कतारका अमीरको भ्रमणमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
कतारका अमीर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा मंगलबार सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कतारका अमीरले यही वैशाख ११ गतेदेखि गर्ने नेपालको राजकीय भ्रमणको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। कतारका अमीर थानी दुईदिने भ्रमणमा नेपाल आउन लागेका हुन्।
मन्त्रिपरिषद् बैठकले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने निर्णय गरेको छ।
विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनःस्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुन सक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन्।