भूकम्प भोगेका बारपाकवासी बहुप्रकोपको चेपुवामा
२०७२ को भूकम्पपछि पुरानै सामान्य दिनचर्यामा फर्किएको गोरखाको बारपाकमा प्रकृति र मानवसिर्जित विभिन्न प्रकोपका चुनौती छन्।
२०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको भूकम्पबाट ३१ जिल्लामा आठ हजार ७९० जनाको ज्यान गयो। तीमध्ये ७२ जना तत्कालीन बारपाक गाविसका थिए। त्यस वेलाको बारपाक गाविस अहिले बारपाक सुलिकोट गाउँपालिकाका १ र २ वडा भएका छन्। भूकम्पको कारण बारपाकमा प्रायः सबै निजी घरका साथै विद्यालय र अन्य सरकारी भवनमा क्षति पुगको थियो। भूकम्पले ठाउँ ठाउँमा पहिरो गयो र थप पहिरोको जोखिम बढायो। पानीका मुहान सुके वा कम भए।
भूकम्पपछि आठ वर्ष बितेका छन्। यस अवधिमा भूकम्पले क्षति गरेका घर, भवनहरूको पुनर्निर्माण सम्पन्न भइसकेको छ। पुनर्निर्माण तथा बस्ती र बजार विस्तारले बारपाकको स्वरूप बदलिएको छ। सडकको पहुँच पुगेको छ। बारपाक घुम्न आउने पर्यटकको संख्या बढेको छ।
पुनर्निर्माणमा भूकम्प प्रतिरोधी प्रविधि
आठ वर्षअघिको भूकम्पबाट बारपाक सुलिकोट गाउँपालिकामा क्षति भएका ६ हजार २७१ घरमध्ये ६ हजार २१८ वटा घर भूकम्प प्रतिरोधी बनाइएका छन्। पुनर्निर्माण गर्दा ५ हजार ११० घर गारोले भार थेग्ने प्रविधिमा आधारित भूकम्प प्रतिरोधी प्रविधिबाट बनाइएका छन्। ९४२ घरहरू पिलर र बिमले भार थेग्ने प्रविधिबाट बनेको छ।
राष्ट्रिय जनगणना, २०७८ को तथ्यांक अनुसार पाँच हजार ११० घरमा जस्तापाताको छानो छ भने एक हजार १०८ घरमा सिमेन्टको ढलानवाला छत छ। यस्तै, ४४ घर ढुंगा वा स्लेटको र नौ घर खरको छाना भएका छन्। घरको जग र गारोको बनोट अनुसार ४३.९ प्रतिशत घर ढुंगा/इँटालाई माटोले जोडेको, ४१.६ प्रतिशत सिमेन्टले जोडेको र १२.२ प्रतिशत ढलान पिलर सहितको जग भएका छन्। २.९ प्रतिशत जति घर काठको खाँबो गाडेर बनाइएका छन्।
भूकम्पले भत्केका सबै विद्यालय भवन भूकम्प प्रतिरोधी प्रविधिबाट पुनर्निर्माण भइसकेका छन्। भूकम्प प्रतिरोधी विद्यालय भवन बनेकाले भूकम्प, हुरीबतास, असिना आदिबाट हुन सक्ने भौतिक क्षतिको जोखिम कम भएको छ, तर आठ विद्यालय भवन (३७ कक्षाकोठा) बाढी र १८ विद्यालय (६८ कक्षाकोठा) पहिरोको जोखिममा छन्।
स्मरणीय कुरा, विद्यालय भवन सुरक्षित भए पनि समुदायमा पर्ने विपद्बाट शिक्षा क्षेत्रमा प्रत्यक्ष असर पर्छ। गाउँपालिकाले प्राथमिक तहको पाठ्यक्रममा विपद् व्यवस्थापन सम्बन्धी पाठ समावेश गरेको छ। केही विद्यालयमा अतिरिक्त क्रियाकलापका रूपमा विपद् व्यवस्थापन सम्बन्धी छलफल, प्रतियोगिता र नमूना अभ्यास हुने गरेका छन्। पठनपाठन एवं अतिरिक्त क्रियाकलापको माध्यमबाट बालबालिकामा प्रकोप सम्बन्धी ज्ञान बढाउने गरे समग्रमा विद्यालय क्षेत्रको विपद् उत्थानशीलतामा उल्लेख्य सुधार हुन सक्छ।
गाउँपालिकामा तीव्र गतिमा सडक र अन्य पूर्वाधारको विकास भएको छ। अहिले गाउँपालिकाका सबै ८ वडामा मोटरबाटो पुगेको छ। बारपाक जाने सडक धेरैजसो कालोपत्रे भइसकेको छ र बाँकी खण्ड पनि पक्की बनाउन धमाधम काम भइरहेको छ। अन्य वडामा जाने सडकको नाली बनाउने र ग्राभेल गर्ने काम भइरहेको छ।
राष्ट्रिय जनगणना, २०७८ को तथ्यांक अनुसार बारपाक सुलिकोटका ६ हजार २८३ घरधुरीमध्ये ६ हजार १३१ घरधुरीले राष्ट्रिय प्रसारणको वा स्थानीय लघु जलविद्युत्को बिजुली प्रयोग गर्थे भने १२७ घरधुरीले सौर्य ऊर्जाको बिजुली प्रयोग गर्थे। उज्यालोका लागि मट्टीतेल प्रयोग गर्ने घरधुरी ११ थियो। अहिले जलविद्युत् र सौर्य ऊर्जा गरी लगभग सबै घरधुरीमा बिजुली पुगेको बताइन्छ। खाना पकाउने मुख्य इन्धन दाउरा, पेट्रोलियम ग्यास र विद्युत् हुन्।
सञ्चारका मुख्य साधन मोबाइल फोन, रेडियो, इन्टरनेट र टेलिभिजन हुन्। नेपाल टेलिकम र एनसेलको मोबाइल फोन नेटवर्क चल्छ। समुदाय तथा वडामा छलफल गर्दा प्रायः सबै घरमा कम्तीमा एउटा मोबाइल फोन भएको बताइएको थियो। राष्ट्रिय जनगणना, २०७८ को तथ्यांकमा भने पाँच हजार ६५४ घरधुरीको कम्तीमा एउटा सञ्चार सुविधामा पहुँच भएको र ६२९ घरधुरीको कुनै पनि सञ्चार सुविधामा पहुँच नभएको उल्लेख छ।
खानेपानीको पहुँचमा उल्लेख्य सुधार भएको देखिन्छ। ६ हजार २८३ घरधुरीमध्ये तीन हजार ४५९ घरधुरीको आफ्नै घरपरिसरभित्र पाइपबाट खानेपानी पुगेको छ भने दुई हजार ६२ घरधुरीको घर नजीकै धारा छ। ६६३ घरधुरीले घर नजीकको पानीको मूलधाराबाट खानेपानी प्रयोग गर्छन्। कुवाको पानी पिउने ८५ घरधुरी र नदी/खोलाको पानी पिउने ६ घरधुरी छन्। केही समुदायमा खानेपानी संकलन तथा वितरण गर्ने ट्यांकीको अवलोकन गर्दा नियमित रूपमा खानेपानीको गुणस्तर परीक्षण गर्ने र पानीको गुणस्तर सुधार गर्नुपर्ने देखिन्छ।
वडा नं ३ र ४ को सिमानामा पर्ने हुडीफाँटमा १५ शय्याको अस्पताल बन्दै छ। अरू वडामा सात वटा स्वास्थ्य केन्द्र भवन निर्माणको प्रक्रियामा छन्।
घट्दै जनसंख्या
