्रस्टै जोडिएको छ। लिच्छविकालका अभिलेखमा पनि ‘वादित्र गुष्ठी’ जस्ता शब्द भेटिएका छन्, जसलाई ‘बाजा गुठी’ को पुरानो रूप मानिएको छ। दाफा खलः पनि एक प्रकारको बाजा गुठी नै हो, तर त्यो लिच्छविकालकै निरन्तरता रहेको प्रमाण भेटिएका छैनन्। मल्लकालमा चाहिं प्रताप मल्लले तुलादान गरेको दृश्यको एउटा पौभा चित्रमा बजाउने र गाउने मानिसको टोली देखिएको छ। यसलाई दाफाः खलकै चित्रण मानिएको संगीत अध्येता पुष्पाले आफ्नो स्नातकोत्तर शोधपत्रमा लेखेकी छन्।
कतिपय दाफा गीतमा सिद्धिनरसिंह मल्लको नाम आउँछ। ती गीत मल्लले नै लेखेको वा अरूले लेखिदिएको जे पनि हुन सक्छ। तर यसबाट उनको पालामा दाफा प्रचलित रहेको स्पष्ट हुन्छ।
बहुभाषिक शब्द-संगीत
हाल दाफा खलःहरूले सफू भनिने पुस्तकमा पुस्तौंदेखि संगृहीत भजन गाउने गर्दछन्। यी भजनमा नेवाः लगायत मैथिली, मराठी र अरू विभिन्न दक्षिणएशियाली भाषाका शब्द र गायनशैली छन्। विभिन्न कालखण्डमा काठमाडौं उपत्यकामा भित्रिएका समुदायको प्रभाव दाफामा पनि पाइन्छ।
कीर्तिपुर नगरपालिकाका पूर्व मेयर एवं थाम्बाः दाफा खलका सदस्य रमेश महर्जन भन्छन्, “यी गीत नेपालभाषामा शुरू भएका थिए। तर नेपालमण्डलमा सिम्रौनगढबाट हरिसिंहदेवसँगै तिरहुते ब्राह्मणको प्रवेशपछि दाफामा मैथिली र भोजपुरी भाषाका गीत थपेका छन्। हामीले मैथिली भाषाका जयदेव र विद्यापतिका गीत गाउने गरेका छौं। त्यस्तै, मराठी लगायत भाषाका गीत पनि छन्।”
दाफाको संगीत र गायनशैलीमा पनि दक्षिणएशियाको प्रभाव पाइन्छ। दाफाका कतिपय गीत ३×४ तालमा छन्, जुन दक्षिणएशियामा प्रचलित छ। “पश्चिमा संगीतमा ४×४ ताल प्रचलित छ। ३×४ ताल भनेको दुई वटा तालको मिश्रण हो। यो दक्षिणएशियाली संगीतको विशेषता हो,” रूपेन्द्र भन्छन्।
दाफाको गायनशैली शास्त्रीय रागमा आधारित मानिन्छ। दक्षिणएशियाली शास्त्रीय संगीतमा जस्तै दाफामा पनि समय समयका लागि गीत छुट्याइएका छन्। जस्तै- घाम झुल्किनुभन्दा अगाडि बिहान २ बजेदेखि ब्याँचुली राग गाइन्छ। ब्याँचुली दुई घण्टा गाएपछि भगतको पालो आउँछ। हरेक बारका छुट्टाछुट्टै गीत छन्। जस्तै- मंगलबार गणेशको र सोमबार कैलाशको ग्वारा आदि।
अनि महीना, वर्ष, ऋतु अनुसारका र प्रत्येक २४ वर्ष तथा ७५ वर्षमा गाइने गीत पनि हुन्छन्। यद्यपि खलःमा हाल यी सबै गीत प्रचलित छैनन्। प्रायले कुनै विशेष ऋतु वा महीनामा बिहानीको समयमा बारैपिच्छेका गीत गाउने गरेका छन्।
ऋतु-गीत सहित दाफामा शिव, कृष्ण, राम, बुद्ध, नासद्यः र अजिमा आदिका भजन छन्। आमा र मातृत्वप्रति समर्पित र प्रेम-बिछोडका गीत पनि पाइन्छन्। हरेक खलःका छुट्टाछुट्टै सफू छन्। तिनका केही गीत मिल्दाजुल्दा हुन सक्छन्। ठाउँविशेषका छुट्टै गीत पनि छन्।
