वीरगन्जको अलौमा सात घर जले, करीब ५४ लाखको क्षति
वीरगन्ज महानगरपालिका-१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सात वटा घर जलेका छन्।
वडा नं १७ का वडाध्यक्ष राजीवबहादुर क्षेत्रीका अनुसार आगलागीबाट ५३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर लागेको आगो नजिकका सात घरमा सल्किएको थियो।
“सात जनाको फुसको घर सहित लत्ताकपडा र भाँडाकुँडा पनि जलेको छ,” क्षेत्रीले भने, “ठूलो आगलागी भएकाले पनि तत्कालै नियन्त्रण गर्न सकेनौं। फुसको घर मात्रै होइन, गाईगोठ लगायत संरचना पनि नष्ट भएका छन्।”
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुई वटा दमकलको सहायताले दुई घण्टामा आगो निभाइएको बताए।
आगलागीबाट महेन्द्र सहनीको घर, अन्नपात, लत्ताकपडा नष्ट हुँदा १० लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको छ। सहनीका सुनचाँदी, एउटा गाई र चार वटा बाख्रा समेत जलेका छन्।
यस्तै, मैना सहनीको घरका अन्नपात, लत्ताकपडा र चार वटा चौपाया गरी आठ लाख ६८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। वीरेन्द्र सहनीको घर, अन्नपात र अन्य सरसमान सहित चार लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ। यसैगरी, तुहान सहनीको पनि घर, अन्नपात, लत्ताकपडा सुनचाँदी सहितका गरगहना जल्दा ११ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
पर्सा प्रहरीका अनुसार फूलदेव सहनीको घर, अनपात, लत्ताकपडा, सरसामान, सुनचाँदी गरी चार लाख १६ हजार रुपैयाँ बराबरको क्षति भएको छ भने अभय सहनीको सात लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। स्थानीय अदालत साहको ६ लाख २३ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
वडाध्यक्ष क्षेत्रीले वडा कार्यालयसँग पर्याप्त बजेट नभएकाले विपद् व्यवस्थापन समिति मार्फत तत्कालै राहत प्रक्रिया अघि बढाइने बताए।
यही वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका-१, भलमहिया बस्तीका १५ किसानको अन्नबाली सहितको फुसको घर जल्दा १२ करोड ८४ लाख रुपैयाँ बराबरको क्षति भएको थियो। -रासस