भूकम्पपछिको पुनर्निर्माणमा बलियो घर बनाए पनि बारपाक सुलिकोट गाउँपालिकामा बस्ने मानिसहरू घट्दै गएका छन्। घरहरू रित्तिइरहेका छन्। बसाइँसराइको क्रम तथा जन्मदरमा आएको कमीले गर्दा गाउँपालिकाको जनसंख्या घट्दो क्रममा छ। २०७८ सालको राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार गाउँपालिकाको कुल जनसंख्या २२ हजार ६३६ छ। २०६८ सालको जनगणनामा यस गाउँपालिकाको सरहद (तत्कालीन गाविसहरू)मा जनसंख्या २५ हजार ३८९ थियो।
समुदाय तथा सरोकारवालासँग छलफल र गाउँबस्ती अवलोकनबाट मानिसहरू उल्लेख्य संख्यामा गाउँबाट बाहिरिएको पाइएको छ। गाउँपालिकाभित्रै पनि गाउँबाट बजारमा बसाइँ सर्ने क्रम छ। विद्यालयमा विद्यार्थी संख्या घट्दो छ। वडाध्यक्षका अनुसार भूकम्पको केन्द्रबिन्दु बारपाकबाट पहिलेदेखि नै विदेश जाने चलन हो। विदेशमा बस्नेहरूले भूकम्पको पुनर्निर्माणका साथै गाउँको सामाजिक तथा विकासका काममा रकम पठाएर सहयोग गरेका छन्।
बहुप्रकोप जोखिम
समुदाय तथा वडास्तरको छलफलबाट यस गाउँपालिकामा १९ वटा मुख्य प्रकोप पहिचान भएका छन्। गाउँपालिकाभरिमा सबैभन्दा बढी दुःख दिने वन्यजन्तु नै हुन्। बाँदर लगायत वन्यजन्तुले सबै गाउँमा दैनिक सताउँछन्। समुदायमा छलफल गर्दा बाँदरले अनाज सखाप पार्ने भएकाले खेतबारी बाँझो राख्नुपरेको, आफ्नो जग्गा बाँझो राखेर किनेर खानुपरेको, ज्यालादारी काम खोज्न वा कमाउन गाउँ बाहिर जानुपरेको, बसाइँसराइ गर्नुपरेको तीतो भोगाइ सुनाएका थिए।
उच्च जोखिम भएको अर्को प्रकोप पहिरो हो। भारी वर्षा, भूकम्पको प्रभाव, जथाभावी खनिएका सडक र अव्यवस्थित भौतिक संरचनाका कारणबाट पहिरो र बाढीको जोखिम बढेको हो। गत वर्ष गाउँपालिकामा पहिरोको जोखिम अध्ययन र नक्शांकन भएको थियो। अध्ययनमा बस्तीका लागि १९ वटा पहिरो उच्च जोखिम भएको पाइएको थियो। सोही अध्ययनका आधारमा गाउँपालिकाले सडकमा ढल तथा नाली बनाउने, पहिरो जोखिम कम गर्ने र जथाभावी सडक ट्र्याक नखोल्ने नीति लिएको छ। पहिरो गएको ठाउँमा रोकथाम र संरक्षणको काम अघि बढाइएको छ।
उच्च जोखिम भएका अन्य प्रकोपमा भूकम्प, खडेरी र अन्नबालीमा लाग्ने रोग हुन्। भूकम्प प्रतिरोधी घरको पुनर्निर्माण गरेका कारण समुदायमा भूकम्पबाट सुरक्षाको भावना बढेको पाइन्छ। मध्यम जोखिम भएका प्रकोपमा असिना, हावाहुरी, खेतीबालीमा लाग्ने रोग/कीरा, पशुपक्षीमा लाग्ने रोग, मानिसमा रोगको महामारी, आगलागी, डढेलो र भारी वर्षा छन्। सुक्खा र गर्मी बढेका कारण वनमा डढेलो बढेको छ। वन पैदावारको सदुपयोग नभए डढेलोको सम्भावना अझै बढ्ने देखिन्छ।
दुर्घटना, चट्याङ र तुषारो सामान्य जोखिम भएका प्रकोप हुन्। सडक दुर्घटना, रूख या भीरबाट लड्ने, पानीमा डुब्ने जस्ता घटना वर्षमा एक-दुई वटा भइरहन्छन्। माथिल्लो भेगमा पर्ने तुषारोबाट हालसम्म खासै क्षति भएको छैन। चट्याङबाट पनि जनधनको क्षति भएको छैन। २० वटा विद्यालयले आफ्नो भवनमा चट्याङको जोखिम रहेको बताएका छन्।
