गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ।
मुख्यमन्त्री नियुक्ति विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासमा सोमबार सुनुवाइ भएको हो। सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ। यसमाथि न्यायाधीशद्वय मल्ल र सुवेदीकै इजलासमा अर्को सुनुवाइ हुनेछ।
केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएपछि गण्डकी प्रदेशमा पनि नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए।
एमाले संसदीय दलका नेता अधिकारीले सभामुख कृष्ण धिताललाई पनि गणना गरेर प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए। प्रदेश प्रमुख भट्टले त्यसलाई मान्यता दिएर गत चैत २५ मा मुख्यमन्त्री नियुक्त गरेका थिए।
त्यस विरुद्ध कांग्रेस संसदीय दलका नेता पाण्डे गत चैत २७ मा सर्वोच्च अदालत पुगेका थिए। त्यसमाथि चैत २८ मा सर्वोच्चले सरकारले नियमित कार्यसञ्चालन बाहेक दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न आदेश दिएको थियो। यससँगै पूर्ण इजलासमा पेश गर्न भनेको थियो।
आज पूर्ण इजलासमा सुनुवाइ भएको हो। दुवै पक्षका कानून व्यवसायीको बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो।