शुक्लाफाँटामा बाघको संख्या ४४
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या बढेको छ।
१० वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेर ४४ पुगेका छन्। निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिए भने २०२२ मा ३६ पुगेका थिए।
निकुञ्जमा क्यामेरा ट्र्यापिङ विधिबाट गरिएको गणना अनुसार २४ वटा भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको संख्या ४४ पुगेको हो। गत मंसीरदेखि ९१ वटा क्यामेरा ट्र्यापिङबाट अनुगमन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए।
“यहाँ बाघका लागि खाना र वासस्थानको राम्रो वातावरण भएकाले थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्,” भट्टराईले भने, “यहाँ चोरीशिकारी पनि छैन। त्यसकारण बाघको संख्या बढ्दै गएको छ।”
शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसे मैदान, चौधर नदी, रानी ताल र सिकारी ताल जस्ता तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको संख्या पनि बढेको उनले बताए।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटनको प्रमुख केन्द्र बन्न सक्ने भए पनि पर्याप्त प्रचारप्रसार नहुँदा यसबाट लाभ लिन नसकिएको पर्यटन व्यवसायी जगदीश भट्टले बताए। “शुक्लाफाँटा पाटे बाघका लागि प्रख्यात छ, तर यहाँ बाह्य पर्यटक आएका छैनन्,” उनले भने।
कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा पर्यटकका लागि उपयुक्त गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्न सके यहाँको आर्थिक विकासमा टेवा पुग्ने बताए।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटे बाघ, बाह्रसिंगे र गैंडा लगायत दुर्लभ वन्यजन्तुका लागि प्रसिद्ध छ। -रासस