बारपाकवासीलाई मिचाहा झारले पनि पिरोलेको छ। यसबाट कृषि, पशुपालन तथा पर्यावरणीय क्षेत्रमा के-कति क्षति भइरहेको छ भन्ने अध्ययन भएको छैन। वनमारा, नीलोगन्धे, मरिचे आदि झारले खेतीबाली, घाँस र रैथाने बोटबिरुवा मासिरहेको स्थानीयवासीको अनुभव छ। बाँदर र अन्य कारणले बाँझो छोडिएका जमीनमा मिचाहा प्रजातिका झार फैलिएका छन्। समुदायसँगको छलफल र स्थलगत अवलोकनबाट मिचाहा प्रजातिले स्थानीय पारिस्थितिक प्रणाली नै जोखिममा पर्न सक्ने देखिन्छ। यी झारको दीर्घकालीन प्रभाव र बहुआयामिक विपद् जोखिमबारे अध्ययन हुन जरुरी छ।
वर्षैभरि जोखिम
बारपाक सुलिकोट गाउँपालिकामा मौसम अनुसार वर्षैभरि कुनै न कुनै मौसमजन्य प्रकोपको जोखिम देखिन्छ। पछिल्ला वर्षहरूमा बेमौसमी वर्षाको कारण हुने क्षति बढ्दै गएको छ। गत चैत १७ गते असिनापानीले स्याहार्ने वेला भएको गहुँ, जौ र तरकारी खेती पूरै क्षति गर्यो। त्यस दिन एक घण्टामै ५४.२० मिलिमिटर वर्षा र चार घण्टामा ९१.८ मिलिमिटर वर्षा भएको थियो। यसले गर्दा बारपाकमा ठूलो भलबाढी आयो र घर, पसल, विद्यालय तथा सडकमा क्षति भयो। स्थानीयको भनाइमा वर्षा याममा पनि त्यति ठूलो बाढी आएको थिएन। जलवायु परिवर्तनका कारण बाढीपहिरोको जोखिम अझै बढ्ने सम्भावना छ। २०७८ असोज ३१ देखि कात्तिक ३ गतेसम्म भारी वर्षा भएर गाउँपालिकाको तल्लो भेगमा धान र अन्यत्र अरू बर्खे बालीमा क्षति भएको थियो।
गाउँपालिकामा करीब ८८.४ प्रतिशत घरधुरी कृषि पेशामा आबद्ध छन्। तैपनि आफ्नै कृषि उब्जनीबाट वर्षैभरि खान पुग्ने परिवार एक हजार ६७ (जम्मा कृषक परिवारको १९.२१ प्रतिशत) मात्र छन्। समयमा वर्षा नहुने, वर्षा हुँदा आरीघोप्टे पानी परेर भलबाढी आउने, असिनापानीले बाली नष्ट गरिदिने, बाँदरले दिने सास्ती, मिचाहा झार, रोगकीराको प्रकोप, खडेरी आदिले कृषि क्षेत्रमा उत्पादनको आधाभन्दा बढी क्षति भइरहेको छ। किसानले प्रकोपको क्षति थेग्न नसकेर खेती लगाउन छाड्दै छन्। खेती गर्ने जमीन बर्सेनि घट्दै गएको छ।
जलवायु परिवर्तनको दुश्चक्र
