इलाम-२ मा कसले पाउला आत्मानन्दको साथ?
हरेक पटक चुनाव नजिकिंदै जाँदा इलाममा किरात धर्मगुरु आत्मानन्द लिङ्देन चर्चामा आउँछन्, नेता तथा उम्मेदवार भेटघाट गर्न पुग्छन्, किन?
प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा उपनिर्वाचन नजिकिंदै गर्दा उम्मेदवार र कार्यकर्ता चुनावी चटारोमा छन्। घरदैलो, चुनावी सभा, प्रचारप्रसार गरिरहेका छन्। उम्मेदवार जस्तै व्यस्त र चर्चामा रहेका अर्का व्यक्ति हुन्, किरात धर्मगुरु आत्मानन्द लिङ्देन।
चर्चामा रहनुको कारण हो, उम्मेदवार तथा नेतासँगको भेटघाट। पछिल्लो पटक पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले उनलाई भेटेका छन्। इलामकै बासिन्दा खनाल वैशाख ७ मा माङसेबुङ-५ स्थित आत्मानन्दको आश्रममा पुगेका हुन्।
कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगू र पूर्व मन्त्री खिनु लङवा सहित पुगेका खनालले चुनावमा आफ्नो पार्टीका उम्मेदवारलाई सघाउन आग्रह गरेका हुन्। एकीकृत समाजवादीबाट जीतबहादुर राई उम्मेदवार छन्।
त्यसको दुई दिनअघि नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पनि धर्मगुरु आत्मानन्दसँग भेटघाट गरेका थिए। वैशाख ५ मा धर्मगुरुको आश्रममा पुगेका कोइरालाले पनि आफ्नो पार्टीका उम्मेदवारलाई सघाउन अनुरोध गरे। कांग्रेसबाट डम्बरबहादुर खड्का उम्मेदवार छन्।
त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछाने पनि धर्मगुरु आत्मानन्दलाई भेट्न पुगेका थिए। गत चैत १६ गते आफ्ना उम्मेदवार मिलन लिम्बू सहित पुगेका लामिछानेले पनि चुनावमा सघाउन आग्रह गरेका थिए।
सोही दिन जनमत पार्टीका अध्यक्ष सीके राउत पनि धर्मगुरु आत्मानन्दकहाँ पुगेका थिए। राउतले पनि आफ्ना उम्मेदवार प्रेमदीप थाम्सुहाङलाई सँगै लगेका थिए। लारुम्बा पुगेर धर्मगुरु आत्मानन्दसँग चुनावमा सहयोग गर्न आग्रह गरे।
अझ नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ त उम्मेदवारी दिनुअघि नै लारुम्बा पुगेका थिए। त्यति वेला उनले आफू पनि उम्मेदवार बन्ने भएकाले सघाउन आग्रह गरेका थिए। बुबालाई जस्तै आफूलाई पनि आशीर्वाद दिन सुहाङले धर्मगुरु आत्मानन्दसँग अनुरोध गरेका थिए।
सुहाङ पूर्व सभामुख एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा हुन्। यस क्षेत्रबाट २०७९ सालको निर्वाचनमा विजयी भएका नेम्वाङको हृदयाघातबाट निधन भएपछि उपनिर्वाचन हुँदै छ।
नेम्वाङ पनि चुनावका वेला धर्मगुरु आत्मानन्दको आश्रम पुग्ने गरेका थिए। २०७९ सालको निर्वाचनमा नेम्वाङ एमाले अध्यक्ष केपी शर्मा ओली सहित आत्मानन्दको आश्रममा पुगेका थिए। स्थानीय एमाले नेताहरूका अनुसार उनी हरेक निर्वाचनमा आशिष थाप्न आश्रममा पुग्ने गरेका थिए।
वैशाख १५ नजिकिंदै गर्दा इलाममा चुनावी सरगर्मी पनि बढ्दै गएको छ। सबै राजनीतिक दलका र स्वतन्त्र उम्मेदवार मतदाता भेट्न तथा चुनावी सहयोग माग्न घरदैलोमा व्यस्त छन्।
एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बरहादुर खड्का, रास्वपाका मिलन लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, एकीकृत समाजवादीका जीतबहादुर राई, नेपाल मजदूर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल न्याशनल अर्गनाइजेशनका मणिबहादुर लिम्बू, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार, न्याशनल रिपब्लिक नेपालका धनराज राना गमर र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह उम्मेदवार छन्।
यस्तै, अर्जुनबहादुर शाही, डकेन्द्रसिंह थेगिम, डाकप्रसाद गौतम, दीपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
उनीहरूको दौडधूप मतदाताको घरदैलोमा मात्रै सीमित छैन। स्थानीय नेता र कार्यकर्ता सहित किरात धर्मगुरु आत्मानन्दको आश्रममा पनि पुगिरहेका छन्। यस पटक सबैले उनलाई झन् महत्त्व दिएका छन्। त्यसको कारण गत निर्वाचनको परिणाम पनि हो। एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत पाएर निर्वाचित भएका थिए भने दोस्रो नम्बरमा रहेका कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत पाएका थिए। नेम्वाङ ११४ मतान्तरले विजयी भएका थिए।
धर्मगुरु आत्मानन्दले सहयोग गर्ने उम्मेदवारले नै जित्दै आएका छन्। किनकि उनले भनेकै उम्मेदवारलाई स्थानीय बासिन्दाले मत दिने गरेका छन्। उनको प्रभाव माङसेबुङ गाउँपालिकामा मात्रै सीमित छैन, उनका अनुयायी इलामभर नै छरिएर रहेका छन्।
स्थानीय नेताहरूका अनुसार गाउँका अधिकांश मतदाताले धर्मगुरु आत्मानन्दले भनेको मान्छन्। “कम्तीमा चार हजार ५०० मत धर्मगुरुले भने अनुसार जान्छ,” एक स्थानीय नेता सुनाउँछन्।
अहिलेसम्म धर्मगुरु आत्मानन्दले कसलाई सघाउने भन्ने खुलेको छैन। स्थानीय बासिन्दा भने डकेन्द्रसिंह थेमिगलाई सघाउने आकलन गरिरहेका छन्। कोशी प्रदेशको नाम किरातसँग जोडेर राख्नुपर्ने माग गर्दै थेगिमको नेतृत्वमा आन्दोलन हुँदै आएको थियो।
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई भने धर्मगुरुले यसैलाई मत हाल्न भन्ने नगरेको दाबी गर्छन्। “धर्मगुरुलाई सम्झेर आशीर्वाद थाप्न जिल्लाबाट मात्र होइन, केन्द्रबाट पनि नेता आउँछन्। यसले गुरुलाई झन् शक्तिशाली बनाएको छ,” अध्यक्ष राई भन्छन्, “गुरुका अनुयायी देशभर छरिएका छन्, तर गुरुले कहिल्यै यसलाई मत हाल्नुपर्छ भन्नुहुन्न।”
तर उम्मेदवारी दिएका दलका नेता धर्मगुरुले निर्वाचनको केही दिनअघि आफ्ना अनुयायीलाई आदेश दिने गरेको बताउँछन्। इलामका एक नेता भन्छन्, “धर्मगुरुले राजनीति गरिरहेका छन् कि नेताले राजनीति गर्न लगाइरहेका छन् भन्नेमा छलफल गर्नुपर्छ।”
को हुन् धर्मगुरु आत्मानन्द?
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको अवतारका रूपमा लिइन्छ, धर्मगुरु आत्मानन्द लिङ्देनलाई। उनी फाल्गुनन्दका पनाति पनि हुन्।
किरात धर्मगुरु आत्मानन्दको जन्म २०११ मंसीर १८ गते शुक्रबार इलामको माङसेबुङ-२ अगौटेबारीमा भएको थियो। उनी माता चन्द्रमाया र पिता पुण्यप्रसादका पहिलो सन्तान हुन्।
मुन्धुमविद् डा.चन्द्रकुमार सेर्माका अनुसार उनलाई सानैदेखि गाईको दूध खुवाएर हुर्काइएको थियो। ज्योतिषीले दिएको नाम श्यामबहादुर हो। बाल्यकालमै अर्काको आत्मा देख्ने गरेकाले बजु जोगमायाले आत्मा/आत्मे/आत्मदर्शी भन्ने गरेको र आत्मानन्द नै नाम रहेको डा. सेर्माले लेखमा उल्लेख गरेका छन्। पछि उनले आत्मानन्दको नामबाटै ख्याति कमाए।
आत्मानन्दको आश्रम छेउछाउका बस्तीमा कुखुरा, हाँस, परेवा लगायत जीवजन्तु काटमार गर्न मात्रै होइन, पाल्न पनि पाइँदैन। आफू फलफूल मात्रै खाने भएकाले उनले अनुयायीलाई पनि हिंसा नगर्न उपदेश दिंदै आएका छन्।
इलामको माङसेबुङ-३ फुलुङ्गीमा गुफासाधन गरेका थिए। २०२७ सालदेखि बालागुरुको संज्ञाले उनलाई सम्बोधन गरिंदै आएको थियो। पछिल्लो समयमा भने राजनीतिक गतिविधिमा पनि संलग्न हुन थालेपछि देश र विदेशमा पनि परिचित बनेका छन्।
यो पनि पढ्नुहोस् : ‘नेता त ठूला पायौं, तर विकास पाएनौं’