सँगसँगै यी गीतले तत्कालीन समाजको चित्रण पनि गरेको पाइन्छ। प्रायः गीतको शुरूमा भगवान्को नाम लिइन्छ भने अन्तिममा राजाको गुणगान गरिन्छ। बीचमा चाहिं सामाजिक प्रसंगहरू हुन्छन्। जस्तै- ‘स्वला डुमा मैचा’ भन्ने एउटा गीतमा तीन महीनाको बच्चालाई छोडेर पति भोट जाँदा पत्नीले ‘यो पीडा सहनै सकिनँ’ भन्दै गाउँछिन्।
खोकनामा गाइने रुद्रायणीको भजनमा पनि भोट जाने, व्यापार गर्ने जस्ता कुरा छन्। शीतला माजू भनिने देवीभजनमा रणबहादुर शाहको शासनकालमा काठमाडौंमा बिफर फैलिंदा बिफर लागेकालाई सीमा कटाउने, ससाना बालबालिकालाई समेत खोलामा फाल्दिने जस्ता अत्याचार गरिएको प्रसंग आउँछ। उक्त भजन प्रकाश ए. राजले आफ्नो पुस्तक इतिहासका चर्चित दरबारिया नारीमा संकलन गरेका छन्। शशी महाजूले नेपाली भाषामा ढालेको सो भजनको अंश यस्तो छ :
हेर न सितला माता, प्रजाको कस्तो भयो हालत
देश निकाला हुनुपर्यो हाम्रा प्यारा नानी बालक
कान्छो पिठ्यूँमा, माहिलो कम्मरमा अनि जेठोलाई घिसार्दै
छोडेर गइन् जन्मथलो आँखाको आँसु छिनछिनमा पुछ्दै
सूर्यको किरण नपर्ने यो विकट ठाउँमा
चिसोले बालकको प्राण उठ्यो बिफरको नाउँमा
रुने कति कति आमा बाबु पिट्दै छाती
जलाउन पनि नपाउने, गाड्न पनि नपाउने बालकको लास
कस्तो भयो जनताको हालत, गाउँ हैन जंगलमा वास
नेपालमा छत्रपति श्री रणबहादुरको पालामा
रुनुपर्यो जनताले आँसुभरि डालमा।
‘गुरुले अरूलाई सिकाएको सुनेरै धिमे बजाएँँ’
दाफा भजनसँग म बाल्यकालदेखि नै नजीक छु। बुबा पञ्चलाल लाछिमस्यू, बाजे रत्नलाल र दाजुहरू दाफा भजन गाउने र सिकाउने गर्नुहुन्थ्यो। तर त्यति वेला यस्ता गानाबजाना केटाले मात्र गर्थे, केटीलाई सहभागी गराइँदैनथ्यो। केटीले बाजा र देउता छुन हुँदैन भन्थे।
एक पटक भक्तपुर दत्तात्रयस्थित हाम्रै घरमा धिमे बाजाको प्रशिक्षण चल्यो। मेरा बाले नौबाजा बजाउने र दाफा भजन मात्र गाउने भएकाले धिमे सिकाउन बाहिरबाट दुई गुरु आउनुहुन्थ्यो- गणेश बहादुर सिजखुँ र गेर्ट वाग्नर। वाग्नर जर्मन नागरिक हुनुहुन्थ्यो। टोलका केटाहरू आएर बाजा बजाउन सिके। छेवैको कोठामा रहेकी मैले पनि त्यहींबाट ती धुनहरू कण्ठ पारें।
केही महीनापछि आँट गरेर बालाई भनें, “म पनि बाजा बजाउँछु है।”
बालाई पनि मलाई सिकाउन मन रहेछ। त्यसपछि कक्षाकोठामा गएर बजाएँ। त्यही वेला तल गुरु आउनुभएछ र बाजाको धुन सुन्नुभएछ। उहाँ आफैंले सिकाएको कुनै केटा विद्यार्थीले राम्ररी बजाएछ भन्दै खुशी हुनुभएछ। तर मलाई देखेपछि छक्क पर्नुभयो।
अनि भन्नुभयो, “यति राम्रोसँग बजाउने भइसकिछौ, अब तिमी पनि कक्षामा बस। केटी मान्छेले पनि सिक्दा हुन्छ, केही फरक पर्दैन।”
