नेपालको भ्रमणमा आउँदै कतारका अमीर
कतारका अमीर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा काठमाडौं आउँदै छन्।
राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको भ्रमणमा आउन लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतलनिवासमा भेटवार्ता गर्नेछन्। उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ।
त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले कतारी अमीर नेतृत्वको प्रतिनिधिमण्डलसँग बुधबार द्विपक्षीय वार्ता गर्नेछन्। त्यसपछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ।
कतारी अमीरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनुका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ। उनी फिलिपिन्स र बाङ्लादेशको औपचारिक भ्रमण पूरा गरी नेपाल आउन लागेका हुन्।
उनको भ्रमणलाई लिएर सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।