माइतीमा पिताको निधन, घर-सम्पत्ति जलेर खरानी
सरदार जातिको बसोबास रहेको पडेमारा गाउँमा पछिल्लो दुई दशकमा ६ पटक आगलागी भइसकेको छ।
सप्तरीको कञ्चनरूप नगरपालिका-५, पडेमारा निवासी सुनीतादेवी सरदारलाई वैशाख ९ गते बिहानै पिता बौवालाल सरदारको देहावसान भएको भन्दै माइतीबाट फोन आयो। घरमा चार जना छोरीसँग बसिरहेकी सुनिता खबर पाउनासाथ काखे छोरी च्यापेर सप्तरीकै शम्भुनाथ नगरपालिकामा अवस्थित माइती पुगिन्।
तर माइती पुगेर पिताको शव अगाडि रुँदै भावविह्वल भइरहेकी सुनीतादेवीमाथि एकाएक अर्को बज्रपात पर्यो। उनको कानमा कसैले भन्यो- ‘तपाईंको घर जलिसक्यो।’
एकातिर पिताको निधन, अर्कातिर जलेको घर। सुनीताको हंसले ठाउँ छोड्यो। दाहसंस्कार समेत पूरा नभई उनी जसोतसो आफूलाई सम्हाल्दै २७ किलोमिटर दूरी पार गरेर घर पुगिन्। घर पूरै खरानी भइसकेको थियो, घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा सहित सम्पूर्ण सामान नष्ट भइसकेको थियो। उनी सम्हालिन सकिनन्, अचेत भइन्।
जब होशमा आइन्, त्यति वेला छरछिमेकले सहानुभूति दिइरहेका थिए। छोरीहरू छेउमै थिए, सबैको अनुहार मलिन थियो। सुनीता लगातार आँसु झारिरहेकी थिइन्।
घरसँगै जल्यो ऋण तिर्न साँचेको पैसा
सुनीताका पति वीरबहादुर सरदार ऋणधन गरेर एक वर्षअघि रोजगारीका लागि दुबई पुगेका थिए। स्थानीयका अनुसार चार छोरी जन्मिएपछि गाउँघरमा ज्यामी काम गरेर घर धान्न वीरबहादुरलाई मुश्किल भएको थियो।
दुबईबाट केही दिनअघि मात्रै वीरबहादुरले ऋण तिर्न र घर चलाउन भनेर सुनीतालाई दुई लाख रुपैयाँ पठाइदिएका थिए। त्यो पैसा सुनीताले ऋण तिर्न साँचेर घरमै बाकसभित्र राखेकी थिइन्। तर एक्कासि घर जल्यो, घरसँगै जल्यो दुई लाख पनि।
“पतिले खाडीमा पसिना बगाएर रकम पठाउनुभयो, आगलागीले रकम सहित घरको सबै सामान खरानी भयो। अब कसरी ऋण तिर्ने?” सुनीता रुँदै भन्छिन्, “घर कसरी चलाउने?”
उता, सुनीताकी छिमेकी सन्झादेवी पनि लामो समयसम्म रोइरहिन्। सन्झाको पनि घर सहित सम्पूर्ण सामान आगलागीमा जल्यो। दुइटा बाख्रा र एउटा खसी मरे, जेनतेन किनेको दुई वटा साइकल खरानी भयो।
सन्झा पनि दुई दिनअघि छोराछोरी सहित घरमा ताला लगाएर माइती गएकी थिइन्। आगलागी भएको खबर पाएपछि फर्किएकी थिइन्।
यी दुई मात्र होइनन्, पडेमारामा आगलागीले २३ जनाको घर जलेर खरानी भयो। प्रहरी तालीम केन्द्र सहित राजविराज, कञ्चनरूप र हनुमाननगर कंकालिनी नगरपालिकाबाट गएका चार वटा वारुणयन्त्रले आगो निभाएका थिए।
“एकै पटक चार वटा वारुणयन्त्र नआएको भए अझ ठूलो क्षति हुन सक्थ्यो,” कञ्चनरूप नगरपालिकाका प्रमुख ललन गुप्ता भन्छन्, “भीषण आगलागी भएको थियो। ठूला ठूला रूख समेत आगलागीको चपेटामा परी सुकिसकेका छन्।”
स्थानीयका अनुसार सुधीर सरदारको परालको थुप्रोबाट एक्कासि आगो सल्किएको थियो।
अहिले अग्निपीडितलाई जिल्ला दैवीप्रकोप उद्धार समिति तथा नगरपालिकाले राहत उपलब्ध गराइसकेका छन्। समितिले त्रिपाल र भाँडाकुँडा तथा नगरपालिकाले खाद्यान्न सामग्री प्रदान गरेका छन्।
दुई दशकमा ६ पटक आगलागी
पडेमारा गाउँका बासिन्दा आगलागीका घटनाबाट अत्यन्तै पीडित छन्। दलित समुदाय अन्तर्गत सरदार जातिको बसोबास रहेको यस गाउँमा पछिल्लो दुई दशकमा ६ पटक आगलागी भइसकेको छ।
“घर बनाउँछु, आगो लाग्छ,” पीडित सन्झादेवीले रुँदै भन्छिन्, “यो सहित ६ पटकसम्म आगो लागिसकेको छ।”
अग्निपीडित बथहु सरदार पनि आगलागीको घटनाले ६ पटकसम्म सताएको बताउँछन्। “आगलागी हुन्छ, घर बनाउँछौं, पुनः आगलागी हुन्छ,” उनी सुनाउँछन्। उनका अनुसार कहिले खाना पकाउने वेला त कहिले घुर बालेको वेला आगलागीको घटना भएको छ।
दैनिक मजदूरी गरेर छाक टार्ने यस गाउँका बासिन्दालाई आगलागीले पटक पटक दुःख दिएको नगरप्रमुख गुप्ताको भनाइ छ। आगलागीबाट बच्न नगरपालिकाले जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको र हावाहुरीको समयमा खुला ठाउँमा खाना पकाउने, घुर बाल्ने जस्ता काम नगर्न सबै सचेत हुनुपर्ने गुप्ताको बताउँछन्।