समयमै अस्पताल नलग्दा शिशु जन्मिएपछि आमाको मृत्यु
समयमै अस्पताल नलग्दा हुम्लाको सर्केगाड गाउँपालिका-७, रोडिकोटकी एक सुत्केरीको शिशु जन्मिएको केही समयपछि ज्यान गएको छ।
स्वास्थ्य चौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको गएराति १२ बजे रोडिकोट स्वास्थ्य चौकीमा मृत्यु भएको हो। देवकोटाले बच्चालाई जन्म दिएको डेढ घण्टापछि मृत्यु भएको स्वास्थ्यकर्मीले बताए।
उनलाई शुक्रबारदेखि व्यथा लागेको थियो। आफन्तले ढिला गरी आइतबार बिहान ११ बजे मात्रै स्वास्थ्य चौकी ल्याएकाले समस्या उत्पन्न भएको स्वास्थ्य चौकीका इन्चार्ज टीका बोहराले बताए।
इन्चार्ज बोहराका अनुसार आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी व्यथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्य चौकीमा ल्याएका थिए। रोडिकोट स्वास्थ्य चौकीमा कार्यरत अनमी लगायत सबै स्वास्थ्यकर्मी लागिपरेर राति १०ः३० बजे बच्चा जन्माउन सफल भए पनि आमाको मृत्यु भएको उनले बताए। “बच्चा जन्माउनु अगाडि रगत बग्ने समस्या थियो। बच्चा जन्माएपछि रगत बग्न रोकिए पनि त्यसको केही समयपछि मृत्यु भयो,” उनले भने।
देवकोटाको उद्धारका लागि खबर गर्न रात परिसकेको हुनाले थप समस्या निम्तिएको उनको भनाइ छ। गाउँपालिका स्वास्थ्य शाखालाई खबर गर्न खोज्दा फोन नउठेको उनले सुनाए।
जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहरासँग परामर्श लिएर बच्चा सकुशल जन्माएको उनले बताए। “तर दुर्भाग्यवश आमालाई बचाउन सकिएन,” उनले भने।
यसअघि देवकोटालाई सर्केगाड स्वास्थ्य शाखामा उपचार गराउँदा समस्या रहेको बताइएको थियो। तर घरपरिवारले कुनै चासो नदिएको उनको भनाइ छ।
हुम्लाका दुर्गम भेगका सुत्केरी आमाले समयमै उपचार नपाउँदा ज्यान गुमाउँदै आएका छन्। कतिपयले समयमा उद्धार पाउँदैनन् भने कतिपयले परिवारजनकै बेवास्ताले उपचार पाउँदैनन्।