यो गठबन्धन कति दिन टिक्छ, टुंगो छैन : माधव नेपाल
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन धेरै दिन टिक्नेमा शंका जनाएका छन्।
ललितपुरको बालकुमारीमा सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक केन्द्रीय सभा उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालले गठबन्धन धेरै दिन टिक्नेमा आशंका गरेका हुन्। “परिस्थिति जटिल छ। गठबन्धन कहिले ओल्टो, कहिले कोल्टो भइरहेको छ,” पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, “यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुंगो छैन।”
अहिलेको गठबन्धनमा आफूहरूले सहज महसूस नगरेको पनि नेपालको भनाइ थियो। गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथि रहेको कार्यक्रममा बोल्दै नेपालले कसैको धाकधम्की सहेर नबस्ने बताए।
“सहज अवस्था अनुभूत गरिरहेका छैनौं, हामी कसैको धाकधम्की, गालीगलौज सहनका लागि जन्मेका होइनौं,” नेपालले थपे, “दास बन्ने नियतले राजनीतिमा आएका पनि होइनौं।”
अध्यक्ष नेपालले गठबन्धनमा आफूहरूको अपमान भइरहेको गुनासो गरेका छन्। एकीकृत समाजवादी अपमान सहेर नबस्ने उनको भनाइ थियो।