आजाद माविमा नमूना युवा संसद्को अभ्यास
काभ्रेको पाँचखालस्थित आजाद माध्यमिक विद्यालयमा नमूना युवा संसद् अभ्यास सम्पन्न भएको छ।
आजाद मावि र टोनी हागन फाउन्डेशनको आयोजनामा नमूना संसद्को अभ्यास गरिएको हो। विद्यार्थीहरूलाई नेतृत्व विकास, संसदीय परम्परा र लोकतन्त्रमा अभ्यस्त बनाउन कार्यक्रम आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर दनुवारले जानकारी दिए।
फाउन्डेशनका सचिव तथा प्रतिनिधि सभाका पूर्व सांसद फटिक थापाको परामर्शमा सोमबार बसेको नमूना संसद् बैठकले पाँचखाल नगरलाई कृषि शहर घोषणा गरिएको सार्वजनिक महत्त्वको प्रस्ताव बहुमतबाट पारित गरेको थियो। सहभागीहरूले सभामुख, मन्त्री, सांसद, मर्यादापालक, संसद् सचिवालयका कर्मचारी र पत्रकारको भूमिका निर्वाह गरेका थिए।
नमूना संसद्मा विशेक दनुवारले राखेको सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा शर्मिला मानन्धर, अनिस दनुवार, आयुषा दनुवार, नमूना गौतम, करुणा दनुवार, सीता नेपाली लगायतले भाग लिए। सांसदहरूले उठाएका प्रश्नको जवाफ नमूना मन्त्री गणेश श्रेष्ठले दिएका थिए।
सभामुख रसिक उदासले सार्वजनिक महत्त्वको प्रस्ताव ध्वनिमतबाट पारित भएको घोषणा गरेका थिए। त्यसअघि शून्य समयमा अनिस दनुवार, सीता नेपाली, मनिता दनुवार, निशा श्रेष्ठ, नीता दनुवार लगायतले पाँचखालको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका थिए।
संसद् सचिवालयका कर्मचारीको भूमिकामा सीमान्त सुनुवार, रञ्जन श्रेष्ठ र विनिता लुइँटेल थिए भने मर्यादापालकको जिम्मेवारीमा राजकुमार दनुवार, अर्पणा उप्रेती, मनीषा रम्तेल, रोजिना दनुवार र राधिका चौलागाईं थिए। सञ्चारकर्मीको भूमिकामा सुस्मी पन्त र रेस्मा तामाङ थिइन्।
बैठकपछि विद्यालयका शिक्षक खगेन्द्र धमलाको संयोजकत्वमा रसिक उदास, विशेक दनुवार, रेस्मा तामाङ र सुस्मी पन्त सदस्य रहेको नमूना युवा संसद् सञ्चालन कार्यदल गठन भएको छ।
नमूना संसद्मा सहभागीहरूलाई प्रमुख अतिथि पाँचखाल नगरपालिकाकी उपप्रमुख सूर्यमाया दनुवार र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दनुवारले प्रमाणपत्र वितरण गरे। उपप्रमुख दनुवारले विद्यालयमा हुने नमूना संसद्को अभ्यासले विद्यार्थीहरूको नेतृत्व विकासमा सकारात्मक प्रभाव पर्ने बताइन्। उनले युवा पुस्तालाई राजनीतिबाट टाढा नजान पनि सुझाव दिइन्।
कार्यक्रममा पाँचखाल-१२ का वडाध्यक्ष ज्ञानबहादुर दनुवारले जग्गा प्लटिङले कृषि भूमि मासिएका वेला विद्यार्थीहरूले नमूना संसद्मा सामयिक विषय उठान गरेको बताए।
फाउन्डेशनका कोषाध्यक्ष तथा लेखक वसन्त थापाले टोनी हागनलिखित पुस्तकहरू नेपालीको चिनारी, विकेन्द्रीकरण र विकास, नेपालमा मेरो खोजयात्रा, कृषकविनाको कृषि : कृषि तथा वातावरणबारे व्याख्यान र विमर्श लगायत पुस्तक विद्यालयलाई हस्तान्तरण गरे।
थापाले सन् १९५० को दशकमा पहिलो पटक नेपाल आएका स्वीश भूभर्गविद टोनी हागनको जीवनबाट नेपालले धेरै कुरा सिक्नुपर्ने बताए।