उद्घाटनमा राज्यकोष मासिरहेका राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेल ६ महीनायता ४९ वटा कार्यक्रममा सहभागी भएकामा संविधान र परम्पराले अनिवार्य गरेका कार्यक्रम ६ वटा मात्र छन्। पौडेलले हेलिकोप्टरको भाडामै करोडौं सिध्याइसकेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल वैशाख ३ गते बिहान काठमाडौंबाट हेलिकोप्टरमा गृहजिल्ला तनहुँ ओर्लिए। शुरूमा व्यास नगरपालिकामा भानु शान्ति निकुञ्ज विकास समितिले आयोजना गरेको विश्व सम्पदा दिवस कार्यक्रममा सहभागी भएका उनले त्यहीं खड्गकालिका मन्दिरको उद्घाटन गरे। त्यहाँबाट पौडेल हेलिकोप्टरमै दिउँसो १ बजे म्याग्दे गाउँपालिका पुगे। प्रयोजन थियो, प्रमुख प्रशासकीय भवन उद्घाटन गर्ने। राष्ट्रपतिको निजी सचिवालयमा कार्यरत उपसचिव हिमाल गौतमका अनुसार पौडेल सैनिक हेलिकोप्टरमा तनहुँ पुगेका हुन्।
यस्ता खुद्रे र धार्मिक कार्यक्रममा आलंकारिक राष्ट्रपतिको दौडधूप पछिल्ला दिन आकाशिएको छ। यससँगै राज्यको ढुकुटी फजुल काममा सकिइरहेको छ। पौडेल वैशाख ९ गते आइतबार काठमाडौंको कमलपोखरीमा महावीर स्वामीको २६२३औं जन्मजयन्तीमा आयोजित अर्चना-सभामा सरिक भए। वैशाख १२ गते बुधबार उनले भृकुटीमण्डपमा स्वतन्त्र ऊर्जा उत्पादक संस्था इपानको हिमालय हाइड्रो एक्स्पो उद्घाटन गर्दै छन्।
२०७९ फागुनमा राष्ट्रपतिमा चुनिए लगत्तै पौडेलले आफ्नो यात्राका क्रममा सडक खाली नगराउने, अगाडि-पछाडि सुरक्षाकर्मीको ‘कारकेड’ नराख्ने घोषणा सहित सादगीको ‘नमूना’ बन्ने प्रतिबद्धता जनाएका थिए। तर उनको यस्तो घोषणा क्षणिक ‘लोकरिझ्याइँ’ का लागि मात्र रहेको पछिल्ला भड्किला र खर्चिला गतिविधिले देखाइरहेछन्।
राष्ट्रिय समस्याबारे दलहरूलाई डाकेर छलफल गराउनुपर्ने राष्ट्रपति खुद्रे कार्यक्रममा अल्झिँदा राजकीय ओहोदाको अपमान भइरहेको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका तत्कालीन सल्लाहकार लालबाबु यादव बताउँछन्। “राष्ट्रप्रमुख जस्तो पदको गरिमाले स्कूल, पालिकाको भवन उद्घाटन, मन्दिर दर्शनमा होइन, राष्ट्रिय समस्याबारे चिन्तन-मननमा लाग्नुपर्ने अपेक्षा गरेको हुन्छ,” यादव भन्छन्, “जिम्मेवारी एकातिर, व्यवहार अर्कोतिर गरेर राष्ट्रपतिले पदीय गरिमा अनुसारको काम गर्न सक्नुभएको छैन।”
निर्वाचित भएपछिका ६ महीना पौडेल राष्ट्रपति जानैपर्ने परम्परा रहेका कार्यक्रम बाहेक अन्यत्र विरलै पुगेका देखिन्छन्। गत वर्षको वैशाखदेखि असोजसम्म उनी ११ वटा कार्यक्रममा सहभागी थिए। तिनमा आधाजसो राष्ट्रप्रमुख नै पुग्नुपर्ने मान्यता रहेका सेतो मच्छिन्द्रनाथ, रातो मच्छिन्द्रनाथ, गणतन्त्र दिवस, संविधान दिवस, इन्द्रजात्रा जस्ता कार्यक्रम थिए। अहिले चाहिं उनी एकै महीनामा दर्जनभन्दा बढी कार्यक्रम चहारिरहेका छन्, ती सबै राष्ट्रिय महत्त्वका भन्दा पनि खुद्रे प्रकृतिका छन्।
आँकडा हेर्दा राष्ट्रपति पौडेलको घुमघामको याम २०८० कात्तिकबाट शुरू भएको हो। कात्तिक ५ गते सैनिक हेलिकोप्टरमा काभ्रेको पलान्चोक भगवती पुगेका उनी १० दिनपछि आर्मी अफिसर्स क्लबमा आयोजित नेपाल पर्वतारोहण संघको ५०औं वार्षिकोत्सवको पाहुना बने।
कात्तिकमा पाँच वटा कार्यक्रममा सरिक भएकामा टुँडिखेलको फूलपाती बढाइँ बाहेक सबै अनौपचारिक थिए। सैनिक हेलिकोप्टरमा भूकम्प प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्चिम पुग्दा राज्यको जनशक्ति राहत वितरण र उद्धारमा भन्दा राष्ट्रपति पौडेलको ‘सवारी’ चलाउन व्यस्त हुनुपरेको भन्दै आलोचना भएको थियो।
यस्तो आलोचनाको असर राष्ट्रपति पौडेललाई रत्तिभर परेको देखिंदैन। किनकि त्यसयता पनि उनी विद्यालय, क्याम्पस, पालिकाको भवन उद्घाटन, मन्दिर दर्शन, महायज्ञ, पुराण सप्ताहदेखि निर्माण व्यवसायीको कार्यक्रमसम्मको पाहुना बनिरहेकै छन्। गत कात्तिकदेखि चैतसम्मको ६ महीनामा पौडेल ४९ वटा कार्यक्रममा अतिथि बने। तीमध्ये परम्परा र संविधानले अनिवार्य गरेका कार्यक्रम जम्मा ६ वटा छन्।
राष्ट्रपति कार्यालयका कानूनी सल्लाहकार बाबुराम कुँवर कस्ता कार्यक्रममा जाने र कस्तामा नजाने भन्ने मापदण्ड तोकिएको बताउँछन्। “उहाँ लामो समय राजनीति गरेकाले कार्यक्रमहरूमा आउन ठूलो दबाब पर्छ,” उनी भन्छन्, “त्यसैले गृहजिल्लाका कार्यक्रममा वचन हार्न सक्नुभएको छैन। ती कार्यक्रममा प्रेमपूर्वक पुग्नुभएको हो।”
गृहजिल्लामै पनि सानातिनाभन्दा धार्मिक प्रकृतिका कार्यक्रममा राष्ट्रपति जाने गरेको कुँवरको भनाइ छ। यद्यपि यस्ता धार्मिक कार्यक्रम चाहिं राष्ट्रपति कार्यालयका मापदण्डभित्र पर्छन्/पर्दैनन् भन्नेमा उनी स्पष्ट जवाफ दिंदैनन्। भन्छन्, “त्यो त हेरेरै भन्नुपर्छ।”
यसबीच राष्ट्रपति पौडेल बाग्लुङको कालिका भगवती, पञ्चकोट मन्दिर, बाग्लुङ महोत्सव, काभ्रेमा कृषि महोत्सव, मण्डनदेउपुर नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन, महोत्तरीको आदर्श माविको हीरक जयन्ती, सुनसरीको चतराधाम, सप्तरीको छिन्नमस्ता मन्दिर समेत पुगिसकेका छन्। “राष्ट्रपतिले के गर्न हुने र नहुने भन्ने यसअघि दुई जना राष्ट्रपतिको दुई-दुई कार्यकालमै हामीले अनुभवसिद्ध गरिसक्यौं,” पूर्व राष्ट्रपति रामवरण यादवका राजनीतिक सल्लाहकार समेत रहिसकेका विश्लेषक हरि शर्मा भन्छन्, “राष्ट्रप्रमुखले गर्ने संवैधानिक, राजनीतिक कर्मकाण्ड र अन्य गतिविधिबारे पटक पटक सम्झाउनुपर्ने स्थिति आउनु मजा भएन।”
फजुल खर्च
उपत्यका बाहिरको भ्रमणमा राष्ट्रपति पौडेल प्रायः नेपाली सेनाको हेलिकोप्टरमा जान्छन्। त्यसको खर्च भने राज्यको ढुकुटीबाटै बेहोरिन्छ। यस बाहेक राष्ट्रपतिको सुरक्षा र भ्रमण व्यवस्थापनमा पनि ठूलै जनशक्ति र स्रोतसाधन खर्च हुन्छ। राष्ट्रपतिको हवाईयात्रामा कति खर्च भइरहेको छ भन्ने आँकडा जंगी अड्डा र राष्ट्रपति कार्यालय दुवैले दिन चाहेनन्।
सरकारले अति विशिष्ट व्यक्तिहरूले प्रयोग गर्ने गरी २०७६ सालमा इटलीमा निर्मित अगस्टा हेलिकोप्टर किनेको थियो। प्रायः राष्ट्रपतिको आवागमन यसैमा हुन्छ। सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार अगस्टा, बेल र एमआई–१७ हेलिकोप्टर राष्ट्रपतिले प्रयोग गर्ने गरेका छन्। “यही नै भनेर छुट्याइएको छैन,” उनी भन्छन्, “उपलब्धता अनुसार यी तीन मोडलमध्ये एकको प्रयोग हुन्छ।”
नेपाली सेनाका अनुसार अगस्टाको चार्टर उडानको शुल्क प्रतिघण्टा चार लाख १७ हजार ७३ रुपैयाँ छ। सबैभन्दा महँगो एमआई-१७ छ। यसको प्रतिघण्टाको चार्टर शुल्क आठ लाख १० हजार ९५ रुपैयाँ छ। त्यस्तै, बेलका लागि एक घण्टाको दुई लाख १८ हजार ६६५ रुपैयाँ तिर्नुपर्छ।
सुरक्षा स्रोतका अनुसार उपत्यका बाहिर जाँदा राष्ट्रपति कम्तीमा तीन-चार घण्टा उतै रहन्छन्। कहिलेकाहीं त सिंगो दिन बित्छ। उपत्यका बाहिर जाँदा राष्ट्रपतिले औसत तीन घण्टा बिताएको मान्दा उडान खर्च मात्र दैनिक औसत साढे आठ लाखदेखि २४ लाखसम्म हुन आउँछ। यसबाट राष्ट्रपतिले उद्घाटन, वार्षिकोत्सव, सप्ताह, पुराण जस्ता कार्यक्रममा सहभागिता र मठमन्दिर दर्शनमै राज्यकोषको करोडौं रुपैयाँ उडाइसकेको हिसाब निस्कन्छ।
यस बाहेक राष्ट्रपतिको सवारी हुने भएपछि स्थानीय प्रहरी, जिल्लाका सरकारी अड्डाका प्रमुखसम्म कार्यक्रमस्थल पुग्दा सम्बद्ध कार्यालयको काम समेत प्रभावित भइरहेको हुन्छ। काठमाडौंका कार्यक्रममा त झनै ठूलो संख्यामा सुरक्षाकर्मी खटिन्छन्। एक उच्च सुरक्षा अधिकारीका अनुसार शीतलनिवासबाट दशरथ रंगशालामा हुने औपचारिक कार्यक्रममा राष्ट्रपति पुग्दा कम्तीमा एक हजार सुरक्षाकर्मी खटिनुपर्छ। कार्यक्रमस्थलमा कम्तीमा दुई घण्टाअघि नै सुरक्षा दस्ता पुग्नुपर्छ।
“हाम्रो दिन त राष्ट्रपतिको सुरक्षा प्रबन्ध गर्दैमा बित्न थालेको छ,” उपत्यकाका एक उच्च प्रहरी अधिकृत भन्छन्, “नियमित पुलिसिङ, अपराध अनुसन्धानमा लाग्नुपर्ने प्रहरी जनशक्ति राष्ट्रपतिको अघिपछि लाग्दैमा हैरान छ। जति धेरै सवारी उति धेरै सास्ती हुन्छ।”
संविधान र कानूनले राष्ट्रपतिलाई मन्त्री, संवैधानिक आयोग, निकायका पदाधिकारीलाई शपथ खुवाउने, राजदूतहरूलाई ओहोदाको प्रमाणपत्र दिने, सरकारका सिफारिश सदर गर्ने, संसद् आह्वानका वेला सम्बोधन गर्ने, सार्वजनिक समारोहमा मुलुकको प्रतिनिधित्व गर्ने जस्ता काम निर्धारण गरिदिएका छन्। “अब त राष्ट्रपतिले के गर्ने, के नगर्ने भन्नेबारे एउटा मानक कायम भयो भन्ने मान्नुपर्ने हो,” राजनीतिक विश्लेषक शर्मा भन्छन्, “यो चक्र बनाइरहने, पुनःसिर्जना गरिरहने विषय होइन। स्याउ किन भुइँमा खस्छ भनेर न्यूटनले भनिसकेपछि त्यही कुरा फेरि अरूले किन भनिरहनुपर्यो?”
घोषणा मात्रैको सादगी
राष्ट्रपति निर्वाचित भएको दोस्रो महीना पौडेल बिमारले थलिए। अनि नेपालमा उपचार सम्भव नभएको दाबी सहित भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइसन्स (एम्स)मा भर्ना भए। मेडिकल बोर्डको सिफारिशमा विदेशमा उपचार गर्न सकिने सुविधा राष्ट्रपतिलाई भए पनि उनले यो प्रक्रिया पूरा गरेनन्।
स्वदेश फर्किएपछि २०८० वैशाख १९ मा राष्ट्रपति कार्यालयले पौडेलको उपचारमा लागेको खर्च राज्यकोषबाट नलिने उद्घोष गर्यो। कानूनी प्रक्रिया मिचेर उपचार गर्न विदेश पुगे पनि मुलुकको ढुकुटी नखर्चने यो निर्णयको निकै प्रशंसा भयो। तर दुई महीना नकट्दै पौडेलले राज्यकोषबाट सम्पूर्ण हरहिसाब बुझे। २०८० असारमा पौडेलको उपचार खर्च बापत ५५ लाख दुई हजार २७९ रुपैयाँ निकासा भएको अर्थ मन्त्रालयको वेबसाइटमा उल्लेख छ। त्यसको पाँच महीनापछि मंसीरमा पौडेलले उपचार खर्चकै नाममा थप १० लाख रुपैयाँ खुसुक्क पोल्टामा हाले।
राष्ट्रपतिका रूपमा तामझाम नगर्ने पौडेलको अडान केही दिन मात्र टिक्यो। जस्तो- वसन्तपुरमा इन्द्रजात्रा समारोहमा जाँदा उनले सडक खाली गराएनन्। अगुवापछुवा गाडीको लस्कर पनि लगाएनन्। विगतमा राष्ट्रपतिको आउजाउका वेला सडक ठप्प पारिंदा सर्वसाधारणले सास्ती भोग्दै आएकामा पौडेलको व्यवहारको खूबै तारीफ पनि भयो।
तर उनले सवारीमा देखाएको यस्तो उदारताको सट्टाभर्ना राज्यले आवश्यकै नठानेका कार्यक्रममा सरकारी ढुकुटी मासेर गरिरहे जस्तो देखिएको छ। तीर्थाटनको रफ्तार हेर्दा त उनी पदमै छँदा सबै मन्दिर टेकिसक्ने महाअभियानमा लागेको भान हुन्छ। “सकेसम्म हामीले यो पदको गरिमा कायम राख्ने गरी नै काम गरिरहेका छौं,” राष्ट्रपतिका सल्लाहकार कुँवर भन्छन्, “कतिपय अवस्थामा चाहिं बेवास्ता गर्नै नसक्ने हुँदो रहेछ।”