ह्वासिन सिमेन्टमा थप ६ अर्ब ६३ करोड लगानी स्वीकृत
लगानी बोर्डले ह्वासिन नारायणी सिमेन्ट परियोजनाका लागि रु.६ अर्ब ६३ करोड ४० लाख थप लगानी स्वीकृत गरेको छ।
चिनियाँ ह्वासिन सिमेन्टको लगानी रहेको यस कम्पनीमा थप पूँजी लगानी गर्न ह्वासिनले प्रस्ताव गरेको थियो। प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार बसेको बोर्डको बैठकले लगानी स्वीकृत गरेको हो।
बोर्ड बैठकले वैशाख १६-१७ मा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेश गरिने, मार्केट साउन्डिङ गरिने विभिन्न परियोजनाको सूची पनि स्वीकृत गरेको छ। लगानी सम्मेलनमा १०० भन्दा बढी परियोजना विदेशी लगानीकर्ताका सामु प्रस्तुत गरिनेछ।
बैठकले डाबर नेपाल प्रालिको विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिई परियोजना लगानी सम्झौताको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधीकरणका लागि नौ अर्ब ६८ करोड रुपैयाँ पुनर्लगानीका लागि प्रस्ताव गरेको छ। यस अनुसार उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन प्राप्त भई बोर्डको मूल्यांकनपश्चात् वार्ता प्रक्रिया अगाडि बढाइएको बोर्डले जनाएको छ।
बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी सम्मेलनको तयारीको सम्पूर्ण पक्षको विषयमा जानकारी गराएका थिए।
बैठकमा प्रधानमन्त्री दाहालले सम्मेलन औपचारिकतामा मात्र सीमित हुन नदिन प्रस्तुत गरिने परियोजनाहरू इच्छासूचीका रूपमा मात्र प्रस्तुत गरिन नहुने बताए। उनले लगानी सम्मेलनलाई नतीजामुखी र प्रभावकारी बनाउन स्वदेशी तथा विदेशी निजी क्षेत्रबाट हुने स्वपूँजी तथा ऋण परिचालनलाई सहजीकरण गर्न मन्त्रालयहरूलाई विशेष एकाइ नै बनाएर अगाडि बढ्न निर्देशन दिए।
सार्वजनिक र निजी क्षेत्रको साझेदारीबाट मात्र मुलुकको समृद्धि हासिल हुने भन्दै निजी क्षेत्रलाई सुविधा दिन पुरातन सोच, पुरातन नीतिगत र कानूनी व्यवस्थाबाट सम्भव नरहेकाले नै सरकारले लगानीका अवरोध हटाउन कानून संशोधनको कार्य अगाडि बढाएको उनले बताए। लगानी सम्मेलनको पूर्वसन्ध्यामा सोमबार मन्त्रिपरिषद्ले विभिन्न कानूनलाई अध्यादेश मार्फत संशोधन गर्ने निर्णय गरेको थियो।
बैठकमा सरकारी अधिकारीहरूका अतिरिक्त निजी क्षेत्रका प्रतिनिधिलाई पनि आमन्त्रित गरिएको थियो।