त्यसपछि शुरूमा धिमे नै राम्ररी सिकें। लगत्तै हजुरबासँग नौबाजा सिकें। विशेष चाडपर्व र जात्रामा बजाइने नौबाजामा नौ प्रकारका बाजा छन्- करखिं, नायखिं, नगारा, कोखिं आदि। पछि बासँग दाफा गाउन सिकें। बढी ध्यान चाहिं बजाउनमै दिएँ। यसमा परिवार र गुरुले निकै समर्थन गर्नुभयो। केटा र केटीमा विभेद गर्न हुन्न भन्नेमा जर्मन गुरुको जोड थियो।
बाजा सिकेपछि मन्दिरहरूमा बजाएँ। भक्तपुरमा हरेक वर्ष आयोजना हुने नेपालभाषा साहित्य तमु ज्या कार्यक्रममा पनि बजाएँ। त्यो कार्यक्रममा केटीमान्छेले बाजा बजाएको हेर्न भनेरै मानिसहरू झुम्मिएका थिए। म हाकुपटासी लगाएर पुगेकी थिएँ, तर कपाल केटाले जसरी काटेकी थिएँ।
कतिले केटामान्छे सारी लगाएर आएको शंका गरी भेट्न पनि आए। यसरी बाजा बजाउँदै हिंड्नुलाई समाजमा चाहिं कसैले नराम्रो पनि भने। केटीमान्छेले छुनै नहुने बाजा छोएकाले अनिष्ट हुन्छ भने।
धेरैले जिस्क्याइरहेपछि एक चोटि त बजाउनै छाडिदिऊँ कि भन्ने पनि लाग्यो। तर बाले सम्झाउनुभयो, “परिवर्तन ल्याउन सजिलो हुँदैन, अरूले कुरा काटे पनि आफू लागिरहनुपर्छ।”
त्यसको चार वर्ष जतिपछि बा र टोलका दाइहरूले ‘अब तिमीले अरू केटीहरूलाई पनि सिकाउनुपर्छ’ भन्नुभयो। २०५१ सालमा ११ वर्षको उमेरमा सिक्न थालेकी मैले १५ वर्षको उमेरमा टोलका १२ जनालाई सिकाएँ। त्यसपछि बाजा बजाउने केटीको समूह पनि बढ्दै गयो।
आठ-नौ वर्षअघि दत्तात्रयमै महिला दाफा भजन खलः स्थापना गरें। यसमा पनि बाको ठूलो हात छ। उहाँले टोलकै महिलाहरू भेला पारेर घरैमा सिकाउनुभयो। दत्तात्रय दाफा खलःमा हरेक दिन भजन हुन्छ, महिलाले चाहिं जात्राहरूमा मात्र गाउँछन्। किनकि उनीहरूले सधैं समय दिन भ्याउँदैनन्। तापनि अहिले बाजा बजाउने र दाफा गाउने महिला धेरै भइसकेका छन्।
महिलाले बिहेपछि संगीतलाई समय दिन गाह्रो छ। मैले सिकाएका विद्यार्थीले पनि कतिले बिहेपछि संगीतलाई निरन्तरता दिन सकेनन्। यो कुरा मैले पनि निकै भोगें। लागेको थियो- मैले सिक्ने, गर्ने जति यति नै रहेछ।
बिहेपछि कार्यक्रमहरूमा बोलाइँदा ‘भ्याइनँ, यस्तो काम पर्यो’ भन्दै बहाना बनाउँथें। तर राम्रो कामका लागि राम्रो समय पनि आउँदो रहेछ। अहिले परिवारको साथ-समर्थन बढेको छ।
मैले बजाउने बाजा परम्परागत हो। युवा पुस्तालाई आकर्षित गर्न यसमा नयाँपन दिन आवश्यक छ। म झिगु मतिना भन्ने एउटा अन्तर्राष्ट्रिय महिला ब्यान्डमा पनि छु। म धिमे बजाउँछु, अरू साथी बाँसुरी, पियानो र चेलो बजाउनुहुन्छ। परम्परागत शैली जोगाउँदै नयाँ प्रयोग गर्नु हाम्रो उद्देश्य हो।
संस्कृति जोगाउनुपर्छ मात्र भन्दैमा कसैले परम्परागत बाजा सिक्ने होइन। यसका लागि त्यस्ता संगीत सिकाउने विद्यालय नै खोल्ने, प्रमाणपत्र दिने आदि काम गर्नुपर्छ। व्यावसायिक हिसाबले अघि बढाउनुपर्छ।
यो पनि पढ्नुहोस् :