अर्थसचिवमा मधुकुमार मरासिनी
अर्थसचिवको जिम्मेवारी मधुकुमार मरासिनीले पाएका छन्।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी मरासिनीलाई दिने निर्णय गरेको हो। अहिले अर्थ मन्त्रालयको सचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालेको मुद्दामा अदालतले सफाइ दिएपछि मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरिएको हो।
पेमेन्ट गेटवे अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोजमा उनी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हुँदा पेमेन्ट गेटवे प्रणाली खरीदका लागि २५ करोड रुपैयाँ विनियोजनका लागि भूमिका खेलेको अभियोग मरासिनीमाथि लागेको थियो। मुद्दा दायर भएसँगै उनी पदबाट निलम्बनमा परेका थिए। त्यति वेला मरासिनी उद्योग मन्त्रालयका सचिव थिए। अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो।
मरासिनीले लामो समय अर्थ मन्त्रालयका विभिन्न महाशाखामा बिताएका छन्। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कार्यकालमा पनि उनी अर्थसचिव थिए। उनले मन्त्रालयको बजेट महाशाखा तथा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखका रूपमा काम गरिसकेका छन्।