बारपाकमा वर्षा मापन केन्द्र छ। यस केन्द्रमा सन् २००७ देखि यताको वर्षाको तथ्यांक उपलब्ध छ। तर यस केन्द्रले गाउँपालिकाको तल्लो भेग (वडा नं. ५, ६, ७ र ८)को वर्षाको बारेमा प्रतिनिधित्व गर्न सक्ने देखिंदैन। सन् २००७ देखि २०२३ सम्मको १७ वर्षको वर्षाको विश्लेषण गर्दा वार्षिक वर्षामा उतारचढाव भएको देखिन्छ (हेर्नुस् चित्र १)। समग्रमा वार्षिक ७.६५ मिलिमिटरको दरले वर्षामा कमी भइरहेको पाइन्छ। सन् २०१८ मा सबैभन्दा बढी वर्षा (५८३५.५ मिलिमिटर) र सन् २०२० मा सबैभन्दा कम वर्षा (१८१२ मिलिमिटर) भएको थियो। हालैका वर्षमा वर्षामा ठूलो उतारचढाव भइरहेको देखिन्छ।
चित्र १. बारपाकमा वार्षिक वर्षाको अवस्था (२००७-२०२३)
हिउँदे वर्षामा (डिसेम्बर-फेब्रुअरी) धेरै उतारचढाव भइरहेको देखिन्छ। हिउँदमा सबैभन्दा बढी वर्षा २०१५ मा (२३६.९ मिमि) भएको थियो। सन् २००९ र गत वर्ष (२०२३)को हिउँदमा कत्ति पनि वर्षा भएन। समग्रमा हिउँदे वर्षा ०.६७ मिलिमिटरका दरले घटिरहेको पाइन्छ।
पूर्व मनसुन अवधि (मार्च-मे)को वर्षामा उल्लेख्य वृद्धि (७.७९ मिमिका दरले) भएको देखिन्छ (चित्र २)। यस अवधिको वर्षामा पनि वार्षिक उतारचढाव अत्यन्त धेरै छ। यो यहाँको हावापानी अनिश्चित र विषम हुँदै गएको संकेत हो।
चित्र २. पूर्व मनसुन (मार्च-मे) को वर्षा, बारपाक (२००७-२०२३)
मनसुन (जून-अगस्ट)को वर्षा प्रतिवर्ष २०.९ मिलिमिटरको दरले घट्दै गएको पाइन्छ। तथ्यांक विश्लेषणका हिसाबले यो त्यति उल्लेख्य होइन। वर्षा याममा सबैभन्दा बढी वर्षा (५२८७.३ मिमि) सन् २०१८ मा भएको थियो भने २०२० मा सबैभन्दा कम वर्षा (१४७७.५ मिमि) भएको थियो। पानीका मुहान सुक्दै जानुमा वर्षाको यस्तो चरित्र पनि एउटा कारण हो।
बारपाकमा तापक्रम नाप्ने मौसम केन्द्र छैन। गोरखा बजारको तापक्रम विश्लेषणबाट यस क्षेत्रमा तापक्रमको अवस्था के-कसो छ भन्ने आकलन गर्न सकिन्छ। गोरखा बजारको सन् १९८१ देखि २०२३ सम्मको तथ्यांक विश्लेषण गर्दा समग्रमा तापक्रम बढ्दै गएको पाइन्छ। जाडो याममा न्यूनतम तापक्रम (राति र बिहानपखको तापक्रम) घटेको देखिन्छ, तर अन्य सबै ऋतुमा दिनरातकै तापक्रम बढ्दै गएको छ। तथ्यांकको दृष्टिले सबै ऋतुको अधिकतम तापक्रम उल्लेख्य बढेको छ।
समुदाय तथा प्रबुद्धहरूसँग छलफल गर्दा सबैले जाडो महीनामा पनि पहिले जस्तो चिसो हुन छाडेको र गर्मी महिनामा गर्मी अचाक्ली बढेको बताएका थिए। पानी पर्दा एक्कासि ठूलो पर्ने र लामो समय खडेरी पर्ने, हिउँदे वर्षा हराउँदै गएको अनुभव बताएका थिए।
जलवायुमा भएको परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको देखिन्छ। भूकम्प, खडेरीका साथै वर्षाको बदलिएको चरित्रका कारण खानेपानीका मूल, कुवा र सिंचाइका स्रोतहरू कम हुँदै गएका छन्। वर्षामा पलाउने पानीका मूल ढिलो गरी पलाउने, पहिले जस्तो पानी नआउने र छिटै सुक्ने गरेका छन्। तसर्थ, भू तथा जलाधार संरक्षण र वनको सदुपयोगलाई उच्च महत्त्व दिनुपर्ने देखिन्छ।
फलफूल तथा अन्नबालीमा रोग/कीराको प्रकोप बढेको र नयाँ नयाँ झारपात देखा परेका छन्। तर यो जलवायु परिवर्तनका कारण हो वा होइन भन्ने यकीन गर्न रोग/कीरा र झारपातको जलवायुसँगको अन्तर्सम्बन्ध अध्ययन र विश्लेषण आवश्यक छ। पशुपक्षीमा लम्पी स्किन जस्ता रोगको प्रकोप पनि जलवायुसँग सम्बन्धित छ कि छैन भनेर अध्ययन जरुरी छ।
विपद्को पूर्व तयारी
बारपाक सुलिकोट गाउँपालिकामा विपद् आइपरेको अवस्थामा खोज तथा उद्धार, प्राथमिक उपचार, उपचार, पशु स्वास्थ्य सेवा तथा अन्य विषय-क्षेत्रमा जनशक्ति अभाव हुने देखिन्छ। वडा तथा समुदायमा विपद् खोज तथा उद्धारमा आवश्यक र उपयोगी औजार एवम् साधनहरूको अभाव छ। गाउँपालिका तथा समुदायमा प्राथमिक उपचार तथा विपद् व्यवस्थापन सम्बन्धी अन्य काम गर्न सक्ने जनशक्ति नगण्य छ। समग्रमा विपद्को पूर्व तयारी र प्रतिकार्यका लागि संस्थागत क्षमता न्यून छ। विपद् भए क्षति तथा आवश्यकताको छिटो मूल्यांकन गर्न, स्वास्थ्य, खाद्य तथा गैरखाद्य लगायत विषय-क्षेत्रमा क्षमता सुधार गर्नुपर्ने देखिन्छ।
स्वास्थ्य क्षेत्रको विद्यमान क्षमता कम छ। गाउँपालिकाबाट नजिकको अस्पताल गोरखा सदरमुकाम करीब ५० किलोमिटर दूरीमा छ। अन्य अस्पताल भरतपुर, चितवन करीब १२० किलोमिटर दूरीमा, पोखरा १४० किलोमिटर दूरीमा र काठमाडौं करीब १९० किलोमिटर दूरीमा छन्। स्वास्थ्य सेवामा न्यून क्षमता भएको अवस्थामा नयाँ नयाँ रोगको महामारी ठूलो चुनौती बन्छ। तथापि यस गाउँपालिकामा महामारीबाट गम्भीर क्षति भएको छैन।
गाउँपालिकाको विपद् व्यवस्थापन ऐन बमोजिम स्थानीय विपद् व्यवस्थापन समिति र हरेक वडामा विपद् व्यवस्थापन समिति छन्। तर समितिहरूको क्रियाशीलता र क्षमता एकदम न्यून छ। पहिरो, भलबाढी तथा अन्य प्रकोपको जोखिममा रहेका समुदायलाई संगठित गरी विपद् जोखिम तथा जलवायु परिवर्तन उत्थानशीलताका लागि क्षमता विकास र परिचालन जरुरी छ।
गाउँपालिकामा विपद् व्यवस्थापन कोष छ। उक्त कोष परिचालन गर्न कार्यविधि स्वीकृत भएको छ। तर उल्लेख्य आर्थिक स्रोत छैन। यो स्थितिमा गाउँपालिकाले विपद् जोखिम बीमा तथा अन्य रणनीति अवलम्बन गर्नुपर्ने देखिन्छ।
(भण्डारी विपद् तथा जलवायु उत्थानशीलता सम्बन्धी अध्येता हुन्। नेपालमा लामो समय जलवायु परिवर्तन अनुकूलन तथा पूर्व सूचना प्रणाली सम्बन्धी परियोजनामा काम गरेका उनी त्यस क्षेत्रको नीति तथा अभ्यास अनुसन्धानमा क्रियाशील छन्।)